– विष्णु पन्त
आगामी मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभाको चुनाव हुँदैछ । चुनावले राजनीतिक स्थीरता र स्थायित्व दिने अपेक्षा गरिएको छ । मूलधारका राजनीतिक शक्तिले यसलाई स्थायित्वको अर्को खुड्कीलोको रुपमा पनि व्याख्या गरेका छन् । तर, आगामी चुनावले स्थायित्व दिन्छ भन्नेमा सुनिश्चितता छैन । जे–जस्तो परिस्थिति र शैलीमा चुनाव हुँदैछ त्यसले थप देश र जनतालाई अहिलेकोभन्दा बढी अनिश्चिततामा धकेल्ने सम्भावना छ । अनिश्चितताको कारण संसदीय राजनीतिमा देखिएको विभाजन हो ।
यो चनाव मूलतः दुई ध्रुवमा केन्द्रित हुँदै छ, त्यो हो : एमाले वा एमाले विरोधी गठबन्धन । वास्तवमा यो प्रश्न वा चुनाव देश र जनताका लागि निरर्थक, औचित्यहीन र असान्दर्भिक छ । यही निरर्थक र अर्थहीन परिणामका लागि राज्यकोषबाट १० देखि २० अरब खर्च हुँदै छ । चुनावकै कारण एकातर्फ देश गम्भीर आर्थिक संकटमा फस्दै छ भने अर्कोतर्फ राजनीतिक रुपमा देश थप विभाजित हुँदैछ । यसले थप समस्याको सिर्जना गर्ने कुरामा निश्चित छ । त्यसको अर्थ परिस्थितिको माग हुन्छः सबै मिलेर समस्याको दिर्घकालिन खोजी गर्नुपर्छ । प्रगतिशील तथा क्रान्तिकारी शक्तिले नयाँ विकल्पबारे बहस छेड्नुपर्छ । अहिलेको चुनाव केवल सत्ता वा कुर्सीको लडाईं मात्रै हो । प्रतिशोघ, पूर्वाग्रह र अहंकारको लडाईंले देशलाई झनै ठूलो खाल्डोमा लैजान्छ । त्यसकारण आगामी चुनावले देशमा राजनीतिक अस्थिरताको विजारोपण गर्ने छ । अहिले न त एमाले न त नेकाको बहुमत आउने अवस्था छ । कसैको पनि बहुमत पुगेन भने सरकार ढाल्ने र बनाउने खेल मात्रै चल्नेछ । जसले विदेशी शक्तिहरुलाई आमन्त्रण गर्नेछ । कसैको पनि बहुमत नहुँदा के हुन्छ हामीले भोगी आएकै कुरा हो । राजनीतिक अस्थिरताको बीचबाट देशले भोग्ने क्षति र संकट मात्र हो ।
हाम्रो राजनीतिक नेतृत्वमा देशप्रतिको इमानदारिता र प्रतिबद्धतामा खडेरी लागेको छ । देशभन्दा ठूलो सत्ता, गुट र परिवारवाद बनेको छ । विचारको हिसाबले भन्ने हो भने अराजकतावादमा धकेलिएको छ । देशमा सर्वत्र बेथिति, विकृति र विसंगतिहरु मात्र भरिएका छन् । मुख्य चुनाव एमाले वा सत्ता गठबन्धन भन्नेमा हुँदैछ भने त्यसको परिणामले देशलाई कुनै निकाश दिँदैन । निश्चित छ यो चुनावी परिणामले देशलाई झनै संकटमा फसाउने छ । देशलाई थप अनिश्चिता र अस्थीरतामा लैजानेछ । अहिलेको समस्याभन्दा आउने समस्या झन् ठूला हुनेछन् ।
मुख्य संकट एकातिर राजनीति अर्कोतिर
