
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आज आइतबार राजधानीमा विशेष साधारणसभा तथा निर्वाचन हुँदैछ । संघको वर्तमान कार्यसमितिका बहुमत पदाधिकारीले सल्लाहकारसमक्ष सामूहिक राजीनामा दिएपछि उत्पन्न परिस्थितिमा नयाँ नेतृत्व चयन गर्न विशेष साधारणसभा आह्वान गरिएको हो ।
संघको निर्वाचनमार्फत अध्यक्षसहित १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिनेछ । निर्वाचनमा सहभागी हुन ७७४ जना व्यवसायीले नाम दर्ता गराइसकेका छन् । निर्वाचन समितिका सदस्य–सचिव वरिष्ठ अधिवक्ता देवराज कटुवालका अनुसार अध्यक्षदेखि सदस्यसम्मका १७ पदका लागि तीनवटै समूहबाट पूर्ण प्यानलसहित उम्मेदवारी दर्ता भएको छ । यसअनुसार कुल ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
संघको नेतृत्वका लागि यसपटक नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेपाली कांग्रेसनिकट केही व्यवसायी मिलेर बनेको संयुक्त व्यवसायी समूह तथा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट व्यवसायी समूहबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । तीनै पक्ष संगठनको नेतृत्व आफ्नो पक्षमा पार्न पूर्ण प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
यस समूहबाट प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, द्वितीय उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा कृष्ण ढकाल, महासचिवमा नुर मोहम्मद मियाँ, सचिवमा नवराज लुईंटेल र कोषाध्यक्षमा विनिता कटुवाल उम्मेदवार रहेका छन् ।
समूहबाट सदस्यका उम्मेदवारहरूमा शिव शंकर यादव, दिनेश पौडेल क्षेत्री, नरेन्द्र देव मलेकार, सरोज हुसेन, विरेन्द्र कुमार यादव, रबिन श्रेष्ठ, निर्मल जिसी, दिनेशकुमार खड्का, शालीग्राम पाण्डेय र लेखनाथ भुसाल रहेका छन् ।
स्वतन्त्र समूहका अध्यक्ष उम्मेदवार पाण्डेले अव्यावहारिक सेवाशुल्क नै हाल देखिएको समस्याको प्रमुख कारण भएकाले त्यसको समाधान आफ्नो प्राथमिकता भएको बताए । तत्कालीन राज्यमन्त्रीले बिना अध्ययन लागू गरेको फ्रि भिसा, फ्रि टिकट र सेवाशुल्क १० हजार रुपैयाँ लिन पाउने अव्यावहारिक निर्णय आफूहरूले कहिल्यै स्वीकार नगरेको र त्यसलाई सुधार गरेरै छोड्ने बताए । १० हजार रुपैयाँ लिएर सात समुद्रपारिको मुलुकमा कामदार पठाउन नसकिने भन्दै उनले सरकारसँग समन्वय गरेर काम गर्ने बताए । सेवाशुल्कलगायतका समस्या समाधान गर्ने आफ्नो प्यानलको मुख्य एजेन्डा रहेको पनि उनले बताए ।

यस्तै, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले संघका पूर्वमहासचिव मेघनाथ भुर्तेलको नेतृत्वमा प्यानल घोषणा गरेको छ ।
एसोसिएसनबाट प्रथम उपाध्यक्षमा कर्णराज कटुवाल, द्वितीय उपाध्यक्षमा रबिन मेगाले मगर, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा अमर प्रकाश तिवारी, सचिवमा राजकाजी भोलान (राज लामा) र कोषाध्यक्षमा विद्यालक्ष्मी बज्राचार्य उम्मेदवार रहेका छन् ।
एसोसिएसनबाट सदस्यका उम्मेदवारहरूमा राजेश मैनाली, कैलाश पाठक, देउ बहादुर गौतम (सविन), टंकप्रसाद पंगेनी, गिता राउत, भिममाया कार्की, दिक्षा थपलिया, रोशना निरौला, दीपक कुमार र हिरालाल गौडेल रहेका छन् ।
लोकतान्त्रिक एसोसिएसनबाट अध्यक्षका उम्मेदवार भुर्तेलले विभिन्न कारणले विकेन्द्रित व्यवसायीको आत्मबल बढाउने र संघलाई प्रभावकारी बनाएर काम गर्ने बताए । आफू संघको सदस्यदेखि महासचिव भएर काम गरेका कारण वैदेशिक रोजगार ऐन, कानुन र नीति नियममा परिमार्जन गरी काम गर्ने बताए । संघको कार्यसमिति सफल हुन संघको सचिवालय प्रभावकारी र चुस्त हुनुपर्ने विषयलाई आफू महासचिव हुँदा आत्मसात गरेकाले त्यसमा सुधार गरेर परिणाम ल्याउने गरी काम गर्ने बताए ।

त्यसैगरी, संयुक्त व्यवसायी समूहले संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’लाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
संयुक्त व्यवसायी समूहबाट प्रथम उपाध्यक्षमा महेशकुमार बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी, तृतीय उपाध्यक्षमा तुलसी पुरी, महासचिवमा हिराबहादुर डाँगी, सचिवमा केदारनाथ अधिकारी र कोषाध्यक्षमा धनमाया सिञ्जाली उम्मेदवार रहेका छन् ।
यस्तै सदस्यका उम्मेदवारहरू रमा खड्का, विवश ढुंगाना, धुर्व जिसी, फडिन्द्र कुमार केसी, तारामणि राई, तारा तामाङ, रविन्द्र राई, भावना गजुरेल, बाबुराम न्यौपाने र युवराज देवकोटा रहेका छन् ।

संयुक्त व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार खत्रीले आफ्नो सम्पूर्ण ध्यान वैदेशिक रोजगारलाई थप सुरक्षित व्यवस्थित र मर्यादित बनाई आफ्ना सन्तानहरूले पनि गौरव र आत्मसम्मानका साथ वैदेशिक रोजगार व्यवसाय गर्ने वातावरण बनाउने बताए । सबै प्रकारका अनुचित दबाबको प्रतिवाद गरेर संघको गरिमा उच्च बनाउने, वैदेशिक रोजगारको उपादेयताबारे नागरिकस्तरमा सार्थक संवाद गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।
पछिल्लो समय संघभित्र देखिएको नेतृत्व विवाद, कार्यसमिति विघटनको अवस्था र संगठनात्मक अस्थिरतापछि हुन लागेको निर्वाचनले संघलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ । वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित हजारौं व्यवसायी तथा श्रमिकको हितसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले आगामी नेतृत्व कसको हातमा पुग्छ भन्ने विषयलाई महत्वका साथ हेरिएको छ ।

