
काठमाडौं : काठमाडौं आठ वर्षपछि बर्ड फ्लु संक्रमणको ‘हटस्पट’ बनेको छ । पशुसेवा विभागका अनुसार चैत ४ गते मोरङको सुन्दरहरैंचा र उर्लाबारीमा बर्ड फ्लु देखापरेकोे थियो । हाल ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा संक्रमणको दर उच्च रहेको विभागले जनाएको छ ।
सुनसरीका १२ स्थानमा, मोरङका सात, झापामा दुई, चितवनमा एक, र काठमाडौंलगायत देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु फैलिएको विभागले जनाएको छ ।
यो नेपालमा २०७५ साल यताकै संक्रमण दर उच्च हो । २०७५ साल चैत १५ गते बर्ड फ्लु संक्रमणकै कारण एक २४ वर्षीया युवकको मृत्यु भएको थियो । तर, त्यसयता, अहिलेसम्म एच फाइभ एन वान भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भने भएको छैन । आठ वर्षपछि पूर्वी नेपालबाट मध्य नेपालसम्म बर्ड फ्लु फैलिएको छ ।
पशुसेवा विभागका महानिर्देशक डा.उमेश दाहाल काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा पालिएका पन्छीमा भने संक्रमण देखिने क्रम अझै बढिरहेको बताउँछन् । उनका अनुसार हाल काठमाडौं, भक्तपुर र ललितपुरमा जोखिम उच्च छ । बर्ड फ्लुको संक्रमण फैलिन नदिनका लागि संक्रमित जिल्लामा पशुपन्छी ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । उनका अनुसार हालसम्म संक्रमित क्षेत्रका पाँच लाख ६९ हजार ८५८ पन्छी मारिएका छन् ।
त्यस्तै, रोग फैलाउन सक्ने नौ लाख ८९ हजार ३१३ वटा अन्डा र एक लाख ९५ हजार ४८५ किलो दानासमेत सुरक्षित रूपमा नष्ट गरिएको विभागले जनाएको छ । विभागका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र अन्य राष्ट्रिय प्रयोगशालामार्फत रोगको शीघ्र निदान गरिँदै आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा भाइरसको ‘सिक्वेन्सिङ’ गर्ने कार्यसमेत अगाडि बढाइएको विभागका महानिर्देशक दाहालले बताए । संक्रमण विशेषगरी जंगली चराहरूको छेउछाउमा भएका र जैविक सुरक्षाका उपाय कमजोर कार्यान्वयन गरिएका फार्महरूमा फैलिएको पाइएको उनले बताए ।
पशुपन्छीमा बर्ड फ्लु पुष्टि भयो भने र बाँकी रहेकालाई सरकारले नष्ट गर्छ र तिनको परल मूल्यको ७५ प्रतिशत क्षतिपूर्ति दिने नियम रहेको नेपाल पोल्ट्री महासंघले जनाएको छ । सरकारले बर्ड फ्लु देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्दछ र सोबापत ७५ प्रतिशत क्षतिपूर्ति किसानलाई उपलब्ध गराउँदै आएको छ ।
के हो बर्ड फ्लु ?
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा.नवराज श्रेष्ठका अनुसार बर्ड फ्लु अर्थात् ‘एभियन इन्फ्लुएन्जा’ एउटा भाइरल संक्रमण हो, जसले मुख्य रूपमा पन्छीहरूलाई असर गर्छ । ‘विशेषगरी जंगली चराचुरुंगी, हाँस र पानीमा बस्ने पन्छीहरूमा यो भाइरस पाइन्छ,’ उनले भने, ‘ती पन्छीबाट घरेलु कुखुरा, हाँस वा फार्मका अन्य पन्छीमा संक्रमण फैलिन्छ ।’
बर्ड फ्लुबाट सबैभन्दा बढी जोखिममा कुखुरा फार्ममा काम गर्ने व्यक्तिहरू हुने गरेको उनले बताए । फार्ममा जैविक सुरक्षा प्रणाली कडाइका साथ लागू गरेमा फ्लुबाट बच्न सकिन्छ । खोरभित्र जाँदा अनिवार्य मास्क, ग्लोभ्स, बुट र एप्रोन प्रयोग गर्न सुझाव दिन्छन् । उनी भन्छन्, ‘एउटा फार्ममा प्रयोग गरिएको सामान अर्को फार्ममा लैजानुहुँदैन । खोर नियमित रूपमा निसंक्रमण गर्नुपर्छ ।’ यदि फार्ममा अचानक धेरै कुखुरा बिरामी परे वा मर्न थाले भने तुरुन्त पशु सेवा कार्यालयमा जानकारी दिन उनले अनुरोध गरे ।
‘संक्रमित कुखुरा, हाँस वा अन्य पन्छीको दिसा, ¥याल, प्वाँख वा शरीरबाट निस्किने तरल पदार्थमार्फत भाइरस फैलिन सक्छ,’ उनले भने, ‘विशेषगरी फार्ममा काम गर्ने, कुखुरा काट्ने, मरेका पन्छी व्यवस्थापन गर्ने वा संक्रमित खोर सफा गर्ने व्यक्तिमा जोखिम बढी हुन्छ ।’ अचानक धेरै कुखुरा मर्नु, दाना कम खानु, घाँटी सुन्निनु, सास फेर्न गाह्रो हुनु यसको मुख्य लक्षण हो ।
कुखुराको मासु र अण्डा खान मिल्छ ?
सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले बर्ड फ्लु लागेको कुखुरा खाँदैमा मानिसमा संक्रमण गराउँछ भन्ने भ्रम गलत भएको बताउँछन् । उनी भन्छन्, ‘यो भाइरस कम्तीमा ७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा निष्क्रिय हुन्छ । त्यसैले, मासु र अण्डा राम्ररी पकाएर खाइयो भने डराउनुपर्ने अवस्था हुँदैन, तर कुखुरा फ्रेस हुनुपर्छ ।’
मासुलाई राम्रोसँग पकाउँदा भाइरस बाँच्न नसक्ने उनले बताए । काँचो वा राम्रोसँग नपाकेको मासुमा भाइरसको जोखिम हुने भएकाले मासु छोएपछि राम्रोसँग साबुन पानीले हात धुन उनी सल्लाह दिन्छन् । बर्ड फ्लुको भाइरस शरीरमा प्रवेश गरेपछि श्वासप्रश्वास प्रणालीमा असर गर्छ । ‘सुरुमा ज्वरो, खोकी, घाँटी दुख्ने, शरीर दुख्ने र आँखा राता हुन्छ,’ उनले भने, ‘संक्रमण गम्भीर भएमा निमोनिया, सास फेर्न गाह्रो, फोक्सोमा गम्भीर संक्रमण, अक्सिजनको कमी, अंग फेल हुने र मृत्युसमेत हुन सक्छ ।’