
नवलपरासी : सरकारले यात्रु लक्षित अनलाइन भन्सार प्रणाली लागू गरेसँगै पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ । आइतबार बिहान ८ बजेदेखि नै नेपाल–भारत सीमावर्ती नाका महेशपुरमा भारतबाट नेपाल भ्रमणका लागि आएका भारतीय पर्यटक तथा अन्य यात्रुहरूको भिड लागेको हो ।
नयाँ व्यवस्था अनुसार यात्रुले नेपाल भित्र्याउने मालवस्तुको विवरण अनलाइनमार्फत दर्ता गर्नुपर्ने, राजस्व भुक्तानी गर्नुपर्ने तथा जाँचपास प्रक्रिया पनि डिजिटल प्रणालीबाट पूरा गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएपछि भन्सार कार्यालयमा सेवाग्राहीको संख्या एक्कासि बढेको देखिएको छ । प्रणालीबारे जानकारी लिन, आवश्यक कागजात बुझ्न तथा प्रक्रिया पूरा गर्न यात्रुहरू लामो समयसम्म लाइनमा बस्न बाध्य भएका थिए ।
महेशपुर भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ भण्डारीका अनुसार भारतमा आइतबार सार्वजनिक बिदा परेकाले नेपाल घुम्न आउने भारतीय पर्यटकको संख्या बढेको हो । बिदाको अवसर पारेर नेपाल भ्रमणमा आउने भारतीय नागरिकहरू नयाँ अनलाइन प्रणालीअनुसार प्रक्रिया पूरा गर्न भन्सार कार्यालय पुगेपछि कार्यालयमा असामान्य चाप देखिएको उनले बताए ।
अनलाइन प्रणाली लागू भएपछि सेवाग्राहीहरूलाई प्रारम्भिक चरणमा प्रक्रिया बुझ्न समय लागिरहेको छ । भारतमा बिदा भएका कारण पर्यटकको संख्या पनि बढेको छ, जसले गर्दा आज बिहानदेखि कार्यालयमा चाप बढेको देखिएको छ,” भण्डारीले भने ।

नेपाल सरकारले हालै लागू गरेको व्यवस्थाअनुसार भारतीय नम्बर प्लेटका निजी सवारीसाधनले नेपाल प्रवेश गर्दा वर्षभरिमा अधिकतम ३० पटकसम्म मात्र नेपाल आउन पाउने व्यवस्था गरेको छ । तोकिएको सीमा नाघेर नेपाल प्रवेश गरेमा कानुनी कारबाही तथा जरिवानाको व्यवस्था रहेको भन्सार कार्यालयले जनाएको छ । यस व्यवस्थाबारे जानकारी लिन पनि धेरै सवारी चालक तथा पर्यटकहरू भन्सार कार्यालय पुगेका थिए ।
नयाँ डिजिटल प्रणालीप्रति सेवाग्राहीको मिश्रित प्रतिक्रिया देखिएको छ। केही यात्रुले अनलाइन प्रणालीले दीर्घकालीन रूपमा सेवा प्रवाहलाई सहज, छिटो र पारदर्शी बनाउने विश्वास व्यक्त गरेका छन् । तर प्रारम्भिक चरणमा पर्याप्त जानकारीको अभाव, प्राविधिक जटिलता तथा प्रक्रियागत अन्योलताका कारण समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ ।
सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाले समेत नयाँ व्यवस्था कार्यान्वयन गर्दा पर्याप्त जनचेतना तथा पूर्वतयारी नगरी लागू गरिएको आरोप लगाएका छन् । “प्रणाली राम्रो हो, तर सेवाग्राहीलाई पहिले नै जानकारी दिनुपर्थ्यो,” एक स्थानीयले भने, “अहिले धेरै मानिस प्रक्रिया नबुझेर अलमलमा परेका छन् ।”
यता, महेशपुर भन्सार कार्यालयमा जनशक्तिको अभाव पनि स्पष्ट रूपमा देखिएको छ । सीमावर्ती क्षेत्रका व्यापारी तथा स्थानीयवासीका अनुसार भन्सार कार्यालयमा सेवाग्राहीको संख्या वर्षेनि बढ्दै गए पनि कर्मचारी तथा आवश्यक पूर्वाधार विस्तार हुन सकेको छैन । जसका कारण सामान्य अवस्थामा समेत सेवा प्रवाह प्रभावित हुने गरेको छ ।
व्यापारीहरूले महेशपुर भन्सार कार्यालयका लागि आवश्यक जग्गा व्यवस्थापन, आधुनिक क्वारेन्टाइन स्थापना तथा भौतिक पूर्वाधार विस्तारको माग लामो समयदेखि गर्दै आएका छन् । विभिन्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवाला निकायले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन नसकेको उनीहरूको भनाइ छ ।
भारतसँगको प्रमुख नाकामध्ये एक मानिने महेशपुर नाकामा दैनिक सयौं यात्रु तथा सवारीसाधनको आवागमन हुने गरेको छ । तर पर्याप्त पूर्वाधारको अभावका कारण भन्सार कार्यालयले अपेक्षित रूपमा सेवा दिन नसकेको स्थानीयको आरोप छ ।
भन्सार कार्यालयले भने नयाँ प्रणाली कार्यान्वयनको प्रारम्भिक चरण भएकाले केही असहजता देखिए पनि क्रमशः सेवा सहज हुँदै जाने जनाएको छ । सेवाग्राहीलाई आवश्यक जानकारी उपलब्ध गराउन तथा सहजीकरण गर्न अतिरिक्त कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ ।
भन्सार विभागले पछिल्लो समय भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले डिजिटल प्रणाली विस्तार गरिरहेको छ । त्यसैको एक भागस्वरूप यात्रु लक्षित अनलाइन भन्सार प्रणाली देशका विभिन्न नाकामा क्रमिक रूपमा लागू गरिएको हो ।
तर सीमावर्ती क्षेत्रमा प्रभावकारी सेवा प्रवाहका लागि डिजिटल प्रणालीसँगै पर्याप्त जनशक्ति, भौतिक पूर्वाधार, क्वारेन्टाइन व्यवस्थापन तथा सेवाग्राहीमैत्री सूचना प्रणालीको विकास आवश्यक रहेको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।