मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले भेटवार्ता गरेका छन् । लोसपाका नेताहरुसँग प्रधानमन्त्री देउवाले बितेको एक वर्षदेखि भेटवार्ता हुँदै आएको छ । विशेषगरी लोसपाका अध्यक्ष महन्थ ठाकुरको पृष्ठभूमि नेपाली कांग्रेस हुनुको लाभ प्रधानमन्त्री देउवाले पाएको देखिन्छ ।
ठाकुरले जीवनको उर्वर समय कांग्रेस निर्माणमा खर्चिएका थिए । तर २०६४ सालको मधेश आन्दोलनसँगै अलग भएका ठाकुरले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका थिए । ओलीलाई साथ दिएर प्रतिनिधिसभा विघटनको पक्षमा उभिएका ठाकुर सहित लोसपाका नेताहरुले लगत्तै कित्ता परिवर्तन गरे । ओली पदमुक्त भएर देउवा प्रधानमन्त्री हुँदा लोसपाका नेताहरुले कित्ता परिवर्तन गदै सत्तारुढ बने ।
गएको वर्ष ३ साउनमा लोसपाका सांसदहरुले देउवाले विश्वासको मत दिएका थिए । लोसपाले साथ दिएकै कारण देउवाले प्रधानमन्त्रीमा १६५ सांसदको समर्थन पाएका थिए । त्यसपछि लगतार लोसपाका नेताहरु प्रधानमन्त्री देउवासँग भेटवार्ता गरिरहेका छन् । तर सरकारमा सहभागी हुने र चुनावमा गठबन्धन गर्ने अवसर भने पाएका छैनन् ।
मधेश केन्द्रीत अर्का दल जनता समाजवादी पार्टी (जसपा) सरकारमा भएकाले प्रधानमन्त्री देउवासँगको भेटवार्ताले ठोस् रुप लिन सकेको छैन । गएको स्थानीय चुनावमै लोसपाले सत्ता गठबन्धनसँग तालमेल गर्न चाहन्थ्यो । तर जसपा गठबन्धनमा भएकाले त्यो प्रत्यास सफल हुन सकेन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग केही स्थानीय तहमा गठबन्धन गरेपनि ०७४ जति पनि जित्न सकेन ।
फेरि सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ । सिट बाँडफाँट गर्न कार्यदल नै बनाइसकेको छ । यस्तो बेलामा लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका छन् । लोसपासँग सहकार्य गर्दा जसपा गुमाउनुपर्ने परिस्थितिसँग प्रधानमन्त्री देउवा सचेत देखिन्छन् । त्यसैले पनि निर्णयमा प्रधानमन्त्री देउवा पुग्न सकेका छैनन् ।
तर लोसपा बाहेकका दलहरुको मात्रै गठबन्धन गर्दा मधेश प्रदेशको नतिजा अर्कै हुन सक्छ । क्षति भने लोसपालाई पुग्न सक्छ । किनकि मधेश प्रदेशमा जसपा, कांग्रेस र माओवादी केन्द्रको प्रभाव राम्रो छ । अझ एकीकृत समाजवादीको पनि राम्रै उपस्थिति छ । तर तुलनात्मक कमजोर एमालेसँग गठबन्धन गरेर जाँदा ठूलो फाइदा लोसपालाई नपुग्न सक्छ । यो तथ्य बुझेर पनि लोसपासँग विकल्प भने साँघुरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies