२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

एक दशकदेखि न्याय कुरिरहेको अजित मिजारको शव

अन्तरजातीय विवाहको दुखद् अन्त्य, अदालतले न्याय नदिएपछि सडकमा परिवार 

Nada
भावना पाठक
२०८३ असार १२ गते १२:३५
Shares
एक दशकदेखि न्याय कुरिरहेको अजित मिजारको शव

काठमाडौँ : ‘छोरा कहाँ छ, झिकाउनुपर्‍यो’ यो बोलीले आज पनि हरिभक्त ढकाल (मिजार) लाई झस्काउँछ । उनकी श्रीमती कालीलाई तर्साउँछ । हरिभक्त र काली तिनै बुबा आमा हुन् जसले लाउँलाउँ–खाउँखाउँ भन्ने उमेरको छोरा गुमाए । 

ncell

त्यो दिनबाट सुरु भएको उनीहरूको दुख आज पनि उस्तै छ । अजित मिजार जो हरिभक्त र कालीका छोरा हुन् । कल्पना पराजुली नाम गरेकी एक किशोरीसँग उनको प्रेम हुन्छ । एक–अर्काबीचको अथाह प्रेममा जात तगारो बन्ने बुझेपछि उनीहरूले २०७३ असार २५ गते विवाह गर्छन् । विवाह गरेको चार दिनमै उनीहरूको प्रेम दुर्घटनामा पर्छ । असार २९ गते धादिङको परेवाटारमा अजितको शव भेटिन्छ । 

२०७३ असार २६ गते बिहान स्थानीय रमेशप्रसाद काफ्ले भोजबहादुर पराजुलीलाई लिएर हरिभक्तको घरमा पुगेको दिन उनी आज पनि सम्झिन्छन् । उनै काफ्लेले ‘छोरो झिका’ भनेको सुन्दा हरिभक्त सुरुमा झस्किएका थिए । ‘म त अलमल परे नि, एक्कासी छोरो झिका भन्छन् । सोधी–खोजी गर्दा त पराजुलीको छोरीसँग छोराले विवाह गरेको र छोरी खोज्दै उहाँहरू आउनुभएको रहेछ’, हरिभक्तले भने । 

असार २६ गते घरमा आएर थर्काएर फर्किएका केटीका बुबा भोजबहादुरसँग असार २७ गते पाँचखाल प्रहरी चौकीमा भेट्ने कुरा भयो । भोजबहादुरलाई चौकीमा भेटेर कुरा मिलाउने भन्दा पनि छोरी फिर्ता लाने बहाना चाहिएको हरिभक्त बताउँछन् । उनै स्थानीय रमेशको नम्बरमा भोजबहादुरले २६ गते राती फोन गरे, छोरीसँग कुरा गर्न चाहेको बताएपछि रमेशले हरिभक्तको घर पुगेर भोजबहादुर र कल्पनाको कुरा गराइदिए । भोजबहादुर छोरीलाई घर फर्कन आग्रह गर्थे तर कल्पना अजितलाई छोडेर जान चाहन्न थिइन् । 

सबैको दबाबमा अजित र कल्पनालाई पाँचखाल चौकी पुर्‍याइयो । उमेर नपुगी विवाह गरेको भन्दै माइती पक्षको दबाबमा प्रहरीले त्यही दिन उनीहरूलाई अलग गरायो । त्योदिन कल्पनाकी दिदी सम्झनाले भनेकी थिइन्, ‘जति पैसा खर्च गरेर पनि अजितलाई माटोमाथि हिँड्न दिन्नँ ।’ प्रहरी चौकीबाट घर आएपछि अजित र उनको परिवारलाई अपरिचित व्यक्तिहरूबाट धम्की आउन थाल्यो । ‘नयाँ – नयाँ नम्बरबाट फोन आउँने धम्की दिने हुँदा पनि अजितले कल्पनालाई छोड्न सक्ने आँट गरेन ’ अजितकी आमा भन्छिन् । असार २९ गते कल्पना र अजितले भेट्ने कुरा गरेको परिवार बताउँछ । 

कल्पनाले ‘म २९ गते जसरी भए पनि यहाँबाट भागेर आउँछु’ भनेका कारण अजित मोबाइल घरमै छाडेर बाहिर निस्किएका थिए । त्यसपछि अजित बेपत्ता भए । वेपत्तापछि उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । 

छोरो झुन्डिएको कुरा आमा कालीले तामाघाटको बजारमा थाहा पाएकी थिइन् । छोरो हराएपछि हाल बुझ्न बजार पुगेकी उनलाई मासुपसलका एक जना दाइले धादिङमा एक जना झुण्डिएको फोटो मोबाइलमा आएको छ, त्यही त होइन भनेको याद छ कालीलाई  । ‘त्यति टाढा जान मेरो छोरासँग पैसा नै थिएन, कहाँ जान्छ, ‘होइन’ भनेँ’ ,उनी भन्छिन्, ‘पछि झुण्डिएको फोटो देखाउनुभयो । जुत्ता, कपडाले चिन्यौँ, अजितै रहेछ ।’

छोराको शव फेला परेको थाहा पाएपछि परिवार काभ्रेबाट धादिङ पुगेको थियो । त्यहाँ पुग्दा प्रहरीले अजितको शव गाडिसकेको बतायो । ‘एक हप्तासम्म त पोस्टमार्टम गर्न पनि कुर्नुपर्छ,’ हरिभक्त भन्छन्, ‘प्रहरीले त त्यो पनि कुरेनछ, मैले छोरालाई गाडेको ठाउँबाट निकालेर त्रिवि शिक्षण अस्पताल ल्याएको हुँ, अहिले पनि छोराको शव त्यहीँ छ ।’ 

प्रहरीले आत्महत्याबाट अजितको मृत्यु भएको बतायो । छोराले झुन्डिएर आत्महत्या गरेको प्रहरीको रिपोर्टलाई उनी सत्य मान्न तयार छैनन् । युवती पक्षबाट ज्यान मार्ने धम्की पटकपटक आइरहने गरेकाले यसको छानबिन नभएसम्म छोराको लास नजलाउने उनीहरूको अडान छ । ‘हाम्रो दाहसंस्कार होला तर न्याय नपाएसम्म अजितको अन्तेष्टि हुँदैन’, हरिभक्तले भने । 

जातीय संरचनाले जकडिएको यो समाजसँग उनीहरूले त्यही दिनबाट लड्न सुरु गरे । जुन आज पर्यन्त जारी छ । अन्तरजातीय विवाहकै कारण ज्यान गुमाएका अजितको शव १० वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा न्याय कुरिरहेको छ । 

‘छोराको कल्पनासँग प्रेम थियो भन्ने थाहा थिएन, विवाह गरेपछि मात्रै थाहा भएको हो’ हरिभक्त भन्छन् ‘छोराले विवाह गरेपछि कल्पनाको माइती पक्षबाट आएको धम्कीले नै छोराको यो अवस्था भयो ।’ उनी छोराको हत्या नै भएको मान्छन् तर उनको यो विश्वास न्यायालयले मानेको छैन ।  

अजितको शव भेटिएपछि हरिभक्तले केटी पक्षविरुद्ध जाहेरी दिएका थिए । यो मुद्दा अहिले सर्वोच्च अदालत पुगेको छ । धादिङ जिल्ला अदालतले शव भेटिएको दुई वर्षपछि २०७५ जेठ २० गते हत्या आरोपितलाई सफाइ दिने फैसला गरेको थियो । उच्च अदालत पाटनले पनि जिल्ला अदालतकै फैसला सदर गरेको थियो । उच्च अदालतले २०७९ वैशाख १२ गते दोषीलाई उन्मुक्ति दिने गरी फैसला गरेपछि मुद्दा सर्वोच्च पुगेको बुवा हरिभक्त बताउँछन् ।

‘न्यायालयको त विश्वास छैन तर म प्रतिरोध गरिरहन्छु, यो लडाई अब मेरोमात्र रहेन, ६० लाख दलितहरूको हो’, ‘उनी भन्छन् अब मैले हार माने भने १० वर्षदेखि शिक्षण अस्पतालमा बरफ भएर बसेको छोराले के भन्ला ?’ अजितजस्ता थुप्रै छोराछोरीको लागी लड्न बाँकी रहेको उनी बताउँछन् । 

छोराले सपनामै आएर प्रश्न गरिहाल्यो भने पनि जवाफ दिने ठाउँ नदेखेपछि हरिभक्त विगत १३ दिनदेखि माइतीघर मण्डलामा छन् । ‘नियोजित रूपमा छोराको हत्या हुँदा पनि न्यायालयले देखेन, हाम्रा लागि कानुन नहुँदोरहेछ’, उनी भन्छन् ‘न्यायालयको भर परेर बस्दा त मेरो छोराले कहिले न्याय पाउने देखिदैन, म थाकेको छैन है भनेर देखाउन पनि माइतीघर आउनुपर्‍यो ।’ शान्त भएर बसियो भने छोराले के भन्ला ? छोराको प्रेमले के भन्ला ? छोराकै न्यायका लागी लड्ने तमाम साथहरूले के भन्लान् ? भनेर नै माइतीघर आएको उनले बताए । 

यो दश वर्षको दौरानमा उनले विभिन्न निकायबाट आश्वासन पाएका छन् । उनले प्रत्येक सरकारलाई छोराको न्यायको लागि गुहार मागेका छन् । उनले छोराको न्यायको लागि हात नजोडेको ठाउँ छैन । तर सानो आवाजले न्याय पाइदैन भनेर बुझ्न उनलाई लामो समय लाग्यो । माइतीघर यस्तो ठाउँ हो जहाँबाट चिच्यायो भने सिंहदरबार, सर्वोच्च र संसद भवन थर्किन्छ । उनी अब आवाज चर्को गराउन चाहन्छन् । छोराको न्यायको लागि उनले अन्तिम विकल्प सडक रोजेका छन् । 

ताजा खबर

सम्बन्धित खबर