
काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भयो । मुगु जिल्लाको सोरु गाउँपालिका–१का स्थायी बासिन्दा २५ वर्षीय नेपालीले बिहीबार आत्मदाहको प्रयास गरेका थिए । उनको वीर अस्पतालको ‘बर्न आइसियू’मा उपचारको क्रममा शुक्रबार दिउँसो निधन भएको हो ।
गणेशको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मण्डल काठमाडौंमा उपचाररत छन् । उनको अवस्था गम्भीर छ । यी दुई घटनाले राज्य सञ्चालकको पछिल्लो अवस्थालाई गिज्याएको छ ।
गणेश र विवेकको यो कदमले तीन वर्षअघि बानेश्वरस्थित संसद भवनअघि प्रेम आचार्यले गरेको आत्मदाहको झल्को दिएको छ । २०७९ साल माघ १० गते आचार्यले पेट्रोल छर्केर आत्मदाह गरेका थिए । संसद् भवनअगाडि आत्मदाह गरेका ३६ वर्षीय आचार्यले नेपालको आर्थिक प्रणाली, व्यापारिक सिन्डिकेट र सरकारी नीतिको विषयलाई उनले मृत्युको कारक बनाएका थिए । राज्यले भ्याट शून्य गर्नुपर्ने, उधारोमा सामान किन्न नपाउने व्यवस्था हुनुपर्ने, स्वास्थ्य र शिक्षा सहज हुनुपर्नेलगायत आधारभूत विषयमा २५ बुँदे माग राख्दै आएका आचार्यको माग राज्यले बेवास्ता गर्दा ज्यान गुमाउनुपर्यो ।
उनी दिउँसै संसद् भवनअघि जले, तर सरकारले नागरिकको समस्या बुझेर परिवर्तनको कुनै प्रयास गरेन । व्यवसाय गर्दागर्दै आफू आर्थिक रूपमा डुबेको र त्यसमा सरकारी नीतिहरू दोषी रहेको आचार्यले मृत्युपत्रमा भनेका थिए । ट्राभल एजेन्सीदेखि कृषि उद्योगसम्म चलाउने प्रयास गरेका आचार्यले ठुला व्यापारिक घरानाले उधारो सामान लगेर भुक्तानी नदिएको, राज्यले साना उद्यमीलाई संरक्षण नगरेको र बैंकको ब्याजले थिचिएको भन्दै पीडा पोखेका थिए ।
आचार्यको आत्मदाहपछि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वर्तमान प्रधानमन्त्री बालेनले लेखेका थिए, ‘यदि कोही आत्मदाह गर्न बाध्य हुन्छ भने त्यो राज्यको चरम असफलताको संकेत हो । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान्, तर सबैभन्दा ठुलो कारण राज्य हो । सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो ।’ तर अहिले उनै बालेन प्रधानमन्त्री बने पनि युवाहरू चरम निराशामा छन् र आत्महत्याको बाटो रोज्न विवश छन् ।
आचार्यको त्रासदीपूर्ण दुःखान्त घटनालाई बिर्सिनसक्दै गणेश नेपालीको मृत्युले राज्यको चरित्रबारे नै गम्भीर प्रश्न उठाएको छ । सर्लाहीका विवेक मण्डलको भने मानसिक अवस्था केही समयदेखि सन्तुलित नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र पौडेलले के–कति कारणले मण्डलले यस्तो कदम चाले भन्नेबारे थप अनुसन्धान गरिरहेको बताए । एमएस्सी गरेका विवेक एक वर्षदेखि बेरोजगार बस्नुपर्दा आर्थिक अभावले केही समयदेखि समस्यामा रहेको स्थानीयले बताएका छन् । एमएस्सी गरेको प्रमाणपत्र भएर पनि कुनै कामकाज नपाएर आर्थिक भावले मानसिक तनावमा रहेको गोडैता नगरपालिका–१०का वडाध्यक्ष वैद्यनाथ मण्डलले जानकारी दिए ।
तर, गणेशको घटना काठमाडौं महानगर प्रहरीले ‘ह्विल लक’ गरेको विषयमा नेपालीसँग चर्को विवाद भएको थियो । विवादका बीच नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । उनको शरीरमा ५५ प्रतिशत जलन भएको र भित्री भागसमेत जलेकाले उनलाई बचाउन नसकिएको वीर अस्पतालले जनाएको छ । घटना घट्नुअघि गणेश नेपाली र काठमाडौं महानगरपालिकाकी महिला नगर प्रहरीबीच मोटरसाइकल पार्किङको विषयलाई लिएर भनाभन भएको थियो ।
