
नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार काठमाडौंबाट त्रिवेणीतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०६६५ नम्बरको यात्रुबाहक बसलाई सोही दिशातर्फ गइरहेको ना ५ ख १९०५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। साँझ करिब ५ बजे भएको उक्त दुर्घटनामा बसमा सवार यात्रुहरू घाइते भएका थिए ।
दुर्घटनामा परी विनयी त्रिवेणी गाउँपालिका–६ निवासी ३० वर्षीया नेहा गुरुङ गम्भीर घाइते भएकी थिइन् । उनको टाउको, मुख तथा छातीमा गम्भीर चोट लागेको थियो । तत्काल उपचारका लागि चिसापानी अस्पताल पु¥याइए पनि चिकित्सकले साँझ ५ः३० बजे उनलाई मृत घोषणा गरेका थिए । मृतक गुरुङको शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ कै ३२ वर्षीय मदन क्षेत्री घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ भने अवस्था सामान्य रहेको जनाइएको छ। बस चालक बर्दघाट नगरपालिका–४ निवासी ४८ वर्षीय लक्ष्मण ज्ञवालीको टाउको र हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि रुपन्देहीको भलुहीस्थित देवदह मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रतापपुर गाउँपालिका–९ निवासी ३५ वर्षीय दिनानाथ चौधरीको टाउकोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त बसमा चालकसहित १५ जना सवार थिए । घाइते चार जनाबाहेक अन्य ११ जना यात्रु सकुशल रहेका छन् ।
दुर्घटनामा संलग्न ट्रक चालक धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–३ निवासी २३ वर्षीय विष्णु थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई समेत नियन्त्रणमा राखिएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको व्यस्त खण्ड मानिने चिसापानी क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटनाका घटना दोहोरिन थालेपछि सडक सुरक्षाप्रति थप सतर्कता अपनाउन स्थानीयले माग गरेका छन् ।