२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

पूर्व-पश्चिम राजमार्गमा बस पल्टिँदा १६ जना घाइते

Nada
विनोद निगम
२०८३ वैशाख २६ गते २१:३५
Shares
पूर्व-पश्चिम राजमार्गमा बस पल्टिँदा १६ जना घाइते

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित एस मोडमा शनिबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ७ ख ५२६० नम्बरको बस अनियन्त्रित भई सडकको किनारामा पल्टिँदा दुर्घटना भएको हो ।

ncell

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार शनिबार साँझ करिब ६ः२५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत एस मोड क्षेत्रमा बस अचानक अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले तत्काल घाइतेहरूको उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल, बर्दघाट पठाएको जनाएको छ । बसमा चालकसहित जम्मा ३१ जना यात्रु सवार रहेको र दुर्घटनापछि राजमार्गमा सवारी आवागमन अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा कास्की पोखरा महानगरपालिका–१५ निवासी ४५ वर्षीय युवराज पौडेल रहेका छन् । उनको नाक र निधारमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै बर्दघाट नगरपालिका–१३ धनेवाका ७८ वर्षीय शोभाखर चापागाईंको छातीमा भित्री चोट लागेको छ । कैलाली गौरीगंगा नगरपालिका–९ निवासी ६८ वर्षीया पुनी कडायतको पनि छातीमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ ।

त्यसैगरी कैलालीकै ६८ वर्षीय बुद्धी सिंह कडायतको बाँया हात र गालामा चोट लागेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ निवासी २१ वर्षीय तवारक मियाको हात तथा कानमा चोट लागेको प्रहरीले जनाएको छ । भारतको लाविचपुर निवासी ३५ वर्षीय मोहम्मद दिलसादको कानमा चोट लागेको छ ।

दुर्घटनामा बर्दियाको बासगढी नगरपालिका–६ निवासी ११ वर्षीय अनुस अधिकारीको दाहिने आँखामुनि चोट लागेको छ भने ३२ वर्षीया रितु अधिकारीको बाँया हात र निधारमा चोट लागेको छ । सोही स्थानका ४५ वर्षीय दिलबहादुर पुरीको दाहिने आँखामुनि चोट लागेको छ भने उनकी श्रीमती ४१ वर्षीया साबित्रा पुरीको कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै बर्दियाकै ५० वर्षीया लक्ष्मी थापाको छातीमा चोट लागेको छ । कञ्चनपुर बेलौरी नगरपालिका–४ निवासी २० वर्षीया पूजा रानाको ढाडमा चोट लागेको छ भने उनका बुवा ४७ वर्षीय अमरसिंह रानाको दाहिने कानमा चोट लागेको छ । कैलाली गोदावरी नगरपालिका–६ निवासी ३२ वर्षीय नारायण बिष्टको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तनहुँ भिमाद नगरपालिका–१ निवासी २१ वर्षीय इरफान अलीको दाहिने हात र बाँया काँधमा चोट लागेको छ । साथै इजरायलकी २१ वर्षीया विदेशी नागरिक लिहि रुबेन् को नाकमा सामान्य चोट लागेको बताइएको छ ।

प्रहरीका अनुसार अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था मध्यम रहेको छ । घाइतेहरूको चिसापानी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस घटनास्थलमै रहेको छ भने चालक कञ्चनपुर बेदकोट नगरपालिका–७ निवासी ३८ वर्षीय दीपक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

सम्बन्धित खबर