२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

मल आपूर्ति र बाढी नियन्त्रणका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

Nada
विनोद निगम
२०८३ जेठ २१ गते २०:३०
Shares
मल आपूर्ति र बाढी नियन्त्रणका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

नवलपरासी : लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवालले किसानका समस्या समाधान तथा बाढी नियन्त्रणका लागि आवश्यक पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

ncell

उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ध्यानाकर्षण पत्र बुझाउँदै पश्चिम नवलपरासीका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउन तथा धनेवा खोलामा तटबन्ध निर्माणका लागि बजेट व्यवस्था गर्न आग्रह गरेका हुन् । 

प्रदेशसभा सदस्य जैसवालले हाल देशभर देखिएको रासायनिक मलको अभावका कारण किसानहरू गम्भीर समस्यामा परेको उल्लेख गर्दै खेतीपातीको महत्वपूर्ण समयमा मल नपाउँदा कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने बताए । 

उनले पश्चिम नवलपरासीस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मौज्दात रहेको करिब ७०० मेट्रिक टन रासायनिक मल तत्काल वितरणको व्यवस्था मिलाउन माग गरे । 

ध्यानाकर्षण पत्रमा उनले कृषकहरूलाई आवश्यक मल सहज र समयमै उपलब्ध गराउन प्रदेश सरकारले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नुपर्ने आवश्यकता औंल्याए । 

साथै संघीय सरकारसँग समन्वय गरी मल आपूर्तिको समस्या दीर्घकालीन रूपमा समाधान गर्न प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिए । खेतीको मुख्य सिजनमै मल अभाव हुँदा किसानहरू मारमा परेको र यसले कृषि उत्पादन घट्ने जोखिम बढाएको उनको भनाइ छ ।

यसैगरी, प्रदेशसभा सदस्य जैसवालले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. १ शंकरपुर तथा सरावल गाउँपालिकाको धनेवा खोला क्षेत्रमा प्रत्येक वर्ष बाढीका कारण हुने क्षतिको विषय पनि मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनका अनुसार वर्षायाममा धनेवा खोलामा आउने बाढीले आसपासका बस्ती तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पु¥याउँदै आएको छ ।

बाढीका कारण किसानहरूको बालीनाली डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा स्थानीय बासिन्दाको जनजीवन प्रभावित हुने समस्या वर्षेनी दोहोरिँदै आएको उनले उल्लेख गरेका छन् । यस्ता समस्याबाट स्थानीय नागरिकलाई राहत दिन तथा दीर्घकालीन समाधानका लागि धनेवा खोलामा आवश्यक स्थानमा बाँध तथा तटबन्ध निर्माण गर्न प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने उनको माग छ ।

जैसवालले कृषि क्षेत्रको संरक्षण, किसानको उत्पादन सुरक्षित गर्ने तथा बाढीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले विशेष प्राथमिकताका साथ आवश्यक कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् । उनले किसान र स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएका यी समस्याको समाधानका लागि प्रदेश सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । 

कृषकलाई समयमै मल उपलब्ध गराउने र बाढी नियन्त्रणका लागि प्रभावकारी पूर्वाधार निर्माण गर्ने विषय अहिले पश्चिम नवलपरासीका प्रमुख जनसरोकारका मुद्दाका रूपमा रहेको भन्दै स्थानीयवासीले समेत सम्बन्धित निकायबाट शीघ्र पहलको अपेक्षा गरेका छन् । 

सम्बन्धित खबर