पठाओ (राइड सेयरिङ) गर्ने पल्सर मोटरसाइकल सडकको साइटमा रोकेर यात्रुको प्रतीक्षा केही क्षण रोकिएका गणेशको जीवन गुजारा गर्ने मोटरसाइकलमा नगर प्रहरीले लक लगाइदिएपछि उनी गलत बाटो रोज्न बाध्य भए । नगर प्रहरीले उनलाई नियम मिचेको भन्दै हप्काइरहँदा गणेशले अरूको मोटरसाइकलमा लक नलगाएर आफ्नोमा मात्रै किन लगाएको भन्दै प्रतिवाद गरेका थिए । त्यही रुखो व्यवहार र गरिखाने बाटो थुनिएको झोँकमा आवेशमा आएका गणेशले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकाले, शरीरमा छर्किए र आगो सल्काए । नेपालीले जरिवानाभन्दा आत्महत्या रोज्न बाध्य भए । उनले गत असार १३ गते पनि महानगर प्रहरीले जरिवाना गरेको प्रमाण सार्वजनिक गर्दै आफ्नो जीवन समाप्त गरे ।
सरकार फेरिए, समस्या उस्तै
पछिल्लो तीन वर्षमा चार सरकार फेरिए, कुर्सीमा बस्ने मानिसहरू फेरिए, तर जनताको पीडा फेरिएन । २०७९को निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार थियो । प्रचण्डको नेतृत्वको सरकारको समीकरण परिवर्तन गरेर नेकपा एमालेका केपी शर्मा ओली प्रधानमन्त्री बने, तर उनी प्रधानमन्त्री बनेको एक वर्षपछि गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण ओली सरकार ढल्यो ।
ओली सरकार ढेलेसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारले गराएको निर्वाचनमार्फत करिब दुईतिहाइ बहुमतसहितको रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार छ । सरकार र कुर्सी फेरिए पनि नागरिकको जीवनस्तर र समस्या उस्तै रहँदा युवाहरूले आफ्नै जीवन सिध्याउने बाटो रोजेका छन् ।
मुलुक परिवर्तन हुने र देशभित्रै गरिखान पाउने ठुलो अपेक्षा र आशाका साथ जनताले दुईतिहाइ मत दिएको बालेन सरकारले जनताकै जीवन कठिन हुने नीति अपनाएको आरोप खेप्दै आएको छ । नागरिकले आशा र विश्वास गरेको सरकारका पालामा समेत सामान्य नागरिकले पुरानै नियति भोग्नुपर्ने अवस्थाको निरन्तरता कायम छ ।
सदन–सडकमा आक्रोश
गणेश नेपाली मृत्यु प्रकरणलाई लिएर सडक–सदन तातेको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै नेताहरूले सरकारको आलोचना गरेका छन् भने विपक्षी दलहरूले सरकारप्रति चर्को असन्तुष्टि पोखेका छन् । नेकपा एमालेका सचेतक ऐन महरले नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’को संज्ञा दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा महरले संसद्मै सरकारविरुद्ध नाराबाजीसमेत गरे । सरकार जनतालाई बचाउनभन्दा मार्न उद्यत रहेको उनको आरोप छ । ‘राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँमा पुर्याएको छ,’ महरले भने, ‘सुकुम्वासी हुन् वा गणेश नेपाली, नागरिकलाई जबरजस्ती मृत्युको मुखमा धकेल्ने काम राज्यले गरिरहेको छ । यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशले आशा गरेको भनिएको सरकार आउँदा पनि समस्या उस्तै रहेको भन्दै प्रधानमन्त्रीलाई राज्य निरीह किन भइरहेको ? भनेर प्रश्न गरेको छ । सचेतक वासना थापाले नागरिकले आफ्ना समस्या सरकारलाई सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आएको हो ? भनेर प्रश्न गरिन् । ‘प्रधानमन्त्रीज्यू, के राज्य यति निरीह र असफल भइसकेको हो ? के आफ्ना कुरा सुनाउन नागरिकले आफ्नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था आएको हो ?’ उनले भनिन्, ‘यदि होइन भने यस्ता हृदयविदारक घटना पटक–पटक किन दोहोरिरहन्छन् । म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु– अब कालो चस्मा खोल्ने बेला आएको छ ।’
