२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पूरा भएन वाचा

Nada
सपना बोहरा
२०८३ असार २६ गते ०६:३०
Shares
पूरा भएन वाचा

काठमाडौं : झापाका यमबहादुर विष्टले २०७६ साल पुस महिनामा पुख्र्यौली सम्पत्ति बिक्री गरे । सम्पत्ति बिक्री गरेबापतको ११ करोड रुपैयाँ उनले कुमारीपाटीमा रहेको गुडविल सहकारी संस्थामा जम्मा गरे । पैसा केही समय जम्मा गरेर काठमाडौंको सूर्य विनायक नगरपालिकामा जग्गा किन्ने योजनामा थिए । त्यहाँ जग्गा पनि हेरिसकेका थिए । जग्गा किन्नको लागि आफनो बचत रकम फिर्ता माग्नेक्रममा उनलाई सहकारीले पटक–पटक झुक्यायो । चैत महिनामा उनले सहकारीबाट ठगिएको चाल पाए । जब उनी सहकारीबाट ठगिए । परिवारसमेत उनीसँग रिसाउन थाले । त्यसयता श्रीमती र छोरा–बुहारीसँग उनको सम्बन्ध चिसिएको छ । ‘सहकारीले बचत ठग्ला भनेर जम्मा गरेको थिएन,’ विष्टले भने, ‘राम्रो सहकारी होला भनेर विश्वासले बचत गरेको थिएँ ।’ एउटा जग्गा बेचेर अर्को जग्गा जोड्नका लागि उनले सबै पैसा सहकारीमा जम्मा गरेका थिए । पैसा डुबेपछि उनी र उनको परिवारसमेत डेरामा बस्न थाले । उनी भन्छन्, ‘सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ अहिले कारागार चलान भएका छन्, उनलाई भेटेर कतिपटक रकम फिर्ताका लागि गुहारेको छु, तर फिर्ता हुँदैन ।’ अहिले उनी बिरामी हुँदा उपचार गर्नेसमेत पैसा छैन । ‘सरकार पैसा फिर्ता गर्छौं भन्छ, तर म ७४को हुन थालिसकेँ, जीवित हुँदै पैसा फिर्ता पाए, दानदक्षिणा, उपचार गर्न त पाउने थिएँ,’ उनले भने, ‘त्यही पैसाका कारण पारिवारिक सम्बन्ध बिग्रिएको छ । पानी बाराबार नै भने पनि हुन्छ ।’ बचत फिर्ताको माग गर्दै उनी कहिले माइतीघर मण्डला त कहिले सिंहदरबार धाउँछन् । सरकारले पैसा फिर्ता गर्छौं भनेर आश्वासन दिएर पठाउने गरेको उनी बताउँछन् । सरकारको आश्वासन र वाचाबाहेक उनले तनाव मात्रै पाएका छन् । 

ncell

चार वर्षअघि सहकारीपीडित पुरुषोत्तम कार्कीले किराना पसलबाट कमाएको पैसाबाट थोरैथोरै रकम देउराली सहकारी संस्थामा जम्मा गरे । त्यसको केही महिना त सहकारीले चाहिएका बेला रकम निकाल्न दियो । कार्कीले किराना पसललाई लगानी बढाएर ठुलो व्यवसाय गर्ने योजना बनाए । उनले दैनिक रूपमा रकम बचत गर्न थाले । ‘दैनिक बचत गर्ने क्रममा ४ लाख रुपैयाँ बचत भएको थियो । चाहिएर झिक्न खोज्दा सहकारीले फिर्ता दिएन,’ उनी भन्छन् । बचत गरेको रकम सहकारीमा डुबेपछि उनलाई व्यवसाय उकास्न नै गाह्रो भएको छ । उनी भन्छन्, ‘ऋण गर्दै कारोबार मिलाउनुपरेको छ । आउने पैसा छ भनेर व्यवसाय गरिएको हुन्छ, त्यो डुबेपछि निकै गाह्रो भएको छ ।’ अहिले उनलाई व्यवसाय गर्ने कि रकम फिर्ता माग्नका लागि सिंहदरबार धाउने भन्ने तनाव छ । कैयौं पीडितको त उपचार गर्ने पैसासमेत नभएर मृत्युसमेत भएको कार्की बताउँछन् । विष्ट र कार्की मात्र होइन, सहकारीमा बचत गरेको रकम फिर्ता हजारौं बचतकर्ता तनावमा छन् ।  

थोरै–थोरै पुँजी सहकारीमा जम्मा गरेर ठुलो सपना सजाएका बचतकर्ताहरूको बचत फिर्ता पाउन संघर्ष गरिरहेका छन् । दैनिक ज्यालादारी गरेर रहर मारेर आफ्ना बालबच्चाको उच्च शिक्षाका लागि र घरनिर्माण, व्यवसाय गर्नको लागि बचत गरिएको पैसा नै फिर्ता नपाएपछि सडकदेखि सदनसम्म धाउनुपरेको छ । सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग राखेर उनीहरू आन्दोलनमा उत्रिँदै आएका छन् । बनेपामा रहेको पशुपति सहकारीमा राजकुमार ढकालले बचत गरेको लाखौं रुपैयाँ फिर्ता पाएका छैनन् । छोराछोरी पढाउनका लागि राखेको रकम फिर्ता नपाएको गुनासोसहित सरकारको ढोका चहारिहरेका छन् ।  

कति रकम भयो फिर्ता ? 

सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताको बचत खातामा फिर्ता गर्ने सरकारको वाचा थियो । एक सय दिन पुगिसक्यो, तर सरकारले जम्मा ४ करोड ४३ लाख ४८ हजार रुपैयाँबराबरको बचत फिर्ता गरेको छ । २३ समस्याग्रस्त सहकारीका ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । सरकारले चक्रीय राहत कोष स्थापना गरेर सरकारको तर्फबाट २५ र सञ्चालकबाट ३५ करोड गरी ६० करोड जम्मा गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । कुल बचत फिर्ताको ४५ अर्बभन्दा बढी रकम शोधभर्ना गर्न बाँकी छ ।  

समितिको पछिल्लो तथ्यांकअनुसार २३ वटा सहकारीका ६२ हजार ७६० जना बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ बचत फिर्ताको माग दाबी गरिसकेका छन् । अझै ६ अर्बबराबरको माग दाबी आउन बाँकी रहेको समितिको भनाइ छ । आर्थिक वर्ष ०७४÷७५ बाट समस्याग्रस्त सहकारीको व्यवस्थापन सुरु गरेको सो संस्थाले अहिलेसम्म जम्मा २.०९ प्रतिशत मात्रै बचत फिर्ता गर्न सफल भएको छ । समितिका अनुसार, ३२ हजार ३२५ सहकारीबाट १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएकोमा ९ खर्ब ५ अर्ब ४८ करोड रुपैयाँ कर्जा भएको छ । १ करोड १ लाख ६० हजार ९६३ सेयर सदस्य रहेको समितिले जनाएको छ ।

समितिले वैशाख १५ गतेदेखि असार १५ गतेसम्म १७५४ जना बचतकर्तालाई २ करोड ६३ लाख ९० हजार फिर्ता गरेको जनाएको छ । त्यस्तै, १४१ जना बचतकर्ताको १ करोड ७९ लाख ५७ हजार बचत मिलान, १५४ जना ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार ऋण असुली गरेको छ ।  वैशाख महिनामा ७७ ऋणीबाट ३ करोड ४० लाख ८ हजार ऋण रकम र ५९ बचतकर्ताको एक करोड ११ लाख ९७ हजार बचतमध्ये २९ लाख ९ हजार बचत मिलान गरी २ करोड ७ लाख ३७ हजार दाखिला भएको थियो । जेठ महिनामा ५३ ऋणीबाट एक करोड २७ लाख २७ हजार ऋण र ५३ बचतकर्ताको २३ लाख ८६ हजार बचतमध्ये १४ लाख ३५ हजार बचत मिलान गरी एक करोड २० लाख ४६ हजार दाखिला भएको छ । असारको १५ सम्म २४ ऋणीबाट २ करोड ३३ लाख १९ हजार ऋण र २९ बचतकर्ताको एक करोड ६४ लाख ३२ हजार बचतमध्ये एक करोड ३६ लाख १२ हजार बचत मिलान गरी ९४ लाख ९७ हजार दाखिला भएको तथ्यांक छ ।

दोस्रो चरणमा ज्येष्ठ नागरिक, प्राणघातक रोग लागेका व्यक्ति र एकल महिलालाई प्राथमिकता दिएर बचत फिर्ता गर्ने तयारी भइरहेको सदस्य सचिव रविन ढकालले जानकारी दिएका छन् । पीडितलाई कुल बचतको बढीमा आधा ५० प्रतिशतसम्म रकम फिर्ता दिइने र यसको सुरुवातमा बचतको बढीमा २५ हजार रुपैयाँ प्रदान गरिएको उनले बताए । ठुला ऋणी, सञ्चालक, व्यवस्थापक र जिम्मेवार कर्मचारीको पहिचान गरी उनीहरूलाई कालोसूचीमा समावेश गर्न कर्जा सूचना केन्द्रमा पत्राचार गर्ने भएको छ । साथै उनीहरूको राहदानी रोक्का गर्न र स्थानीय तहबाट प्रवाह हुने सेवा सुविधामा रोक लगाउन सम्बन्धित निकायमा पत्राचार कार्यलाई थप प्रभावकारी बनाइने भएको छ ।

२४९ सञ्चालकको नाम सार्वजनिक

सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम हिनामिना गर्ने २३ वटा समस्याग्रस्त सहकारीका २५९ सञ्चालकको पहिचान गरी सार्वजनिक गरेको छ । समितिका अनुसार तपाईं–हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका १२ जना सञ्चालक÷व्यवस्थापक रहेका छन् । त्यस्तै, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका ७, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्थाका १०, घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाका ७, आइडियल यमुुना हाम्रा बहुउद्देश्यीय सहकारी संस्थाका ११, तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका ७, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ८, लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका १०, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका ९, प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाका १९ जनाको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार, स्टयान्डर्ड बचत तथा ऋण सहकारी संस्थाका १८, प्रभु बचता तथा ऋण सहकारी संस्थाका १२, चार्टर्ड बचत तथा ऋण सहकारी संस्थाका १७, कान्तिपुर बचता तथा ऋण सहकारी संस्थाका १०, ओरेन्टल को–अपरेटिभका ६, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थाका ५, पशुपति बचत तथा ऋण सहकारी संस्थाका १६, सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका १०, गोर्खा बचत तथा ऋण सहकारी संस्थाका १२, स्टयान्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेडका ५, हाम्रो नयाँ कृषि सहकारी संस्थाका १०, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका ९, नेपाल सहकारी वित्तीय संस्थाका १९, जनाको नाम सार्वजनिक गरेको छ । व्यवस्थापक सञ्चालक र उनका नातेदारसमेतबाट बचतकर्ताको रकम असुली गर्ने सरकारले नीति लिएको छ । 

सम्बन्धित खबर