२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

बंगलादेशको घटनाबाट सिक्नुपर्ने पाठ

ADV
२०८१ साउन २५ गते ०६:२५
बंगलादेशको घटनाबाट सिक्नुपर्ने पाठ

–लेखराज रेग्मी

एक जना लाल बुझक्कडले शान्ति प्रक्रिया सुरु भइरहेको सन्दर्भमा पंक्तिकारसँग भनेका थिए– ईयु र युएन शान्ति प्रक्रियाको निम्ति माओवादीप्रति सकारात्मक छ र अब देशमा गणतन्त्र सुनिश्चित छ र माओवादी नै निर्विकल्प शासन सत्ता हो, सेना अनुकूल छ र दुबै सेनाको एकीकरण पछि भारतको टक्कर दिने तागत नेपालसँग हुनेछ । यस्तो भन्न सिकाएको हो वा उनको ब्रह्मज्ञान फुरेको हो थाहा भएन । पंक्तिकारलाई लाग्ने गर्थ्यो पि.एल.ए. कसरी जनतासँगै सुरक्षित राख्न सकिएला ? क्यान्टोनमेन्टबारे पंक्तिकारको बुझाई सकारात्मक थिएन, ब्रेनवास, हिनताग्रन्थी र अराजकताका स्थितिबाट कसरी जोगाउन सकिएला ? तर, ती मित्रसँग नयाँ जनवादसम्मकै रोडम्याप थियो । 

आज जे छ खुला पाना जस्तै छ । सेना समायोजन सांकेतिक छ । युद्धकालीन घाइते अपाङ्गहरूको न्यायिक सम्बोधन भइरहेको छैन । युद्धको नाममा जनताको दमन र ज्यादती गर्नेहरू, कृष्ण सेन डण्डपाणी सुरेश वाग्लेहरूका हत्याराहरू गैर न्यायिक हत्या अभियोगमा छानबिनमै परेका छैनन् । बरु आजसम्म मुठभेडमा गिरफ्तारहरूको हत्या बेपत्ताको छिनोफानो भइरहेको छैन । अनमिनले बिदाई गरेका जति मात्रै सामूहिक बसाई उत्पादन र जीवन वृत्ति विकास सङ्गठित ढङ्गले राख्न सकिएन । ठूलै भागदौड देखियो, मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, नेत्रविक्रम चन्दहरू न त क्रान्तिलाई जीवित राख्न तत्पर देखिए न आफूले भर्ती, सङ्गठित र परिचालन गरेको शक्तिलाई राजनैतिक उत्साह नै दिन सके । नेतृत्व पंक्तिमै ठूलो भाग दौड देखियो । बाहिर बसेर प्रचण्डलाई सराप्ने स्थिति बन्यो । यो क्रान्ति र परिवर्तनको लागि प्रतिकुलता थियो र हो भन्ने प्रमाणित भइरहेको छ, माओले पार्टीभित्रका गल्ती सच्याउँदै उत्तरी अभियान चलाएका थिए । नेपालको शान्ति प्रक्रियाभन्दा धेरै ठुलो जोखिम, क्षति र भयावह स्थिति थियो । माओ धेरै कान्छो नेता थिए, पार्टी स्थापनाकालमा तर, उत्तरी अभियानसम्म पुग्दा पाको र भरोसिलो नेता बनिसकेका थिए । यो हिसाबले यहाँ नेतृत्वको सङ्कट थिएन । युद्धको निरन्तरता सम्भव थिएन र लडाइँका तरिका नियम र तयारी फेर्नुपर्ने थियो । कुल जोडमा प्रचण्ड पूर्ण बहुमतमा थिएनन् । 

उनीहरूकै आलोचनालाई आधार मान्दा विचार होइन, चतुराइले टिकिरहेका थिए । पार्टीलाई नयाँ ढङ्गले नेतृत्व गर्ने साहस किन गरिएन, त्यो स्थितिमा ? हाम्रा तर्क पद्धतिभन्दा स्वतन्त्र वस्तुगत आधारबारे आज पनि उनै लाल बुझक्कडकै जस्ता कुरामा कति विश्वास गर्न सकिएला ? 

भर्खरै बंगलादेशमा घटेको घटनाले ओलीदेखि साना समूह भनिने सबै नेपाली कम्युनिस्टहरूमा उत्साह देखिन्छ । मोहनविक्रम, मोहन वैद्य र प्रचण्ड समर्थक भन्न रुचाउनेहरू नेपालमा पनि यस्तै हुनेछ र छिटै हुनुपर्छ भनेर सामाजिक सञ्जालमा बोल्न थालेका छन् । उता लामो तयारी माग पत्र वार्ता अदालतका सबै प्रक्रियामा संघर्ष गर्दै व्यवस्थित आन्दोलन उठाइरहेका युवा विद्यार्थीहरूलाई उनको नेतृत्वलाई वार्तामा आउनबाट रोक्ने षड्यन्त्र भइरहेको छ । संसद् र सरकारी कार्यालयहरूमाथिको तोडफोडमा, खासगरी हसिनाको पलायन र सेनाको सक्रियतापछि, अग्रभागमा नियोजित अराजक जत्था अगाडि आएको छ । वार्ता मूलतः खालिदा र सेनाको बिचमा भइरहेको छ । बंगलादेशभित्रै आन्दोलन अपहरणमा परेको र प्रायोजित ढङ्गले हस्तक्षेप बढेको चर्चा हुन थालेको छ । अमेरिकाको दाउ यही अस्थिरता बिचमा सैन्य अड्डा बनाउन बंगलादेशको जमिन हत्याउने प्रयत्नमा लागिरहेको छ । यस विषयमा दबाब झेलिरहेको कुरा हसिनाले यसअघि नै सार्वजनिक गरेकी थिइन् । 

के हामी सेना र शरणार्थी बोकेर हिमाली क्षेत्रमा बाह्य शक्ति राष्ट्र पसोस् भन्ने चाहन्छौँ ? देर सबेर बंगलादेशको जस्तो घटना नेपालमा पनि घटाइन बेर छैन । सचेत रहन आवश्यक छ । सकारात्मक शक्तिहरूको बृहत् एकता मोर्चाबन्दी र सरकार चलाइरहेका पार्टीहरूभित्र समेत आन्दोलनको पक्षमा समर्थन पैदा गर्ने गरी सशक्त मोर्चाबन्दी गर्दै आन्दोलन चलाउन र बाह्य हस्तक्षेप रोक्न सक्दा मात्र यो फलदायी हुनेछ । पाडा घमाएझैँ रमाउने होइन, जिम्मेवार पहलको आवश्यकता बोध गरौँ । 

(लेखक, माओवादी केन्द्रका नेता हुन् ।)

ADVADV

सम्बन्धित खबर

Advertise