२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

Nada
२०८३ जेठ २४ गते १५:४१
Shares
संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं :नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आइतबार राजधानीमा नयाँ  नेतृत्व चयनका  लागि भएको विशेष साधारण सभा उद्घाटन पछि मतदान भएको हाे । 

ncell

त्यसअघि संघका निवर्तमान अध्यक्ष तथा प्रबन्ध समिति संयाेजक राजेन्द्र भण्डारीकाे सभापतित्वमा विशेष साधारण सभाकाे उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा विशेष साधारण सभाकाे सफलताको शुभकामना व्यक्त गर्दै नेपाल उद्योग बाणिज्य महासंघ उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले निर्वाचन पछि एकता बलियो बनाएर नीतिगत सुधारका पक्षमा उभिन व्यवसायीलाई आग्रह गरे । 

पूर्वअध्यक्षका तर्फबाट मन्तव्य राख्दै प्रेमबहादुर कटुवाल व्यवसायी एक ठाउँमा हुनुपर्नेमा जाेड दिँदै विभाजित भएर जाँदा व्यवसाय तहसनहस हुनेमा सचेत गराए । लागत निर्धारण नभएको र भिएसएफ बाट कामदार भएको दुख हैरानी दिएको भन्दै उक्त समस्या समाधानसहित राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा लविङ गर्नसक्ने नेतृत्व  छान्न आग्रह गरे । 

प्रबन्ध समिति सदस्य विनाेदजंग केसीले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन प्रबन्ध समिति सदस्य मधुकर रिजाल गरेका थिए । संघको वर्तमान कार्यसमितिका बहुमत पदाधिकारीले सल्लाहकारसमक्ष सामूहिक राजीनामा दिएपछि उत्पन्न परिस्थितिमा नयाँ नेतृत्व चयन गर्न विशेष साधारणसभा आह्वान गरिएको हो  ।

संघको निर्वाचनमार्फत अध्यक्षसहित १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिनेछ । निर्वाचनमा सहभागी हुन ७७४ जना व्यवसायीले नाम दर्ता गराइसकेका छन् । निर्वाचन समितिका सदस्य–सचिव वरिष्ठ अधिवक्ता देवराज कटुवालका अनुसार अध्यक्षदेखि सदस्यसम्मका १७ पदका लागि तीनवटै समूहबाट पूर्ण प्यानलसहित उम्मेदवारी दर्ता भएको छ । यसअनुसार कुल ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

संघको नेतृत्वका लागि यसपटक नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एशाेसिएसन, नेकपा एमाले निकट प्रगतिशील वैदेशिक राेजगार व्यवसायी मञ्च नेपाल  र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक राेजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेपाली कांग्रेसनिकट केही व्यवसायी मिलेर बनेको संयुक्त व्यवसायी समूह तथा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट व्यवसायी समूहबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । तीनै पक्ष संगठनको नेतृत्व आफ्नो पक्षमा पार्न पूर्ण प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

यस समूहबाट प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, द्वितीय उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा कृष्ण ढकाल, महासचिवमा नुर मोहम्मद मियाँ, सचिवमा नवराज लुईंटेल र कोषाध्यक्षमा विनिता कटुवाल उम्मेदवार रहेका छन् ।

समूहबाट सदस्यका उम्मेदवारहरूमा शिव शंकर यादव, दिनेश पौडेल क्षेत्री, नरेन्द्र देव मलेकार, सरोज हुसेन, विरेन्द्र कुमार यादव, रबिन श्रेष्ठ, निर्मल जिसी, दिनेशकुमार खड्का, शालीग्राम पाण्डेय र लेखनाथ भुसाल रहेका छन् ।

यस्तै, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले संघका पूर्वमहासचिव मेघनाथ भुर्तेलको नेतृत्वमा प्यानल घोषणा गरेको छ । 
एसोसिएसनबाट प्रथम उपाध्यक्षमा कर्णराज कटुवाल, द्वितीय उपाध्यक्षमा रबिन मेगाले मगर, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा अमर प्रकाश तिवारी, सचिवमा राजकाजी भोलान (राज लामा) र कोषाध्यक्षमा विद्यालक्ष्मी बज्राचार्य उम्मेदवार रहेका छन् ।

एसोसिएसनबाट सदस्यका उम्मेदवारहरूमा राजेश मैनाली, कैलाश पाठक, देउ बहादुर गौतम (सविन), टंकप्रसाद पंगेनी, गिता राउत, भिममाया कार्की, दिक्षा थपलिया, रोशना निरौला, दीपक कुमार र हिरालाल गौडेल रहेका छन् ।

त्यसैगरी, नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली कम्युनिष्ट पार्टी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन मिलेर बनेको संयुक्त व्यवसायी समूहले संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’लाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

संयुक्त व्यवसायी समूहबाट प्रथम उपाध्यक्षमा महेशकुमार बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी, तृतीय उपाध्यक्षमा तुलसी पुरी, महासचिवमा हिराबहादुर डाँगी, सचिवमा केदारनाथ अधिकारी र कोषाध्यक्षमा धनमाया सिञ्जाली उम्मेदवार रहेका छन् ।

यस्तै सदस्यका उम्मेदवारहरू रमा खड्का, विवश ढुंगाना, धुर्व जिसी, फडिन्द्र कुमार केसी, तारामणि राई, तारा तामाङ, रविन्द्र राई, भावना गजुरेल, बाबुराम न्यौपाने र युवराज देवकोटा रहेका छन् ।

पछिल्लो समय संघभित्र देखिएको नेतृत्व विवाद, कार्यसमिति विघटनको अवस्था र संगठनात्मक अस्थिरतापछि हुन लागेको निर्वाचनले संघलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ । वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित हजारौं व्यवसायी तथा श्रमिकको हितसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले आगामी नेतृत्व कसको हातमा पुग्छ भन्ने विषयलाई महत्वका साथ हेरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर