
काठमाडौं : प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद तथा प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफूलाई ज्यान मार्ने र बलात्कारको धम्की आएको बताएकी हुन् ।
उनले सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र प्रदेश संरचनाको पुनरावलोकनजस्ता विषयलाई संविधान संशोधमा समेट्न माग गरेकै आधारमा आफूलाई ज्यान मार्ने धम्की आएको बताइन् ।
उनले गत जेठ १२ गतेको प्रतिनिधिसभा बैठकमा सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र प्रदेश संरचनाको पुनरावलोकनजस्ता विषयलाई संविधान संशोधनमा समेट्न माग गरेकी थिइन् ।
संविधान संशोधनका लागि गठित कार्यदलको प्रारम्भिक मस्यौदामा यी महत्वपूर्ण विषय नपरेको भन्दै उनले आपत्ति जनाएकी थिइन् । वैदिक सनातन धर्म, राजसंस्था र प्रदेश खारेजीको पक्षमा रहेका आमनागरिकको आवाजलाई सरकारले नसुनेको उनको आरोप थियो ।
यही आवाज उठाएकै कारण उनले आफूमाथि हत्यासम्मको धम्की आएको बताइन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले ज्यान मार्नेसम्मको धम्की आएको विषय उठाइन् ।
ओलीले भनिन्, ‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ । धर्मान्तरणको विरुद्ध बोलेको थिएँ । म कुनै धर्मको विरुद्ध छैन । मेरो अभिव्यक्तिले कुनै धर्म मान्नेलाई समस्या नहुनुपर्ने हो । के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नुपर्ने हो ? म यो सबै सहन सक्छु, तर यो ममाथि मात्र होइन, सिंगो सनातन धर्ममाथिको प्रहार हो ।’
आफूले संसद्मा नेपाललाई सनातन राज्यका रूपमा परिभाषित गर्नुपर्ने धारणा राखेपछि ज्यान मार्ने, यौन हिंसासम्बन्धी तथा आक्रमण गर्ने चेतावनी प्राप्त भएको उल्लेख गरेकी छन् । यस्तो धम्की व्यक्तिगत मात्र नभई सनातनी समुदायप्रति समेत लक्षित भएको उनको टिप्पणी छ ।
ओलीको यस्तो टिप्पणीपछि मंगलबार मात्रै पुनः नियुक्ति पाएका गृहमन्त्री सुधन गुरुङले आवश्यक कारबाही गर्ने वचन दिएका छन् । पद बहालीलगत्तै उनले कसैको चरित्र हत्या गर्ने काम भए त्यसविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएका हुन् । बुधबार सदनमा ओलीले आफूमाथिको धम्की र चेतावनीको विषय संसद्मा उठाएपछि गृहमन्त्री गुरुङले दोषीमाथि कारबाही अघि बढाउने आश्वस्त पार्दै यसको लागि प्रक्रियामा जान आग्रह गरे ।
त्यस्तै, मुसिकोट नगरपालिका–९की वडाध्यक्ष भूमा गुरुङले आफूलाई बलात्कारको धम्की आएको बताएकी थिइन् । ‘आठ घण्टाभित्र बाटो बनाउने भए बनाउनू, नत्र भने तिमीलाई बलात्कार गर्न आउँछौं भन्दै धम्की दिए,’ उनले भनिन्, ‘महिला भएकै कारण आउने यस्ता धम्की समाजका लागि निकै खतरनाक छ । महिलाको खुसी र क्षमता देख्न र चिन्न नसक्नेहरू अन्तिममा महिलाको चरित्रमाथि प्रहार गर्छन् ।’ आफू वडाध्यक्ष भएको पितृसत्तात्मक सोच भएकाहरूलाई चित्त नबुझेको उनको भनाइ छ ।
