ओबराज शाही/मध्यान्ह
हुम्ला, १८ माघ । हुम्लाका सातवटै गाउँपालिकामा रहेका पशु शाखा तथा पशु अस्पतालमा औषधिको चरम अभाव भएको छ । हिउँदमा पशु पंक्षीमा विभिन्न रोग लाग्ने भए पनि पशु शाखा तथा पशु अस्पतालमा औषधि लिन जाँदा हुम्लाका किसान खाली हात फर्किन बाध्य छन् ।
हुम्लाका सातवटै गाउँपालिकामा भएका पशु शाखा र जिल्ला पशु अस्पतालको विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी हुम्लाको आयोजनामा माघ १५ गतेदेखि माघ १८ गतेसम्म अनुगमन गर्दा औषधिको चरम अभाव देखिएको विप्लव जिल्ला सचिव कमलसिंह बुढाले बताए । उनका अनुसार जिल्लाका सबै गाउँपालिकामा पशु बस्तुका लागि आवश्यक कुनै औषधि नभएको अनुगमनमा पाइएको छ । गाई र बाख्रालाई चिसोले निमोनिया लागेपछि अौषधि ल्याउन सिमकोट गाउँपालिका पशु शाखामा जाँदा कुनै औषधि नभएर घर फर्किनु परेको सिमकोट गाउँपालिका वडा ७ का किसान पूर्णबहादुर सिंहले बताए ।
‘गाउँघरमा पशुबस्तुमा विभिन्न रोग देखा पर्दा औषधि नपाएर ती पशुबस्तु मर्ने गरेको छ’ उनले भने । सिमाकोट गाउँपालिका पशु शाखाका एक कर्मचारीले औषधिको अभावमा किसानहरु रित्तो हात फर्कनु परेको स्वीकार गरेका छन् । गाउँघरबाट किसानहरु विभिन्न पशुपंक्षीजन्य रोगको अौषधि लिन आउने गरेको तर खाली हात पठाउनु परेको उनले बताए ।
उनका अनुसार जिल्ला पशु अस्पतालमानै औषधि नभएकोले शाखाले किसानलाई औषधि उपलब्ध गराउन नसकेको हो । हुम्लामा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएसम्म जिल्लामा यस्ता समस्या आइरहने सरोकारवालाहरु बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies