
काठमाडौं : चाडबाडमा घर फर्किएर परिवारसँग रमाउने बेला मलेसियामा ज्यान गुमाएकी सन्ध्या तामाङको शव स्वदेश ल्याउन परिवारले सरकारसँग पहल गरिरहेको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ की सन्ध्याको मलेसियामा मृत्यु भएपछि उनका दाइ लक्की तामाङले शव नेपाल ल्याइदिन आग्रह गर्दै वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएका हुन् ।
लक्कीले सोमबार बोर्डमा निवेदन दिएका हुन् । उज्ज्वल भविष्यको खोजीमा २०७९ जेठ १६ गते कोशी इन्टरनेसनल म्यानपावरमार्फत श्रम स्वीकृति लिएर मलेसिया गएकी सन्ध्या त्यहाँको भ्यालेओ मलेसिया सिडिए एसडिएन बिएचडी कम्पनीमा कार्यरत थिइन् । उनको शव नेपाल पठाउन आवश्यक पहल गरिदिन आग्रह गर्दै परेको निवेदनका आधारमा बोर्डले भोलिपल्ट असोज २७ गते मलेसियास्थित नेपाली राजदूतावासलाई पत्र पठाएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीका क्रममा मलेसियामै मृत्यु भएकी नुवाकोटकी स्याङ मेन्दो तामाङको शव नेपाल ल्याउन उनका पति पासाङ लामाले पनि बोर्डको सचिवालयमा निवेदन दिएका छन् । २०७९ जेठ २६ गते श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकी स्याङ मेन्दोको मृत्यु भएको खबर परिवारले एक साताअघि पाएको थियो । परिवारले उनको अपहरणपछि हत्या भएको आशंका गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन र शव नेपाल ल्याउने व्यवस्था मिलाउन बोर्डसँग अनुरोध गरेको छ ।
परिवारको निवेदनपछि बोर्डले मलेसियास्थित नेपाली राजदूतावासलाई पत्राचार गरेको छ । घटनाको वास्तविकता पत्ता लगाउनुका साथै शव स्वदेश ल्याउने प्रक्रिया अघि बढाउन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको हो । तर, उपलब्ध कागजातमा शव नेपाल पठाउने प्रक्रिया हाल कुन अवस्थामा छ र कहिलेसम्म स्वदेश ल्याइनेछ भन्ने विवरण खुलाइएको छैन ।
वैदेशिक रोजगारीका क्रममा बिदेसिने हजारौं नेपाली युवायुवती परिवारको सुन्दर भविष्य निर्माण गर्ने सपना बोकेर घरबाट निस्कन्छन् । तर, कतिपयका सपना बीचमै अधुरा रहन्छन् । परिवारको आर्थिक अवस्था सुधार्ने र जीवन सहज बनाउने आशासहित विदेश पुगेका श्रमिकको मृत्यु हुँदा आफन्तले अन्तिम दर्शनसमेत गर्न नपाउने अवस्था सिर्जना हुन्छ ।
यस वर्षको बडादसैं घरआँगनमा भित्रिएको छ । बिदेसिएका आफन्त घर फर्किने क्रम जारी छ । तर, नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका ३८ जनाका परिवार भने आफन्तको शव स्वदेश आउने प्रतीक्षामा छन् । सन्ध्या र स्याङ मेन्दोजस्ता वैदेशिक रोजगारीका क्रममा असामयिक मृत्यु भएका श्रमिकका परिवारले पार्थिव शरीर स्वदेश ल्याउन वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिँदै कूटनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
दसैंजस्तो पारिवारिक मिलनको पर्वमा आफन्तको अन्तिम दर्शन गर्ने आशामा रहेका परिवारको ध्यान नेपाली राजदूतावास र सम्बन्धित सरकारी निकायको समन्वयमा केन्द्रित छ । विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउने प्रक्रिया लामो र झन्झटिलो हुने गरेको गुनासो पीडित परिवारले गर्दै आएका छन् । चाडबाडका बेला सरकारी कार्यालय बन्द हुँदा प्रक्रिया थप ढिलो हुन सक्ने चिन्तासमेत उनीहरूमा छ । त्यसैले शोकमा डुबेका परिवारलाई राहत दिन सम्बन्धित सरकारी निकायले कूटनीतिक पहल तीव्र पारेर शव यथाशीघ्र स्वदेश ल्याउनुपर्ने माग उठ्दै आएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका शाखा अधिकृत कमल आचार्य सम्बन्धित नेपाली राजदूतावासलाई कूटनीतिक माध्यमबाट शव यथाशीघ्र स्वदेश ल्याउन पहल गरिदिन अनुरोध गरिएको बताउँछन् । यससम्बन्धी पत्रको बोधार्थ आवश्यक सहयोग र जानकारीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागलाई समेत पठाइएको उनले जानकारी दिए ।
‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकको शव ल्याउने कानुनी प्रक्रिया सुरु भइसकेको भए पनि देशअनुसार केही समय लाग्ने गरेको छ,’ आचार्यले भने, ‘सम्बन्धित देशमा कानुनी प्रक्रिया पूरा गर्न केही समय लाग्छ ।’
वैदेशिक रोजगारीमा गएका श्रमिकको दैनिक तीनदेखि चार जनासम्मको शव नेपाल ल्याउने गरिएको उनले बताए । ‘दुबई, साउदी अरब, मलेसियालगायत कतारबाट श्रमिकको शव बढी आउने गरेको छ । यी देशमा वैदेशिक रोजगारीका लागि नेपालीहरू बढी जाने गर्छन् । संख्याका हिसाबले पनि यस्तो भएको हुन सक्छ,’ उनले भने ।
तीन महिनामा २९७ शव नेपाल ल्याइयो
शाखा अधिकृत आचार्यका अनुसार पछिल्लो तीन महिनामा २९७ जना श्रमिकको शव नेपाल ल्याइएको छ । तीमध्ये दुबईबाट ८९, मलेसियाबाट ७९ र साउदी अरबबाट ५२ जनाको शव ल्याइएको उनले बताए । बाँकी शव कतारलगायत अन्य देशबाट ल्याइएको हो ।
वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउने क्रम वार्षिक तथ्यांकमा पनि ठुलो देखिन्छ । आर्थिक वर्ष २०८२/८३ मा १ हजार ८४ जना, २०८१/८२ मा १ हजार ९२ जना र २०८०/८१ मा ९६८ जना श्रमिकको शव नेपाल ल्याइएको बोर्डको सचिवालयको तथ्यांक छ ।
सरकारले वैदेशिक रोजगारीका लागि १८४ देशमा श्रम स्वीकृति दिएको छ । तीमध्ये १११ देशमा विभिन्न म्यानपावर कम्पनीमार्फत नेपाली श्रमिक पठाउने गरिएको छ । ठुलो संख्यामा नेपाली विदेशमा कार्यरत रहेकाले उनीहरूको मृत्यु हुँदा शव स्वदेश ल्याउने प्रक्रिया सहज, छिटो र प्रभावकारी बनाउनु सम्बन्धित निकायका लागि चुनौती बनेको छ ।
दसैंमा घर फर्किने आफन्तको स्वागतको तयारी भइरहँदा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवार भने अन्तिम बिदाइका लागि पार्थिव शरीर आउने प्रतीक्षामा छन् । यस्तो अवस्थामा सम्बन्धित देशको कानुनी प्रक्रिया पूरा गर्दै कूटनीतिक समन्वयलाई प्रभावकारी बनाउनु र पीडित परिवारलाई प्रक्रियाबारे नियमित जानकारी दिनु आवश्यक देखिन्छ ।