२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

मोरङसुनसरी सेवा समाज साउदीद्वारा नेपाली दूतावासमा परिचयात्मक भेटघाट तथा धन्यवाद ज्ञापन

Nada
अन्जान गुभाजु
२०८३ वैशाख २६ गते १२:१३
Shares
मोरङसुनसरी सेवा समाज साउदीद्वारा नेपाली दूतावासमा परिचयात्मक भेटघाट तथा धन्यवाद ज्ञापन

रियाद : मोरङसुनसरी सेवा समाज साउदी अरेबियाले नेपाली राजदूतावास रियादमा एक विशेष परिचयात्मक भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको हालै सम्पन्न चौथो साधारणसभाबाट २०२६–२०२८ कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिले शुक्रबार दूतावास पुगेर औपचारिक भेटघाट गर्नुका साथै संस्थाका भावी कार्ययोजनाबारे जानकारी गराएको हो ।

ncell

नवनिर्वाचित अध्यक्ष नगेश तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डललाई दूतावासका तर्फबाट महामहिम कार्यवाहक राजदूत सृजना अधिकारी, श्रम काउन्सिलर कबिराज उप्रेती, द्वितीय सचिव अमर नेपाली र तृतीय सचिव कमल कुँवरले स्वागत गर्नुभएको थियो। कार्यक्रममा संस्थाको तर्फबाट उपाध्यक्षद्वय कल्पना बस्नेत पोखरेल र खेमराज कार्की, सचिव देवेन्द्र विश्वकर्मा, सहसचिव विष्णु पौडेल, कोषाध्यक्ष मिन प्रसाद अधिकारी, महिला संयोजक शर्मिला मगर लिम्बु लगायत सल्लाहकार र संस्थापक सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

भेटका क्रममा अध्यक्ष तामाङले गत १ मे २०२६ मा सम्पन्न संस्थाको चौथो साधारणसभामा प्रमुख अतिथिका रूपमा उपस्थित भई गरिमा बढाइदिएकोमा श्रम काउन्सिलर कबिराज उप्रेती तथा दूतावास परिवारप्रति आभार व्यक्त गरे । सो अवसरमा कार्यसमिति, सल्लाहकार समिति तथा अध्यक्ष परिषद्को आधिकारिक नामावली र साधारणसभाको आर्थिक एवं प्रगति प्रतिवेदन कार्यवाहक राजदूत समक्ष हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय सल्लाहकार कुमार कार्कीले मोरङसुनसरी सेवा समाजले विगतमा गरेका सामाजिक, उद्यमशील र स्वास्थ्यसम्बन्धी कार्यहरूको चर्चा गरे । उनले आगामी दिनमा नेपाल र प्रवासका शाखाहरू मार्फत सञ्चालन गरिने नयाँ योजनाहरूका बारेमा समेत प्रकाश पारे ।

दूतावासका तर्फबाट कार्यवाहक राजदूत सृजना अधिकारी र श्रम काउन्सिलर कबिराज उप्रेतीले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनीहरूले प्रवासी नेपालीका समस्या समाधान र सामाजिक हितका कार्यमा दूतावासको सदैव सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाए ।

अध्यक्ष तामाङले आगामी कार्यकालमा पनि दूतावाससँग समन्वय गर्दै श्रमिक हितका कार्यलाई प्राथमिकता दिने बताए । संस्थाले आफ्नो विधानअनुसार प्रत्येक वर्ष समस्यामा परेका नेपाली श्रमिकहरूलाई दुईवटा हवाई टिकट सहयोग गर्ने र अन्य परोपकारी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । सचिव देवेन्द्र विश्वकर्माले सञ्चालन गरेको उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर