२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अस्वस्थ जीवनशैलीले बढ्दै छ मिर्गौला फेल

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका अनुसार, स्थापना भएको १४ वर्षमा १,६०० भन्दा बढी व्यक्तिले मिर्गौला प्रत्यारोपण गराइसकेका छन् ।

Nada
सपना बोहरा
२०८३ जेठ २७ गते ०६:३०
Shares
अस्वस्थ जीवनशैलीले बढ्दै छ मिर्गौला फेल

काठमाडौं : सिन्धुपाल्चोकका २३ वर्षीय प्रकाश शर्मा अहिले सामान्य शारीरिक श्रम गर्न पनि सक्दैनन् । उनलाई पानीको जारजस्ता गह्रौं सामान उचाल्न चिकित्सकले मनाही गरेका छन् । घरबाहिर निस्कँदा मास्क लगाउनुपर्ने अवस्था छ । साथीभाइसँग घुम्न जाने वा रमाइलो गर्ने जीवनशैली पनि सीमित भएको छ । यसको कारण हो–मिर्गौला रोग ।

ncell

प्रकाशको एउटा मिर्गौलाले काम गर्न छाडिसकेको छ भने अर्को मिर्गौलामा पनि समस्या देखिएको छ । हाल उनी मिर्गौला प्रत्यारोपणको तयारीमा छन् । उनी भन्छन्, ‘म पानी कम र कोल्ड ड्रिंक्स बढी पिउँथेँ । डाक्टरले त्यसैले पनि समस्या बढाएको हुन सक्छ भन्नुभएको छ ।’

मिर्गौलासम्बन्धी सामान्य लक्षण देखिँदा पनि उनले बेवास्ता गरे । अवस्था गम्भीर बनेपछि सम्पूर्ण स्वास्थ्य परीक्षण गराउँदा मिर्गौलामा समस्या रहेको पत्ता लाग्यो । अहिले उनी नातेदारको मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा छन् र त्रिवि शिक्षण अस्पतालमा नियमित फलोअप गरिरहेका छन् ।

यस्तै, कालीमाटीकी शर्मिला रेग्मीको खुट्टा बारम्बार सुन्निने समस्या थियो । सुरुमा उनले यसलाई सामान्य समस्या ठानेर नजिकैको मेडिकलबाट औषधि किनेर सेवन गरिन् । तर समस्या झन् बढ्दै गयो । पछि पिसाबसम्बन्धी समस्या पनि देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा एउटा मिर्गौलामा समस्या रहेको पत्ता लाग्यो ।

‘मेरो उमेर २९ वर्ष मात्र हो । तर तौल ८४ केजी पुगेको देखेर डाक्टरहरू पनि अचम्ममा पर्नुभयो,’ उनी भन्छिन् । चिकित्सकको सल्लाहअनुसार उनले तौल घटाउने प्रयास गरिरहेकी छन् । तारेका, पोलेका तथा जंक फुड खाने बानी छाडेर खानपानमा सुधार गरेकी छन् । ‘खानपानमा परिवर्तन गरेर तौल घटाउन सके मिर्गौलाको कार्यक्षमता सुधार हुन सक्छ भन्ने डाक्टरको सुझाव छ,’ उनले भनिन्, ‘स्वस्थ रहन खानपान र जीवनशैलीमा परिवर्तन गरिरहेकी छु ।’

युवामा बढ्दो समस्या

अहिले यस्ता समस्या घरघरमा देखिन थालेका छन् । अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण मिर्गौलासम्बन्धी रोग बढ्दै गएका छन् । मिर्गौलामा पत्थरी, बोसो जम्ने समस्या तथा मिर्गौला क्षति हुने बिरामीको संख्या वृद्धि भइरहेको चिकित्सकहरू बताउँछन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना श्रेष्ठका अनुसार विशेषगरी १५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिमा मिर्गौलासम्बन्धी समस्या बढ्दो क्रममा छ ।

उनका अनुसार मिर्गौला रोग ‘साइलेन्ट किलर’जस्तै हो, किनकि प्रारम्भिक चरणमा स्पष्ट लक्षण देखिँदैन । ‘धेरैजसो बिरामीमा समस्या गम्भीर भएपछि मात्रै मिर्गौलाको रोग पत्ता लाग्ने गर्छ,’ उनी भन्छिन् ।

डा. श्रेष्ठका अनुसार मिर्गौला प्रत्यारोपण गर्नेको संख्या पनि बढिरहेको छ । प्रत्यारोपणपछि मिर्गौलाको आयु भने व्यक्तिको स्वास्थ्य अवस्था, खानपान र जीवनशैलीमा निर्भर रहने बताइन्छ । ‘स्वस्थ खानपान र नियमित जीवनशैली अपनाएमा प्रत्यारोपणपछि पनि सामान्य व्यक्तिसरह जीवन बिताउन सकिन्छ,’ उनले भनिन् ।

कतिपय अवस्थामा वंशाणुगत कारणले पनि मिर्गौलामा समस्या देखिन सक्छ । तर अस्वस्थ जीवनशैलीका कारण हुने मधुमेह र उच्च रक्तचाप मिर्गौला फेल हुने प्रमुख कारणमध्येका हुन् । ‘सुगर र प्रेसर नियन्त्रणमा राख्न सके मिर्गौला जोगाउन सकिन्छ,’ डा. श्रेष्ठ भन्छिन्, ‘समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ, पर्याप्त पानी पिउनुपर्छ, स्वस्थ खाना खानुपर्छ र नियमित व्यायाम गर्नुपर्छ ।’

प्रत्यारोपण र डायलाइसिस सेवा

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्येक वर्ष करिब ३०० जनाले मिर्गौला प्रत्यारोपण गराउने गरेका छन् ।  केन्द्रका सूचना अधिकृत हरिहर पोखरेलका अनुसार केन्द्र स्थापना भएको १४ वर्षमा १,६०० भन्दा बढी व्यक्तिले मिर्गौला प्रत्यारोपण गराइसकेका छन् । केन्द्रले दैनिक १५० भन्दा बढी बिरामीलाई हेमोडायलाइसिस सेवा प्रदान गर्दै आएको छ ।

कहाँ–कहाँ हुन्छ मिर्गौलाको उपचार ?

आर्थिक वर्ष २०७३÷७४को बजेट विधेयक संसद्ले पास गरेसँगै मिर्गौला पीडितले निःशुल्क उपचार पाएका छन् । बिरामीले देशभरका विभिन्न २३ अस्पतालमा निःशुल्क उपचार पाउँदै आएका छन् । जसमध्ये उपत्यकाभित्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा सेवा दिइन्छ । उपत्यकाबाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, नोबेल मेडिकल कलेज विराटनगरमा पनि मिर्गौला प्रत्यारोपणको सेवा छ । मिर्गौलापीडितले स्थायी बसोबास भएको वडाको सिफारिसमा सेवा लिन सक्नेछन् । 

त्यस्तै, सरकारले निःशुल्क रूपमा मिर्गौलाको डायलाइसिससमेत गराउँदै आएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थली, नेपाल मेडिकल कलेज जोरपाटी, बिएन्डबी अस्पताल ललितपुर, आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर, नेसनल डायलाइसिस सेन्टर बसुन्धारामा यो सेवा छ ।

त्यस्तै, उपत्यकाबाहिर बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, नारायणी उप–क्षेत्रीय अस्पताल वीरगन्ज, कोशी अञ्चल अस्पताल विराटनगर, जनकपुर अञ्चल अस्पताल धनुषा, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवा, कलेज अफ मेडिकल साइन्सेज चितवन, मणिपाल मेडिकल कलेज पोखरा, गण्डकी मेडिकल कलेज पोखरा, विराट अस्पताल विराटनगर, गोल्डेन अस्पताल विराटनगर, धुलिखेल अस्पताल काभ्रेमा निःशुल्क उपचारको व्यवस्था छ ।

सम्बन्धित खबर