आज देशका सामु मुख्यगरी तीन वटा संकटहरु देखिन्छन् । १. जसलाई संसदीय व्यवस्थाले उत्पन्न गरेका पुरानै संकटहरु जस्तै भ्रष्टाचार, महँगी, जस्ता बेथितिहरु राष्ट्रियताको संकट, वैदेशिक हस्तक्षेप, दलालीकरण र राजनीतिक अस्थिरता जस्ता समस्याहरु छन् । २. विश्वव्यापी रुपमा बढेको आर्थिक मन्दीको उच्च जोखिम । हामी श्रीलंका बन्ने खतराको नजिक छौँ । ३. चीन र अमेरिकाबीचको द्वन्द्वमा हामी युक्रेन बन्ने खतरा छ । वास्तवमा पहिलो समस्या नै हाम्रो लागि काफी भएको अवस्थामा थप दुईवटा गम्भीर संकट र चुनौतीहरु थपिएका छन् । यस्तो अवस्थामा पनि नेतृत्वको गम्भीरता दखिएको छैन । यी सबै संरचनाको जड संसदीय व्यवस्था र यसको नेतृत्व हो । संसदीय पार्टीहरु केबल आफ्नो सत्ता र संसदीय अंक गणितमा केन्द्रीत भएर राजनीति गरिरहेका छन् । त्यसकारण यी संकटबाट देशलाई बचाउनु पर्छ भन्ने राजनेता जन्मिनै सकेन ।
गत स्थानीय चनावबाट जनताले एउटा सुझाब दिएका छन् कि पुरानै तरिकाले आउने हो भने पुराना दललाई हामी पराजीत गरिदिन्छौँ । बालेन शाह र हर्क साम्पाङ्ग राईमार्फत् जनताले यही सन्देश दिएका छन् । वास्तवमा भन्ने हो भने बालेन शाहले काठमाडौंमा एउटा डोजर घुमाउने बाहेक केही पनि गरेका छैनन् तर, उनी सर्वत्र हाई हाई बनेका छन् । पुराना दलहरुले जितेको भए यति पनि हँुदैन्थ्यो । कम्तीमा एउटा नयाँ आशा र उत्साह जगाउने काम गरेका छन् । हो उनले बिहान बेलुका श्रम गरेर वा ठेला व्यापार गरेर खानेहरुको बिल्लीबाठ पनि गराएका छन् ।
संसदीय दलमा एउटा नशा वा मात लागेको छ, त्यो होः संसदमा बहुमत पुगेपछि जे गरे पनि हुन्छ र जति लुटे पनि हुन्छ । वास्तवमा यो लत पनि गाँजा, चरेस वा अफिमको लतभन्दा कमी छैन । यो उन्माद कायम रहँदासम्म देशले केही पनि प्राप्त गर्न सक्दैन । यो संसदीय दुव्र्यसनीलाई नियन्त्रण नगरे देश रहँदैन । हाम्रो राजनीतिले समाजका सबै क्षेत्रलाई भ्रष्टीकरण गरेको छ । हाम्रा भावी पुस्ताहरुलाई समेत यसले भ्रष्टीकरणको संस्कृति सिकाएको छ । त्यसकारण देशलाई केन्द्रमा राख्ने हो भने हामीले तुरुन्तै केही गर्नैपर्छ । पहिलो हो राजनीतिक स्थिरताका लागि केही सोच्नै पर्छ र त्यसका लागि कम्तीमा संसदीय प्रणालीको अन्त्य गर्नुपर्छ । दोश्रो समस्या हो भ्रष्टाचारको अन्त्य भएन भने हाम्रो भावी पुस्ता पनि ध्वस्त हुनेछ र त्यसबाट बचाउनका लागि भ्रष्टाचारलाई गम्भीर राष्ट्रिय अपराधका रुपमा विकास गर्नुपर्छ । तेश्रो हो देशलाई आर्थिक संकटबाट टार्नका लागि उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नैपर्छ । बेरोजगारी समस्याको समाधान पनि यहीँबाट निस्किन सक्छ । चौथो हो हाम्रो परराष्ट्र नीतिलाई थप सशक्त बनाउनु पर्छ । हामीले हाम्रो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखी अन्तर्राष्ट्रिय अन्तरविरोध र शक्ति संघर्षमा नमुना कुटनीतिको विकास गर्नुपर्छ । सत्तालाई होइन, राष्ट्रलाई केन्द्रमा राख्ने परराष्ट्र नीति चाहिएको छ । दलालीकरण र अपारदर्शी साँठगाँठबाट होइन, पारदर्शी, खुल्ला र स्पष्ट परराष्ट्र नीति चाहिएको छ ।
