
दम्माम, साउदी अरब : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबको सहकार्य तथा नेपाली दूतावास रियादको आयोजनामा साउदी अरबको पूर्वी प्रान्त दम्माममा आयोजित दुई दिने अस्थायी राहदानी शिविर, श्रमिक सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
१२ र १३ जुन २०२६ मा सम्पन्न शिविरमार्फत कुल ७३५ जना नेपाली सेवाग्राहीले विभिन्न प्रकारका कन्सुलर सेवा प्राप्त गरेका छन् । शिविरमा ३१० जनाको विद्युतीय राहदानी (ई–पासपोर्ट) आवेदन फाराम संकलन गरिएको थियो भने ३४२ जनालाई नवीकृत राहदानी वितरण गरिएको आयोजकले जनाएको छ । साथै ६ जनालाई ट्राभल डकुमेन्ट, २ वटा कन्सुलर प्रमाणीकरण (Attestation) तथा ७५ जनालाई एक्जिट भिसासम्बन्धी सेवा प्रदान गरिएको थियो ।
शिविर सञ्चालनका लागि नेपाली राजदूतावास रियादका द्वितीय सचिव अम्बरबहादुर नेपालीको नेतृत्वमा प्रथम सचिव टिकाराम शर्मा, तृतीय सचिव कमल कुँवर लगायत राजदूतावासका अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन एनआरएनए साउदी अरबका अध्यक्ष उमेश भट्टराईको नेतृत्वमा विभिन्न सामाजिक तथा राजनीतिक संघसंस्थाका प्रतिनिधिहरू स्वयंसेवकका रूपमा खटिएका थिए । स्वयंसेवक टोलीमा एनआरएनएका पदाधिकारीहरू, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू तथा नेपाली समुदायका अग्रजहरूको उल्लेखनीय योगदान रहेको थियो । विभिन्न संस्थाका प्रतिनिधिहरूले सेवाग्राही व्यवस्थापन तथा सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
शिविरका अवसरमा श्रमिकहरूलाई लक्षित गरी श्रमिक सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो । एनआरएनए साउदी अरबका अध्यक्ष उमेश भट्टराईले श्रमिकहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गरेका थिए ।
शिविरलाई सफल बनाउन ग्लोबल आइएमई बैंकले निःशुल्क फोटोकपी सेवा तथा बैंक खाता खोल्ने सुविधा उपलब्ध गराएको थियो भने फ्रेन्डी–पेले निःशुल्क सिम कार्ड वितरण गरेको थियो । साथै ओमज्यू र यमज्यूले कार्यक्रम अवधिभर निःशुल्क खानेपानी वितरण गरी विशेष सहयोग पुर्याएका थिए ।
आयोजक संस्थाले प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण स्वयंसेवक, संघसंस्था, दाता, शुभेच्छुक तथा सेवाग्राहीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि श्रमिक हितका यस्ता सेवा तथा कार्यक्रमलाई निरन्तरता दिन नेपाल सरकार तथा नेपाली राजदूतावास रियादसँग अनुरोध गरेको छ ।
साथै वक्तव्यमा उल्लेख हुन छुटेका स्वयंसेवक तथा सहयोगीहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै क्षमायाचना समेत गरिएको छ ।