२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

रोजीरोटीको टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिएकाे घटना के हाे ?

वन कर्मचारीकाे दाबी- त्यो फलामे अस्थिपञ्जरमात्रै थियो

Nada
भावना पाठक
२०८३ जेठ ३१ गते १३:५८
Shares
रोजीरोटीको टेम्पो  वन कर्मचारीले भिरबाट खसालिदिएकाे घटना के हाे ?

काठमाडौँ : गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । 

ncell

भिरबाट खसालिएको टेम्पो कैलालीको गोदावरी नगरपालिका- ४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीको हो ।  धामीले उक्त पुरानो टेम्पोभित्र खुद्रा सामान राखेर पसल चलाई आफ्नो जीविकोपार्जन गर्दै आएकी थिइन् । धामीका अनुसार उनले सडक छेउमा रोकेर पानी, चाउ चाउ, बिस्कुट, अण्डा  लगायतका सामाग्री बेच्ने गर्थिन् । बेंग्लोर बस्ने छोराले आफूलाई टेम्पो किनिदिएको र सोही टेम्पोमा व्यापार गरेर गुजारा चलाउँदै आएको उनले बताएकी छन् ।

धामीका अनुसार वन कर्मचारीले पहिला जबर्जस्ती टेम्पो भित्रको सामान बाहिर झरिदिएका थिए । ‘मैले टेम्पो घर लिएर जान्छु भन्दा भन्दै पनि कर्मचारीहरूले जबर्जस्ती धकेलेर भिरबाट खसालिदिए, समान पनि सबै फ्याँकिदिए’, पिडीत धामीले भनिन्, ‘बरु मेरो सामान लैजानुस् तर टेम्पोलाई केही नगर्नुस् भन्दै मैले हारगुहार गर्दा पनि वनका कर्मचारीले सुन्दै सुनेनन् र जबरजस्ती टेम्पो भिरबाट धकलेर खसालिदिए ।’

टेम्पो भिरबाट खसालिएको भिडियो भाइरल भएपछी वन कर्मचारीविरुद्ध मानिसहरूले विरोध गर्न थाले ।  जताततैबाट विरोध आएपछि वन कार्यालयले टेम्पो भिरबाट नियतवश नखसालेको स्पष्टीकरण दिएको छ । टेम्पो जबर्जस्ती भिरबाट खसालेको भिडियो भाइरल हुँदाहुँदै घटनामा संलग्न २१ जना कर्मचारीहरूले आइतबार विज्ञप्ति जारी गर्दै टेम्पो दुर्घटनावश खस्न पुगेको भन्दै झुटो बोले । कार्यालयले पत्रकार सम्मेलन र विज्ञप्ति मार्फत ‘टेम्पो अनियन्त्रित भई आफैँ भिरबाट खसेको’ दाबी गरेको हो । 

कार्यालयका अनुसार भिरतर्फ धकेलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना थियो । वन कार्यालयका प्रमुख डा. रामविचारी ठाकुरले उक्त टेम्पो गुड्ने हालतमा नरहेको, इन्जिन र चक्का पूर्ण रूपमा बिग्रिएको र केवल पसल थाप्ने ‘फलामे अस्थिपञ्जर' मात्र रहेको दाबी गरेका छन् ।

वन कार्यालयले अतिक्रमण हटाउने अभियानका क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गरेका थिए । ‘जे गर्नुस् गर्नुहोस्, म हटाउँदिन’ भन्दै गालीगलौज गरेपछि वन कार्यालयको टोलीले गुडाउन नमिल्ने अवस्थामा रहेको टेम्पोलाई हटाउने प्रयास गरेको थियो विज्ञप्तिमा उल्लेख छ । 

वन कार्यालयले काम नलाग्ने टेम्पो भने पनि धामी त्यसैलाई स्वीकार गर्दिनन् । आफूले टेम्पो चलाउन नजाने पनि साँझ बिहान चलाउन जान्ने मान्छेलाई डाँडासम्म पुर्‍याउन सहयोग मागेर व्यापार गर्दै आएको उनले बताइन् । ‘दुवै पक्षको आ-आफ्नै अडान छ, सत्य के हो भन्ने विषयमा छलफल भैरहेको छ, अनुसन्धानपछि वास्तविकता थाहा हुन्छ’, कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्द भने ।  

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले श्रमजीवीमाथि अन्याय भएको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । आइतबार महासंघका अध्यक्ष जित बहादुर मल्लले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका हुन् । टेम्पो भिरबाट खसालिएको घटनाले स्तव्ध पारेको भन्दै जारी विज्ञप्तिमा यस्ता घटनाले गरीबमाथि झन् पीडा थप्ने उल्लेख गरिएको छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिडियोमा प्रस्ट रूपमा बल प्रयोग गरेर टेम्पो धकेलेको देखिएको भन्दै उक्त कार्यमा संलग्न कर्मचारीहरूलाई तुरुन्त जागिरबाट बर्खास्त गर्न माग गरेका छन् । पीडित महिला धनादेवी धामीलाई वन कार्यालय वा दोषी कर्मचारीको तर्फबाट  क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने चौतर्फी दबाब सिर्जना भएको छ । 


 

सम्बन्धित खबर