
काठमाडौं : दक्ष इन्टरनेशनलको आयोजनामा विगत लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल २०२६’ को नयाँ संस्करण घोषणा गरिएको छ ।
राजधानीस्थित सिटी सेन्टरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे औपचारिक जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष तथा सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेले यस वर्षको संस्करणलाई अघिल्ला वर्षको तुलनामा अझ भव्य, व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् । उनले सौन्दर्य प्रतियोगिता केवल ताज जित्ने प्रतिस्पर्धा मात्र नभई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा जीवनका नयाँ सम्भावनाहरूको ढोका खोल्ने सशक्त मञ्च भएको उल्लेख गरे ।
दक्ष इन्टरनेशनलले विगत एक दशकदेखि महिलाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको र प्रतियोगितामार्फत धेरै युवती तथा महिलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सफल भएको उनको भनाइ थियो । यस वर्ष मिस ब्युटिफुल नेपालको ११औँ तथा मिसेस ब्युटिफुल नेपालको १०औँ संस्करण आयोजना हुन लागेको हो । प्रतियोगिताको अडिसन तथा छनोट प्रक्रिया आगामी असार २० गतेबाट सुरु हुनेछ भने भव्य ग्राण्ड फिनाले श्रावण ३० गते राष्ट्रिय नाचघरमा आयोजना गरिनेछ ।
पत्रकार सम्मेलनमा वरिष्ठ अभिनेता धिरेन शाक्य, वरिष्ठ गायक आनन्द कार्की, अफिसियल कोरियोग्राफर आश्विनी कान्त झा, सामाजिक अभियन्ता रमेश बुढाथोकी, स्वास्थ्य व्यवसायी तथा समाजसेवी प्रह्लाद चौहान, अफिसियल मेकअप पार्टनर चन्दा पुन, फेसन डिजाइनर दिना गुरुङ, फोटोग्राफर बद्री थापा तथा कानुनी सल्लाहकार स्वागत नेपाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गत वर्षका विजेताहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी महिलाहरूले केवल र्याम्पमा हिँड्ने कला मात्र सिक्ने छैनन्, उनीहरूले जीवन उपयोगी विभिन्न सीप र ज्ञानसमेत हासिल गर्नेछन् । छनोट भएका प्रतियोगीहरूलाई करिब एक महिनासम्म अन्तर्राष्ट्रियस्तरका प्रशिक्षक तथा विज्ञहरूबाट विशेष प्रशिक्षण प्रदान गरिनेछ ।
प्रशिक्षण अवधिमा व्यक्तित्व विकास, नेतृत्व क्षमता, सार्वजनिक बोल्ने कला, सञ्चार सीप, आत्मविश्वास निर्माण, फेसन तथा ग्रुमिङ, सामाजिक उत्तरदायित्व लगायतका विषयमा विशेष कक्षा सञ्चालन गरिनेछ ।
आजको प्रतिस्पर्धी युगमा महिलाहरूलाई केवल सुन्दर देखिनु मात्र पर्याप्त नभई सक्षम, आत्मनिर्भर र नेतृत्वदायी बन्न आवश्यक रहेको आयोजकको धारणा छ । यही उद्देश्यलाई केन्द्रमा राखेर प्रतियोगितालाई महिला सशक्तीकरणको अभियानका रूपमा अगाडि बढाइएको जनाइएको छ ।
विशेषगरी विवाहित तथा अविवाहित दुवै महिलाका लागि खुला रहेको यस प्रतियोगिताले उनीहरूलाई आफ्नो पहिचान निर्माण गर्न, सामाजिक तथा व्यावसायिक सञ्जाल विस्तार गर्न तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई स्थापित गर्न मद्दत पु¥याउने विश्वास गरिएको छ ।
विगतका संस्करणहरूमा सहभागी भई धेरै प्रतियोगीहरूले मोडलिङ, अभिनय, उद्यमशीलता, सामाजिक नेतृत्व तथा अन्य पेशागत क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिसकेका छन् । यही सफल यात्रालाई निरन्तरता दिँदै ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल २०२६’ ले पनि नयाँ प्रतिभा, नयाँ सम्भावना र नयाँ सफलताको कथा जन्माउने अपेक्षा गरिएको छ ।
सौन्दर्य, व्यक्तित्व, प्रतिभा र आत्मविश्वासको अनुपम संगमका रूपमा स्थापित हुँदै आएको यो प्रतियोगिता यस वर्ष पनि महिलाहरूको क्षमता उजागर गर्ने उत्कृष्ट मञ्च बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
कार्यक्रमको इभेन्ट म्यानेजरमा गीता उप्रेती, बजार व्यवस्थापकमा मेघ बहादुर विश्वकर्मा (मेघेन्द्र) तथा कोअर्डिनेटरमा कविता थापा रहेका छन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारण विभिन्न टेलिभिजन च्यानलमार्फत गरिने आयोजकले जनाएको छ ।