– बिदुर दाहाल
सधैँ छिमेकी राम्रो स्कुल भएन, छोरा छोरी पढाउन कठिन भयो, नजिकैको सरकारी स्कुल पनि राम्रो छैन भन्ने गुनासो गर्नुहुन्छ । बच्चाले राम्रोसँग अंग्रेजी सिकेन केवल नेपाली मात्रै बोल्छ लगायतमा गुनासा उहाँका छन् । यसलाई हेर्दा प्रश्नहरु उठ्छन् : अभिभावकको बुझाई के हो ? बुझाई कति ठिक छ ? साना केटाकेटीले सिक्नु पर्ने के हो ? स्कुलहरुले के पढाए ? शिक्षकहरुले के सिकाए ? सिकाउनु पर्ने के थियो ? सरकारी विद्यालयमा सिकाईका लागि शिक्षक सक्षम छन् कि छैनन् ? के गुणस्तरीय शिक्षा निजी स्कुलको ठेक्का हो ? यिनै विषयको सेरोफेरोमा रहेर लेखमा प्राथमिक तथा आधारभूत तहमा पढ्ने बालवालिकाको सिकाई अभ्याससँग सम्बन्धित विषय उठान गर्ने कोशिस गरिएको छ ।
“केटाकेटीले केही नै जानेनन्, यिनीहरू सिक्दै सिक्दैनन्, विद्यार्थी उस्तै लद्दुु छन्” भनेर शिक्षकले भनेको सुनिन्छ । शिक्षकले जे–जस्ता गुनासा गरेका छन् त्यसका कारण खोजी गर्नु अनिवार्य छ । कहीँ न कहीँ वंशाणु गुणले सिकाईमा फरक पारेको हुन सक्छ तर वंशाणुगत गुणभन्दा वातावरणले नै सिकाईमा बढी प्रभाव पार्छ भन्ने भनाई मनोवैज्ञानिक विश्वास गर्दछन् । विद्यार्थी सिक्दै सिक्दैनन् वा सिकाउन जानिएन ? कसरी सिक्न खोज्दछन् ? शिक्षकले के पढाउने ? कसरी सिकाउने ? भन्ने कुराले समस्या सिर्जना गरेको पो हो की ? हामीले विगतमा कसरी सिक्यौं ? हामीलाई सिकाउने विधि के थियो ? हाम्रो सिकाईको उपलब्धी कस्तो छ ? यी विषयलाई समीक्षाको विषय बनाइनु पर्दछ ।
सबैलाई ज्ञात छ, सानो हुँदा हामीले कुटाइबाट बँच्न पाठ घोकियो । कक्षा कोठामा भाले बन्नु पर्ला, स्याल कराएर साथीहरूलाई मनोरञ्जन दिनुपर्ला वा कक्षामा पिरियडभर उभिनु पर्ला भनेर पढियो । हामी जसरी पढियो त्यो पढाई देखेर शिक्षक पनि दङ्ग हुनुहुन्थ्यो । सबै कण्ठ छ विद्यार्थीलाई भनेर तालिम प्राप्त शिक्षक नहुँदा भोगेको भोगाई रहेछ, त्यो । शिक्षकलाई पनि पढाउने÷सिकाउने भनेको दण्ड दिएर नै हो, नत्र विद्यार्थीहरु पढ्न मान्दैनन् भन्ने छाप बसेको छ । शिक्षक र अभिभावकका यी अतिवादी सोंचाइमा परिवर्तन अनिवार्य छ । केटाकेटी सिक्छन् तर, हामीले सिकाउन जानिएको छैन । हामीले विद्यार्थीको मनोविज्ञानअनुसार पाठ्यक्रमदेखि सिकाई गर्ने वातावरणको विकास गर्न सकेका छैनौं । अहिलेका सरकारी वा निजी विद्यालयलाई हेर्दा सबैमा अवस्था करिब–करिब उस्तै छ । अपवाद छोडेर बाहेक हेर्दा, हामी घोकन्ते शिक्षाको मात्रै विकास गराइरहेका छौं । विद्यार्थीहरुले व्यवहारिक शिक्षा पाउनै सकेका छैनन् । आज महँगो स्कुल छान्दैमा राम्रो हुने र सरकारी स्कुल हुँदैमा नराम्रो हुने अवस्था छैन ।
आजको पाठ्क्रम, सिकाई प्रणाली र वातावरण जे जस्तो छ त्यसले सही उत्पादन गर्छ भन्ने छैन । अर्कोकुरा, हामीसँग जेजस्ता शिक्षक छन् उनीहरु पढाउँछन् तर सिकाउँदैनन् । त्यसले गर्दा विद्यार्थीले न सीप सिक्छन्, न त लेखपढ नै । आज विद्यार्थीहरु व्यवहारीक पक्षमा निकै कमजोर छन् । वास्तवमा उनीहरुले व्यवहारिक पक्षको विषय केही पनि सिक्न पाउँदैनन् । उनीहरुले बरु फोहोरी कुरा बोल्न, झुट बोल्न, झुक्याउन, फट्याइँ गर्न सिकेका छन् । वर्तमान सिकाई प्रणालीमा यस्ता कमजोरी हुँदा नै सिकाई उद्देश्य बिमुख छ । शिक्षक तथा वर्तमान सिकाई प्रणालीमा निम्न कमजोरी हुँदा नै यस्तो भएको हो हुन सक्छ :
क) शिक्षकलाई बाल–मनोविज्ञानको जानकारी कम हुनु ।
ख) शिक्षकमा विद्यार्थी केही जान्दैनन् भन्ने भ्रम हुनु ।
ग) उपयुुक्त सिकाई वातावरण निर्माणमा ध्यान कम हुनु ।
घ) पाठ्यक्रमको उद्देश्य र पाठ्यक्रमको उद्देश्यबारे जान्ने कोशिश नहुनु ।
ङ) मूल जिम्मेवारी अध्यापन हो भन्ने कुरा बिर्सेर शिक्षकलाई अन्य कामको सधैँ हतारो रहनुु । (आज राजनीति, घरायासी काम, व्यापार–व्यवसाय मानौ उसको मूख्य जिम्मेवारी हो । गाउँमा राजनीतिक पार्टीको नेतृत्व प्रायः शिक्षकले गरेको देखिन्छ । अरु त अरु विश्वविद्यालय तहमा पनि शिक्षकहरुको लाजलाग्दो राजनीतिक सहभागिता छ ।)
च) शिक्षकले सिकाईका तौर तरिकाबारे खोज/अनुसन्धान नगर्नु ।
छ) शिक्षकले किताब पढाउनु; व्यवहारिक विषय नपढाउनु ।
ज) राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने प्रणाली विश्वसनीय नहुनु ।
झ) मुल्यांकन प्रणाली गलत हुनु ।
ट) शिक्षकलाई सिकाई प्रक्रियामा जिम्मेवार बनाउन नसक्नु ।
ण) विद्यालय प्रशासन निष्पक्ष, पारदर्शी र सबल नहुनु ।
साना केटाकेटीलाई पढाउने होइन; सिकाउनु पर्छ । सिकाई बाल केन्द्रित हुनुपर्छ । सिकाउँदै–गराउँदै, गराउँदै–सिकाउँदै गर्नुपर्नेमा त्यसो भएको छैन । जे जसरी सिकाउँदै/पढाउँदै छौं, त्यो बिलकुल गलत छ । अहिलेको सिकाई वस्तुसंगत र वैज्ञानिक छैन । साना केटाकेटीलाई राम–सिता को थिए ? रामको परिवारमा को–को थिए जस्ता कुरा किन घोकाइएको छ । जसको व्यवहारिक जीवनमा खासै अर्थ रहन्न । यस्ता प्रश्न परीक्षामा सोधेर फेल–पास र जान्ने/नजान्ने भन्ने परिपाटी नै गलत छ । साना केटाकेटीहरुलाई नचाउँदै, खेलाउँदै स्वतन्त्रतापूर्वक सिक्न दिनुपर्छ । केटाकेटीलाई प्रकृतिमा रम्न दिनुपर्छ । विद्यालयको चौ घेराभित्र सिकाएको÷घोकाएको मात्र ठिक हुन्छ; त्यो नै सिकाई हो भन्ने भ्रम हटाउनुुको विकल्प छैन ।
साना नानीलाई शुद्ध अङ्ग्रेजी र शुद्ध नेपाली बोल्न सक्ने, शुद्धसँग लेख्न सक्ने, पढ्न सक्ने र सुन्न सक्ने बनाए पुगेन ? अनि किन पाठ सक्नुपर्यो ? किन किताबका भारी बोकाउनु पर्यो ? किन पाठ घोकाउनु पर्यो । चाहिएको ज्ञान र सीप विकास गरे पुगेन र ? उनीहरुलाई गणित र विज्ञानका सामान्य कुरा सिकाउन बाँकी उसलाई अनुशासन, सरसफाइ, नाच–गान, चित्र कोर्न, समूहमा बोल्न सक्ने बनाऔं । सामाजिकिकरण/सामाजिक घुलमिलन सिकाउँ । केटाकेटीले गर्न हुने–नहुने काम सिकाऔं । नयाँ–नयाँ प्राविधिसँग परिचित गराऔं । आधारभूत तह सहजै उर्तिण हुने प्रणालीको विकास गरौं । यसको लागि विद्यालयको चौघेरा नै चाहिन्छ भन्ने पनि भएन । विद्यार्थीले घोकेन, लेखेन, पास भएन, पढेन भन्न परेन । सिकाईलाई जीवनसँग जोडौ, व्यवहारिकतासँग जोडौँ । समयले यो खालको प्रणाली चाहेको छ । अभिभावक, शिक्षक र व्यवस्थापन पक्ष पनि यसमा अभस्त हुन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies