२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

आमाबिनाका पाँच वर्ष

Nada
विष्णु आचार्य
२०८३ कार्तिक १९ गते ०६:००
Shares
आमाबिनाका पाँच वर्ष

हाम्रो परिवारका लागि कहिल्यै बिर्सन नसकिने कालो दिन बन्यो, २०७८ साल कात्तिक १६ गते । जन्मिएपछि एक दिन मृत्यु हुनु प्रकृतिको शाश्वत नियम हो । तर, आफ्नै जन्म दिने आमालाई गुमाउनुपर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा आफूले भोगेपछि मात्रै थाहा हुँदो रहेछ ।

मानिसले मृत्यु रोक्न सकिँदैन । शास्त्रमा वर्णन गरिएको सञ्जीवनी बुटी नै पाए पनि मृत्युलाई जित्न सम्भव हुँदैन होला । तर, आफ्ना प्रियजनलाई गुमाउँदाको पीडा र मनमा उठ्ने अनगिन्ती प्रश्नको उत्तर सहजै भेटिँदो रहेनछ ।

त्यो बिहान आमाको दुर्घटनाको खबर सुन्दा हाम्रो संसार एकाएक बदलियो । जसले मलाई जन्म दिनुभयो, यो धर्तीमा पाइला टेकाउनुभयो र जीवनको पहिलो सहारा बन्नुभयो, उहाँलाई नै गुमाउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन । आमाको अन्तिम बिदाइका बेला पार्थिव शरीरको खुट्टामा ढोगेर दागबत्ती दिँदा मनभित्र पीडाको ठुलो आँधी चलेको थियो । 

आँखामा आँसु थियो, मुटु भारी थियो । अब आमा कहिल्यै फर्केर आउनुहुन्न भन्ने यथार्थ स्विकार्न मन तयार थिएन ।

बगेको खोला फर्केर आउँदैन । बितेको समय पनि फर्काउन सकिँदैन । त्यसैगरी अन्त्येष्टिपछि आमालाई भौतिक रूपमा फेरि भेट्न सम्भव थिएन । तर, उहाँसँग जोडिएका सम्झना र उहाँले दिनुभएको माया भने मनबाट कहिल्यै टाढा भएनन् ।

आमालाई सम्झिँदा सबैभन्दा पहिले मेरो मानसपटलमा हाम्रो विकट गाउँको परिवेश आउँछ । त्यो समय, त्यो समाज र त्यतिबेलाको पारिवारिक अवस्था सम्झिन्छु । आठजना छोराछोरी हुर्काउनु सामान्य कुरा थिएन । घरको काम, मेलापात, खेतीपाती र परिवारका सबै सदस्यको हेरचाह गर्दै हामीलाई हुर्काउन आमाले कति दुःख गर्नुभयो होला ! आज फर्केर ती दिन सम्झिँदा आमाको संघर्षको गहिराइ महसुस हुन्छ ।

बुबा भारतीय सेनामा हुनुहुन्थ्यो । त्यसैले उहाँको स्वभाव केही कडा थियो । परिवारका धेरै जिम्मेवारी आमाकै काँधमा थिए । घरभित्रका समस्या हुन् वा छोराछोरीको पालनपोषण, आमाले सबै सम्हाल्नुभयो । आफ्नो दुःख र थकानलाई भन्दा सन्तानको भविष्यलाई प्राथमिकता दिनुभयो ।

आमाको काख, उहाँको माया, हिम्मत र संघर्षका ती दिन आज पनि आँखाअघि झलझली आइरहन्छन् । हामीलाई हुर्काउन र बढाउन उहाँले गर्नुभएको त्यागको कुनै हिसाब छैन । सन्तानको उन्नति र उज्ज्वल भविष्यका लागि आमा–बुबाले गर्ने निःस्वार्थ कामनाको मूल्य सन्तानले कहिल्यै तिर्न सक्दैन रहेछ ।

आमा बितेपछि परिवारको जिम्मेवारीबारे झन् धेरै सोच्न थालेको छु । आमाले जसरी परिवारलाई एकताबद्ध बनाएर राख्नुभयो, त्यसरी नै बुबाको हेरचाह गर्न सकूँ । दिदीबहिनी, भाइ, भान्जाभान्जी, भिनाजु र आफन्तप्रतिको जिम्मेवारी आमाले जस्तै आत्मीयताका साथ पूरा गर्न सकूँ । आमाले जीवनभर गर्नुभएको त्याग र देखाउनुभएको बाटोबाट प्रेरणा लिएर परिवारलाई सम्हाल्न सकूँ भन्ने मेरो चाहना छ ।

