
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनमा वैदेशिक रोजगार पृष्ठभूमिका आधा दर्जन बढी व्यवसायी कार्यसमितिका विभिन्न पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
वर्तमान कार्यसमिति सदस्य अब्दुल सत्तार र तिलक रानाभाट, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष किरण किशोर घिमिरे, केही समयअघि व्यवसायबाट अलग भएको घोषणा गरेका ऋषि शर्मा, व्यवसायी ऋषिराम कँडेल, अभिनयमान सिंह बस्नेत र राजेश्वरकुमार राय अमात केन्द्रीय सदस्यका आकांक्षी रहेको बताइएको छ ।
महाधिवेशनमा हाल एसोसिएसनमा आबद्ध १६ जना तथा विगतमा वैदेशिक रोजगार व्यवसायमा जोडिएर छाडेका गरी ४० जना हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको एसोसिएसन सम्बद्ध स्रोतले बताएको छ । सत्तार गोरखा, रानाभाट कास्की, घिमिरे दाङ, शर्मा सुर्खेत, कँडेल बागलुङ र बस्नेत उदयपुरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधि छानिएका हुन् । राय कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् । उनी अपाङ्गता समूहबाट केन्द्रीय सदस्य पदको उम्मेदवार बनेका हुन् ।
पुराना व्यवसायी तथा यसअघि केन्द्रीय सदस्य सतारले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । उनले मुस्लिम क्लस्टर तर्फबाट सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
यसैबीच, लोकतान्त्रिक एसोसिएसनबाट ३ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । कार्यवाहक अध्यक्ष सुवर्ण लामा, महासचिव सुमनराज पाण्डे र हिरादेवी बुढाथोकी महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
यसअघि ५ वा ७ जना प्रतिनिधि पाउने चर्चा भए पनि अन्तिममा ३ जना मात्रै पठाउन पार्टीको पत्र प्राप्त भएपछि सर्वसम्मतिले ३ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको एसोसिएसनले जनाएको छ ।