यस्ता घटना वडादेखि सदनसम्म फैलिएको छ । नेतादेखि कलाकारसम्म हिंसाको सिकार बनेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा बोलेकै भरमा, आफ्ना विचार राखेकै भरमा महिलाको शरीरमाथि गलत टिप्पणी हुने गरेको महिला अधिकारकर्मीहरू बताउँछन् । गायिका एलिना चौहान, समीक्षा अधिकारीदेखि अभियन्ता अमीशा पराजुली, सरिश्मा थापासम्मले सञ्जालमा यस्ता प्रकारका हिंसा झेल्दै आइरहेका छन् । अहिले खुश्बु ओली र भूमा गुरुङ पनि यसैमा थपिएका हुन् ।
आज पनि धेरैले महिलाको शरीरमाथि प्रहार गर्ने गरेको अधिकारकर्मी रेणु अधिकारी बताउँछिन् । ‘सत्तामा मात्र हैन महिलाहरू कहीँ पनि सुरक्षित छैनन्, महिलामाथि जुनसुकै ठाउँमा पनि सुरक्षा खतरा छ,’ उनी भन्छिन्, ‘महिलाको शरीर खण्डित गरेपछि मात्र उसलाई हराउन सकिन्छ भन्ने कमजोर मानसिकता आजभोलि जताततै व्याप्त छ, महिलाको शरीरलाई सम्पत्ति ठान्ने जमातले महिलाको चरित्रहत्या गरिरहेका छन् ।’ कुनै महिला मन परेन भने अथवा उसले बोलेको मन परेन भने सबैभन्दा पहिले उसको शारीरिक अखण्डता तोड्ने प्रयास हुने उनी बताउँछिन् ।
‘कसैको चरित्र हत्या गर्ने कुरालाई गर्वका साथ यसो गर्न सक्छु भनिन्छ, म तँलाई सजाय दिन्छु, तेरो शरीरलाई अतिक्रमण गर्छु भनिन्छ,’ उनी भन्छिन्, ‘समाज यसलाई फेरि सामान्यीकरण गर्छ, गरेको त छैन नि, कहाँ के भयो र भनेर प्रश्न गरिन्छ, यस्ता प्रश्नले मनोबल बढेकै कारण महिलामाथि हुने दुव्र्यवहार रोकिएको छैन ।’ व्यक्ति मात्र हैन महिला हिंसाका सवालमा पूरै सिस्टम नै खराब देखिएको उनको बुझाइ छ । महिलामाथिका यस्ता हिंसा अपराध भएको अधिकारकर्मी अधिकारी बताउँछिन् ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार यस्ता आपराधिक क्रियाकलाप गर्नेलाई कानुनी कारबाही हुने व्यवस्था रहेको वरिष्ठ अधिवक्ता लक्ष्मण थपलिया बताउँछन् । ‘मुलुकी अपराध संहिताको दफा ३०५ र ३०६मा कसैको शरीर, प्रतिष्ठा वा इज्जतमा धक्का पु¥याउने नियतले गाली गर्न वा अपमानजनक शब्द प्रयोग गर्न नपाइने उल्लेख छ,’ उनी भन्छन्, ‘यस्तो धम्की दिने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।’
लिखित वा मौखिक शब्दद्वारा, संकेतद्वारा, वा चित्र÷भिडियोमार्फत वा विद्युतीय माध्यम (सोसल मिडिया)बाट कसैको विरुद्धमा झुट्टा कुरा फैलाएमा पनि बेइज्जतीअन्तर्गतको कसुर आकर्षित हुने अधिवक्ता थपलिया बताउँछन् । ‘इन्टरनेट वा सामाजिक सञ्जालमार्फत धम्की दिनु पनि अपराध हो,’ उनी भन्छन्, ‘सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट कसैले धम्की दिएको छ भने उसका लागि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार थप कडा कारबाही र सजाय हुने व्यवस्था छ ।’
अधिकारकर्मीले महिलाका लागि जति आवाज उठाए पनि, नियम कानुन बने पनि महिला हिंसा र चरित्रहत्याको ग्राफ दिनहुँ उकालो लागेको विभिन्न अध्ययन अनुसन्धानले देखाउँछ । महिलामाथिका हिंसा र चरित्रहत्यालाई सामान्यीकरण गर्दासम्म यस्ता घटना घट्नुको साटो अझै बढ्ने अधिकारकर्मी अधिकारीको ठम्याइ छ ।