
काठमाडौं : आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । वीर अस्पतालका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार, नेपालीका ५५ प्रतिशत भाग जलेको थियो ।
बिहीबार राति अबेरसम्म गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालय सदस्यहरू अस्पतालमै थिए । उनीहरूले नेपालीलाई थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी गरेका थिए । तर, स्वास्थ्य अवस्था स्थिर नभएका कारण उनलाई स्थानान्तरण गर्न सम्भव नभएको बुढाथोकी बताउँछन् ।
सर्लाहीको गोडैता नगरपालिका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरे । प्रहरीका अनुसार, उनको अधिकांश शरीर जलिसकेको छ । सर्लाहीमा जलन उपचार गर्नका लागि अस्पताल नभएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याएर उपचार गर्न लागिएको छ । उनको स्थिति पनि नाजुक छ । २०७९ फागुन ३ गते ग्यास लिक हुँदा आगो लागेर नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद डा.चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भए । ८६ वर्षीया हरिकलाको उपचारको क्रममा मृत्यु भयो भने सांसद भण्डारीलाई थप उपचारका लागि एअर एम्बुलेन्सबाट भारत लैजानुपर्यो ।
गत वर्ष २४ भदौमा जेनजी प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा आगजनी गर्नेक्रममा उनकी प्राध्यापक पत्नी रविलक्ष्मी चित्रकार जलेर सख्त घाइते भइन् । कीर्तिपुर बर्न अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई एअर एम्बुलेन्सबाट नयाँ दिल्लीस्थित अपोलो अस्पताल लगियो । पटक–पटक शल्यक्रिया र लामो उपचारपछि उनी फर्किएकी छिन् ।
‘नेपालीको दुईवटै हात, छाती र अनुहार जलेको थियो,’ बुढाथोकीले उनको मृत्युको घोषणा गर्दै भने, ‘प्रयास गर्दागर्दै पनि जलनले शरीरका भित्री अंगमा समेत असर परिसकेकाले बचाउन सकिएन ।’ नेपालीको वीर अस्पतालको ‘बर्न आइसियू वार्ड’मा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको उपचारमा प्लास्टिक सर्जरी विभागका संयोजक डा.पीयूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा.अपार लामिछाने, क्रिटिकल केयरका डा.निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा.डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए ।
जबजब जलनका घटना चर्चामा आउँछन्, त्यतिबेला बर्न अस्पतालमा सुविधाअभावको विषय उठ्छ । तर, बर्न अस्पताललाई अत्याधुनिक एवं सुविधासम्पन्न बनाउनेतर्फ राज्यले ध्यान दिएको देखिँदैन । कीर्तिपुर अस्पतालका निर्देशक डा.किरणकिशोर नकर्मीका अनुसार ४० प्रतिशत जलन भयो भने एकदम जटिल उपचार हुन्छ । त्यस्ता बिरामीलाई बचाउन गाह्रो हुन्छ । उनी भन्छन्, ‘नेपालमा बर्न अस्पतालका लागि आधुनिक प्रविधिसँगै दक्ष जनशक्तिकै अभाव छ । जलनसम्बन्धी छुट्टै तालिमप्राप्त डाक्टर हुनुपर्छ ।’
जलनसम्बन्धी उपचार गर्नका लागि आवश्यक पर्ने उपकरणहरू पनि अत्यधिक महँगो पर्ने डा.नकर्मी बताउँछन् । ‘धेरै गम्भीर जलन भएका घाइतेको छाला धेरै नष्ट भएको हुन्छ,’ उनले भने, ‘नष्ट भएको छाला उसको आफ्नै शरीरको छाला राखेर जोड्नुपर्ने हुन्छ । कृत्रिम छाला प्रत्यारोपण एकदमै महँगो पर्न जान्छ ।’
जलन भएका बिरामीको सघन उपचार गर्नलाई चिकित्सकहरूलाई नै तालिम दिन जरुरी रहेको उनी बताउँछन् । जलन भइकेपछि अस्पताल जाँदा दिनुपर्ने प्राथमिक उपचारसमेत पाएका हुँदैनन् । त्यसले गर्दा पनि अस्पताल पुग्दा बिरामीको अवस्था जटिल भइसकेको हुन्छ । त्यसैले देशैभर तालिमप्राप्त चिकित्सक चाहिने उनी बताउँछन् । देशमा कम्तीमा पनि एउटा केन्द्रीय स्तरको सुविधासम्पन्न जलन उपचार अस्पताल हुनुपर्ने उल्लेख गर्दै उनी भन्छन्, ‘प्रादेशिक स्तरमा दोस्रो वा तेस्रो तहको उपचार केन्द्र हुनुपर्छ । प्राथमिक जलन उपचार केन्द्र सबै मान्छेले दुई घण्टाभित्रमा पाउनुपर्छ । त्यसका लागि दीर्घकालीन योजना हुनुपर्छ ।’
जलन उपचारमा सास्ती व्यहोरेका पूर्वसांसद भण्डारीले जलन केसमा धेरै ठुलो दर्द लुकेको बताउँछन् । उनी भन्छन्, ‘जलन केसबाट मैले जुन परिस्थिति भोग्नुपर्यो, जुन शारीरिक अवस्थामा पुग्नुपर्यो । त्यो अवस्था धेरै नेपालीले भोगिरहनुभएको छ ।’
नेपालमा जलन उपचारका लागि आवश्यक स्रोत–साधन, पूर्वाधार र विज्ञ चिकित्सकको पनि अभाव देखिएको उनी बताउँछन् । उनले नेपालमा जलन उपचारका लागि अस्पताल भए पनि गम्भीर अवस्थाका बिरामीलाई आवश्यक पर्ने सुविधा पर्याप्त नभएको बताए । ‘नेपालमा जलन अस्पताल नै छैनन्,’ उनले भने, ‘अन्य अस्पताललाई जलन अस्पतालका रूपमा चलाइएको छ, त्यो पर्याप्त होइन ।’ देशमा छुट्टै अत्याधुनिक जलन अस्पताल आवश्यक रहेको उनी बताउँछन् । त्यसका लागि छुट्टै चिकित्सक पनि व्यवस्थापन गर्नुपर्नेछ । सञ्चालन गरिएका जलन अस्पतालमा जलन भएका व्यक्तिलाई राख्नका लागि आवश्यक आइसियूको व्यवस्था नभएको उनले बताए ।
‘जलन उपचारका लागि आवश्यक मेसिन, प्रविधि र अस्पतालको राम्रो व्यवस्थापन नेपालमै भएको भए बिरामीलाई विदेश लैजानुपर्ने अवस्था हुने थिएन, म स्वयं जानुपर्ने बाध्यता थिएन,’ भण्डारीले भने । विदेश लगेर महँगो उपचार गर्नुपर्ने हुँदा सामान्य नागरिकले खर्च व्यहोर्न नसक्ने उनी बताउँछन् ।
बिरामीले प्राथमिक उपचार नै पाउँदैनन्
डा.बुढाथोकीका अनुसार, अधिकांश व्यक्ति जलन भएपछि प्राथमिक उपचार कसरी गर्ने भन्नेमै अन्योलमा पर्छन् । ‘नजिकको दूरीमा नै स्वास्थ्य संस्था हुन्छ भन्ने छैन, जलन भएको अवस्थामा प्राथमिक उपचार कसरी गर्ने भन्नेबारे ज्ञान हुनुपर्छ,’ उनी भन्छन् ।
जलन भएका बिरामीलाई प्राथमिक उपचार गरेर नजिकको अस्पतालमा लैजान उनी सुझाव दिन्छन् । ‘सामान्य प्राथमिक उपचार अति सामान्य छ, जसले पनि गर्न सक्छ,’ उनले भने, ‘त्यो उपचार धेरैजसो बिरामीले पाएका नै हुँदैनन् ।’ जलनको उपचार भइरहेको अस्पतालमा नलगेर अन्य अस्पतालमा लग्दा बिरामीको अवस्था झनै बिग्रने बुढाथोकीले बताए ।
‘जलन भयो भने घाउ चिस्याउनुपर्छ, जसलाई आधा घण्टासम्म बगिरहेको पानीमा राख्नुपर्छ जसले घाउ गहिरो हुन पाउँदैन,’ उनले भने, ‘यस्ता सामान्य कुरा विद्यालयमा पनि पढाउन जरुरी देखिन्छ ।’
जलन भएको बिरामीलाई जलवियोजन हुनसक्ने सम्भावना भएका कारण जीवनजल खुवाउन पनि उनको सुझाव छ । प्राथमिक उपचार दुई घण्टाभित्र पायो भने बिरामी ठिक हुने धेरै सम्भावना हुने डा.बुढाथोकीले बताए । सामान्य उपचारको अभावमा जलन भएका व्यक्तिहरूको अन्य अंगमा पनि असर पर्न सुरु हुने उनले बताए । ८० प्रतिशतभन्दा बढी जलन भएकालाई बचाउन मुस्किल हुने विश्व स्वास्थ्य संगठनले नै जनाएको छ ।
१४ संघीय अस्पतालमा जलन उपचार इकाइ
सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले देशभरका १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जानकारी दिएका छन् । त्यसका लागि ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम दिइएको उनी बताउँछन् । यस्तै, लक्षित वर्ग निःशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गरिएको छ । सुलभ फार्मेसी सेवा मापदण्ड २०८३ मार्फत विभिन्न कार्यक्रम अघि बढिरहेको उनले बताएका छन् ।
उपत्यकाका कीर्तिपुर, सुष्मा कोइराला मेमोरियल, त्रिवि शिक्षण (टिचिङ), पाटन र वीर अस्पतालमा जलनको उपचार भइरहेको छ । तर, कीर्तिपुर, वीर र सुष्मा कोइराला मेमोरियलमा मात्र आइसियू सेवा छ । अन्य अस्पतालले गम्भीर बिरामी भर्ना नै लिँदैनन् ।