नयाँ शक्ति विकास अनिवार्य
जनता पुराना दल र नेतृत्वबाट आजित भइसकेका छन् । जनचाहना र परिस्थितिको माग छ, नयाँ–नयाँ शक्तिहरु आउन । केही गर्ने दृष्टिकोण भएका नयाँ शक्तिहरुको माग जनताले गरेका छन् । नयाँ–नयाँ शक्तिहरु बन्ने वा बनाउने अभियान पनि चलेका छन् । तर, सबैलाई समेटेर मूल धार बनाउने प्रयासहरु सफल हुन्, सकेका छैनन् । सबैलाई समेट्न सक्ने नेतृत्व र केन्द्रीकृत शक्ति नबन्दासम्म त्यसले पनि मूर्तरूप लिन सक्दैन । जब एउटा राष्ट्रव्यापी नयाँ शक्ति बन्दैन तबसम्म पुरानै शक्ति हावी हुनेछन् । साझा राष्ट्रिय दृष्टिकोण र अग्रगामी योजनासहितको नयाँ शक्तिको अभाव देशलाई भइरहेको छ ।
निष्कर्षमा, सरकारले मंसिर ४ मा चुनाव गर्ने घोषणा गरिसकेको छ र देशभर चुनावी माहोल शुरु भइसकेको छ । चुनावलाई बहिस्कार गर्ने वा असफल बनाउने शक्तिहरुको उपस्थिति सशक्त छैन । त्यसकारण जनताको बाध्यता छ ः चुनावमा भोट हाल्ने । मतदान गर्दा केही राम्रा शक्ति र उम्मेदवार आए हुन्थ्यो भन्ने जनचाहना छ । खासगरी स्वतन्त्र उम्मेदवारतर्फ जनताको ध्यान केन्द्रित छ । आगामी चुनावी परिणामले देशलाई झनै ठूलो राजनीतिक अस्थितरतातर्फ धकेल्ने निश्चित छ । कुनै पनि दलको बहुमत नपुग्ने र यसअघि जस्तै सांसद किनबेच अनि दलीय घात प्रतिघात हुने निश्चित छ । चुनावले दलहरुको वर्तमान अन्तरविरोधलाई पनि हल गर्ला भनेर भन्ने अवस्था छैन । प्रत्येक पार्टीभित्र गुटै गुट अथवा पार्टीभित्रै अर्को पार्टी छ । जसकारण चुनावमा ती गुटहरु अझ सक्रिय हुने र पार्टीलाई थप कमजोर बनाउने अवस्था आउन सक्छ । एकातिर कुनै पनि दलले बहुमत नल्याउने र अर्कोतिर गुटको राजनीति हाबी हुँदा आगामी चुनाव पछि पनि राजनीतिले स्थायित्व लिन्छ भन्न सकिन्न । अस्थिर प्रकृतिको राजनीतिले देशलाई स्थायित्व दिन्छ भनेर कल्पना गर्नु बेकार हुनेछ । अस्थीर राजनीतिले थप अराजकता र अस्थीरतामा मात्रै निम्त्याउँछ । मुलुकलाई एक पछि अर्को गर्दै संकट तर्फ धकेल्ने र विदेशी शक्तिलाई आमन्त्रण गर्ने गर्दछ । त्यसकारण निष्कर्षमा यो व्यवस्था र परिपाटीको अन्त्य अनिवार्य छ । यही व्यवस्थालाई अगाडि बढाउने हो भने पनि यो परिपाटी र नेतृत्वको भने अन्त्य गर्नैपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies