
उदयपुर : उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा प्रथम त्रियुगा मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिता त्रियुगा नगरपालिकाको संयोजनमा त्रियुगा युवा समूह तथा खेलकुद विकास समिति, गाईघाटले सञ्चालन गरेको हो ।
प्रतियोगिताको उद्घाटन त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतलगायतले संयुक्त रूपमा गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख बस्नेतले नगरपालिकाले खेलकुद क्षेत्रको समग्र विकासका लागि आवश्यक लगानीलाई प्राथमिकता दिने बताए । उनले थरुहट खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसहित पहल भइरहेको र क्रिकेट मैदान निर्माण कार्य पनि अगाडि बढिरहेको जानकारी दिए ।
उनका अनुसार खेलकुदमार्फत स्वास्थ्य प्रवर्धनसँगै सामाजिक एकता र विकासलाई अघि बढाउने उद्देश्य लिइएको छ । विद्यालय तहदेखि नै खेलकुदमा सहभागिता बढाउँदै लैजाने नीति पनि नगरपालिकाले लिएको उनले उल्लेख गरे ।
प्रतियोगितामा उदयपुरका विभिन्न स्थानीय तहसहित छिमेकी जिल्लाका गरी १० टोली सहभागी छन् । सहभागी टोलीमा लिम्चुङबुङ गाउँपालिका, चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका, ताप्ली गाउँपालिका, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, भोजपुरको आमचोक गाउँपालिका, झापाका कन्काई गाउँपालिका र दमक नगरपालिका तथा अन्य एक टोली रहेका छन् ।
आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई विभिन्न ८ विधामा पुरस्कार प्रदान गरिनेछ । उपाधि विजेताले ७० हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेतालाई ३५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल असार ७ गते हुने आयोजकले जनाएको छ ।