
काठमाडौँ : क्यान्सर उपचारमा अत्यावश्यक मानिने औषधि सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन देशका ११ वटा तोकिएका स्वास्थ्य संस्थामार्फत उपलब्ध हुने व्यवस्था गरिएको छ ।
औषधि व्यवस्था विभागले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार यी इन्जेक्सनहरू क्यान्सर बिरामीहरूको उपचारका लागि आवश्यक परेमा सम्बन्धित स्वास्थ्य संस्थाबाट सहज रूपमा उपलब्ध गराइनेछ ।
विभागका अनुसार औषधि लिनका लागि चिकित्सकद्वारा जारी गरिएको सक्कल पुर्जा लिएर सम्बन्धित स्वास्थ्य संस्थाका सम्पर्क व्यक्तिसँग समन्वय गर्नुपर्नेछ। यसका आधारमा बिरामीलाई आवश्यक औषधि उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
साथै, तोकिएका स्वास्थ्य संस्थाहरूलाई औषधिको मौज्दात तथा वितरण प्रक्रिया व्यवस्थित रूपमा अभिलेख राख्न पनि निर्देशन दिइएको विभागले जनाएको छ ।
वरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यको हस्ताक्षर रहेको सूचनामा देशका विभिन्न सहरका अस्पताल, फार्मेसी तथा औषधि कम्पनीहरूलाई समेटिएको छ ।
तीमध्ये नेपालगञ्जस्थित जानकी अस्पताल, बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल, विराटनगरको विराट मेडिकल कलेज, पोखराका बबिना फर्मा र मल्ल फार्मास्युटिकल्स, धरानको पुनम फार्मेसी, भरतपुरको राज ड्रग प्रालि तथा काठमाडौँका डिएमके फार्मास्युटिकल्स, सिजल फर्मा र अनमोल हेल्थ केयर रहेका छन् ।
विभागले तोकिएका संस्थामार्फत औषधि उपलब्ध गराउने व्यवस्थाले क्यान्सर बिरामीलाई उपचारमा सहजता हुने अपेक्षा गरिएको छ ।