
एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि गोल्फुटारकी ६० वर्षीया सुष्मा ज्ञवाली वीर अस्पताल पुगिन् । चिकित्सकले उनको रोग पत्ता लगाउन सकेनन् । दम वा श्वासप्रश्वाससम्बन्धी कुनै रोग थिएन । तर, शरीरमा अक्सिजनको मात्रा घट्यो । कृत्रिम अक्सिजन लगाउँदा मात्र उनको शरीरमा अक्सिजनको मात्रा पुगेको देखियो ।
चिकित्सकले एचआर सिटी स्क्यान गर्नुपर्ने सल्लाह दिए । तर, वीर अस्पतालमा एक महिनादेखि सो सेवा अवरुद्ध छ । ‘चार दिन भयो । रोग पत्ता लागेन,’ उनले भनिन्, ‘एचआर सिटी स्क्यान गर्नलाई मेसिन एक महिनादेखि बिग्रेको छ । यति ठुलो अस्पतालमा यो तहको अव्यवस्था देख्दा नराम्रो लाग्छ ।’ अस्पतालमा सञ्चालनमा रहेको एचआर सिटी स्क्यान बिग्रिएपछि बिरामीहरू प्रभावित भएका छन् । सिटी स्क्यान मर्मतकै क्रममा रहेकाले सोमबारसम्मा सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा सिटी स्क्यान बिग्रिएपछि दैनिक ५० को हाराहारीमा बिरामी निजी अस्पतालमा महँगो पैसा तिरेर सेवा लिन बाध्य छन् ।
वीर मात्र होइन, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पनि एचआर सिटी स्क्यान सेवा एक महिनादेखि ठप्प छ । विशेषगरी ज्यष्ेठ नागरिकले फोक्सोसम्बन्धी सेवा लिन पाएका छैनन् । फोक्सोका जटिल समस्याको छायाचित्र उतारेर समस्या पत्ता लगाउने सिटी स्क्यान सेवा ठप्प भएको महिनौं भएको छ । सेवा ठप्प भएपछि छाती तथा फोक्सोसम्बन्धी बिरामी निजी अस्पतालमा महँगो पैसा तिरेर सेवा लिन बाध्य भएका छन् । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका सूचना अधिकारी सुदीपचन्द्र दाहालले करिब एक महिनादेखि बिग्रिएर सेवा प्रवाह गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘सिटी स्क्यान बिग्रिएलगत्तै टेन्डर खोलेर खरिद प्रक्रियामा लागेका हौं, कम्तीमा पनि प्रक्रिया पूरा गरेर अस्पतालसम्म ल्याउन केही समय त लागिहाल्छ नि !’
उनका अनुसार उक्त सिटी स्क्यानको मूल्य करिब ६० लाख रुपैयाँ पर्छ । सिटी स्क्यान खरिद गरेर अस्पतालमा ल्याएर सञ्चालन गर्न अझै १५ दिनजति लाग्ने उनी बताउँछन् । अस्पतालमा सिटी स्क्यान बिग्रिएपछि दैनिक ३० जनाभन्दा बढी छाती तथा फोक्सोसम्बन्धी बिरामी प्रभावित हुने गरेको उनले बताए ।
एचआरसिटी स्क्यान के हो ?
एचआरसिटी भनेको हाई रिसोलुसन कम्प्युटेड टोमोग्राफी हो । यो विशेष प्रकारको सिटी स्क्यान प्रविधि हो । जसले फोक्सोका सूक्ष्म भागहरूको पनि अत्यन्तै स्पष्ट र विस्तृत तस्बिरहरू खिच्न मद्दत गर्दछ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका सूचना अधिकारी दाहालका अनुसार, फोक्सोका जटिल समस्याहरू, जस्तै– निमोनिया, कोभिड–१९ को संक्रमण, टिबी (क्षयरोग), र फोक्सो कडा हुने रोग पत्ता लगाउन महत्वपूर्ण प्रविधि हो ।
उनी भन्छन्, ‘सामान्य एक्सरे वा अन्य स्क्यानले नदेखाउने साना–साना दाग वा परिवर्तन पनि यसमा सजिलै देखिन्छन् । कम्प्युटर र एक्स–रे को मद्दतले फोक्सोको भित्री तहको विस्तृत अध्ययन गरिन्छ । फोक्सोमा भएको समस्या पत्ता लगाउँछ ।’ सिटी स्क्यानमार्फत दमको गम्भीर अवस्था पत्ता लगाउनुको साथै क्यान्सरको लक्षण, फोक्सोमा देखिने साना गिर्खाहरू वा ट्युमरको सुरुवाती अवस्था पत्ता लगाउने उनले बताए ।