
काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा महामन्त्री पदका उम्मेदवार शंकर तिवारीले विशेष महाधिवेशनपछि पनि पार्टीमा अपेक्षाअनुसार रूपान्तरण हुन नसकेको बताएका छन् । उनले अब कांग्रेसभित्र ‘रूपान्तरणको पनि रूपान्तरण’ आवश्यक रहेको धारणा अघि सारेका छन् । तिवारीले कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा तिवारीले विशेष महाधिवेशनबाट सुरु भएको रूपान्तरणको प्रक्रियालाई १५औँ महाधिवेशनले थप अगाडि बढाउनुपर्ने बताए । विशेष महाधिवेशनपछि कांग्रेस ‘रनवेमा अड्किएको’ टिप्पणी गर्दै उनले पूर्ण महाधिवेशनबाट पार्टीलाई स्पष्ट राजनीतिक दिशा र गति दिनुपर्ने बताए ।
उनले पार्टी सभापतिलाई बलियो बनाउनु भनेको व्यक्तिगत रूपमा साथ दिनु मात्र नभएको बताए । सही नीति निर्माणमा सहयोग गर्ने, त्यसलाई संगठनमा स्थापित गर्ने र कार्यकर्ता तथा जनतासम्म प्रभावकारी रूपमा पुर्याउने पदाधिकारी आवश्यक रहेको उनको भनाइ छ ।
तिवारीले यसपटक ठूलो संख्यामा नयाँ र युवा महाधिवेशन प्रतिनिधि आएको उल्लेख गर्दै त्यसको प्रतिबिम्ब पार्टीको केन्द्रीय नेतृत्वमा पनि देखिनुपर्ने बताए ।
उनले करिब ७० देखि ७२ प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आएको र त्यसमध्ये बहुसंख्यक ४५ वर्षमुनिका रहेको दाबी गरे । बदलिएको जनसांख्यिक संरचनाअनुसार पार्टीको पदाधिकारी तहमा पनि युवा पुस्ताको आवाज र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।
वरिष्ठ नेताको अनुभवलाई सम्मान गर्दै युवा पुस्तालाई समेत नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने उनले बताए । आफूले महामन्त्री पदलाई पार्टी रूपान्तरणको एउटा माध्यमका रूपमा लिएको तिवारीको भनाइ छ ।
उनले बीपी कोइरालाको राजनीतिक अभ्यासको चर्चा गर्दै नेतृत्वले आफ्ना नीति तथा कार्यक्रम स्पष्ट रूपमा अघि सारेर कार्यान्वयनमा लैजानुपर्ने बताए । कांग्रेसका प्रतिनिधि र कार्यकर्तामा देखिएको असन्तुष्टि तथा बेचैनीलाई राजनीतिक एजेन्डा र स्पष्ट गन्तव्य दिन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
तिवारीले महामन्त्री पदको उम्मेदवारीबाट पछि नहट्ने पनि स्पष्ट पारेका छन् ।