आमा, हजुर भौतिक रूपमा हामीसँग हुनुहुन्न । तर, तपाईंले सिकाउनुभएका संस्कार, माया र जीवनका मूल्यहरू हामीसँगै छन् । विशेषगरी चाडबाडका बेला आमाको अभाव खट्किन्छ । आमाको सम्झनाले सताउँछ, सास र चेतना भएसम्म भुल्न नसकिने रहेछ, तर पनि हजुरको सम्झनाले हामीलाई सधैं सही बाटोमा हिँड्न प्रेरित गरिरहनेछन् ।

हिन्दु धर्म र संस्कृतिमा माता–पितालाई जीवित छँदा देवतासरह मानेर सेवा र सम्मान गर्नुपर्छ भन्ने मान्यता छ । मृत्यु भएपछि पनि उहाँहरूलाई पितृदेवका रूपमा सम्झने, श्रद्धा गर्ने र श्राद्ध गर्ने परम्परा छ । मानिसको भौतिक शरीर नष्ट भए पनि उसले छोडेर गएका संस्कार, विचार र सम्झना सन्ततिका मनमा जीवित रहन्छन् ।

हिन्दुु मान्यताअनुसार स्वर्गलोक, वैकुण्ठलोक र पितृलोकको चर्चा गरिन्छ । पृथ्वी लोकमा रहेका हामी आफ्ना दिवंगत मातापिताको आत्माको शान्तिको कामना गर्छौं । उहाँहरूको सम्झनामा गरिने श्राद्ध, तर्पण र दान केवल धार्मिक कर्मकाण्ड मात्र होइनन्, आफ्ना जन्मदाता र उहाँहरूले गर्नुभएको त्यागप्रति सन्तानले व्यक्त गर्ने श्रद्धा र कृतज्ञता पनि हुन् ।

जीवित छँदा आमाबुबाको सेवा गर्नु जति आवश्यक छ, उहाँहरूको निधनपछि पनि उहाँहरूलाई श्रद्धापूर्वक सम्झिरहनु उत्तिकै महत्त्वपूर्ण छ । आमाबुबाको ऋण सन्तानले जीवनभर तिरेर सक्दैन । उहाँहरूले दिएको जन्म, माया, संस्कार र जीवनको आधारको मूल्य कुनै दानदक्षिणा वा कर्मकाण्डले पूरा गर्न सक्दैन ।

आमाको पाँचौं पुण्यतिथिमा उहाँलाई सम्झिरहेको छु । पाँच वर्ष बितिसकेछन् । समयको सुई निरन्तर अगाडि बढिरहेको छ । हाम्रो जीवन पनि आफ्नै गतिमा अघि बढिरहेको छ । तर, आमाले छाडेर जानुभएको रिक्तता भने अझै उस्तै छ । घरको आँगनमा सुनिने उहाँको आवाज, मायालु व्यवहार, हप्काइ र स्नेह आज पनि सम्झनामा ताजै छन् ।

कहिलेकाहीँ लाग्छ, आमा अहिले पनि हामीसँगै हुनुहुन्छ । हाम्रा गतिविधि हेरिरहनुभएको छ । हामीलाई सही र गलत छुट्याउन सिकाइरहनुभएको छ । दुःखमा हिम्मत र अप्ठ्यारोमा धैर्य गर्न प्रेरणा दिइरहनुभएको छ ।

आमा, जीवनको अन्तिम क्षणसम्म तपाईंले हामीलाई दिनुभएको माया र गर्नुभएको त्यागका लागि हामी सधैं ऋणी रहनेछौं । तपाईंको भौतिक शरीरको सेवामा हामीबाट कुनै त्रुटि भएको भए क्षमा गरिदिनुहोला । जहाँ र जुन लोकमा हुनुहुन्छ, त्यहाँ पनि सुख, शान्ति र आनन्द प्राप्त होस् । पितृहरूसँगै तपाईंको वास होस् ।

तपाईंले देखाउनुभएको सत्य र सत्कर्मको बाटोमा हिँड्न सकूँ । बुबा र परिवारका सबै सदस्यको उचित हेरचाह गर्न सकूँ । तपाईंले जोडेर राख्नुभएको परिवारलाई सधैं एकताबद्ध राख्न सकूँ । यही नै तपाईंप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

आमा, अर्को जन्म हुन्छ भने फेरि पनि तपाईंको कोखबाटै जन्म लिन पाऊँ । फेरि पनि तपाईंको माया र काखमा हुर्किन पाऊँ ।

आमाको पाँचौं पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली । हार्दिक सम्झना, प्यारी आमा !

laxmi recruitement

सम्बन्धित खबर