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले राज्यका निकायको नालायकीका कारण गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको आरोप लगाए । नेकपाका प्रवक्ता प्रकाश ज्वालाले भने, ‘राज्यका निकायको नालायकी र असंवेदनशील व्यवहारबाट गहिरो रूपमा दुःखित, निराश र आक्रोशित भई आत्मदाह गर्न बाध्य भएका हुन् ।’ राप्रपा श्रम संस्कृति पार्टीलगायत सबै राजनीतिक दलले गणेशको आत्मदाह प्रकरणलाई सदनमा उठाएका छन् । संसद्बाहिर सडकमा समेत सरकारको असंवेदनशीलताप्रति चर्को आवाज उठेको छ । सत्तापक्षकै थुप्रै सांसदले समेत यो घटनामा सरकारको आलोचना गर्दै घटनाको जिम्मेवारी लिन माग गरेका छन् । गणेश नेपाली मृत्यु प्रकरणका सन्दर्भमा सदन सडकदेखि डिजिटल माध्यममा सरकारको व्यापक विरोध भइरहेको छ ।
नगर प्रहरीको बलजफ्ती
काठमाडौं महानगर पालिकाले सवारी साधन तथा आवागमन व्यवस्थापनका नाममा व्यक्तिका सवारीसाधन बलजफ्ती उठाउने गरेको छ । उसो त काठमाडौंमा पार्किङको अभाव छ । पार्किङको समस्या झेलिरेहका सर्वसाधारण, निजी कम्पनीमा काम गर्ने श्रमिक तथा साना ठुला व्यावसायीले अन्य सवारीसाधन आवतजावतमा असर नगर्नेगरी सडककिनारमै निजी सवारी पार्किङ गर्ने गरेका छन् । मूल सडकलाई असर नगर्ने गरी पहेँलो घेराभन्दा बाहिर पार्किङ गरेका मोटरसाइकलसमेत महानगर प्रहरीले विनासूचना, लक गर्ने र उठाउने गरेको नागरिकको गुनासो छ । आमसर्वसाधारण हैरान भएको गुनासो गरे पनि सम्बन्धित निकायले त्यस्ता समस्यालाई कुनै प्रवाह गरेको छैन । महानगरले सचेतना गराउने, पटके चेतावनी दिने, सूचना दिएर सवारी धनीलाई उठाउन लगाउनेभन्दा पनि बढीभन्दा बढी जरिवाना गराएर राजस्व उठाउने काममा केन्द्रित देखिएको सडक तथा सवारी व्यवस्थापनका विज्ञहरू बताउँछन् ।
महानगर प्रहरी ऐन, २०८०मा नगर प्रहरी बलको सवारीसाधन तथा आवागमन व्यवस्थापनसम्बन्धी काम, कर्तव्य र अधिकारको दायरा कानुनी रूपमै प्रस्ट पारेको छ । सहरी सुव्यवस्था कायम गर्ने र सार्वजनिक ठाउँको उचित व्यवस्थापन गर्ने उद्देश्यका साथ महानगरपालिकाले ऐन जारी गरेको छ । जसमा नगर प्रहरीलाई सवारी पार्किङदेखि सडकका अवरोध हटाउनेसम्मका जिम्मेवारी दिएको छ । ऐनले सहरी सडकलाई खुला र सहज बनाउनका लागि सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी सडक वा फुटपाथमा राखिएका विभिन्न निर्माण सामग्री तथा अन्य अवरोध हटाउने अधिकारसमेत नगर प्रहरीमा निहित गरिएको छ । महानगर क्षेत्रभित्र सञ्चालन हुने सवारीसाधनबाट सिर्जना हुने वायु तथा ध्वनि प्रदूषण नियन्त्रण गर्ने कार्यमा सहजीकरण गर्ने जिम्मेवारी नगर प्रहरीलाई तोकिएको छ । नगर प्रहरीले सोही अधिकार प्रयोग गरेर काम गर्दा यस्तो घटना हुन पुगेको बताएको छ । सो ऐनले नागरिक अधिकारमाथि नै प्रहार भएको भन्दै राज्यले पार्किङको वैकल्पिक व्यवस्था गरिदिनुपर्ने माग राखेका छन् । नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन भएको छ । डिआइजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिले महानगर प्रहरीका तीनजनालाई आवश्यक अनुसन्धानमा तानेको छ ।
असंवेदनशील सरकार
सुकुम्वासी बस्तीमा डोजर चलाउँदा रविन तामाङ र इन्द्रबहादुर राईले आत्महत्या गरे । अर्का सुकुम्वासी भेषराज दर्जीको होल्डिङ सेन्टरमै ज्यान गयो । यी घटनामा बालेन सरकार जति संवेदनशील हुनुपर्ने हो त्यो भएन, सामान्य रूपमै लियो । प्रहरी हिरासत सिन्धुलीमा मृत्यु भएका कृष्ण विकको विषयमा पनि सरकारको संवेदनशीलता देखिएन । केही दलित सांसदहरू घटना भएको ठाउँमा गए र कराएर फर्किए । बिहीबार मात्रै रातोपुलबाट धोबीखोलामा हामफालेर एक महिलाको ज्यान गयो ।
बिहीबार र शुक्रबार काठमाडौं तथा सर्लाहीमा भएको आत्मदाहप्रयासको घटनाले सरकारको कार्यशैली र संवेदनशीलतामाथि प्रश्न उठाएको नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बताए । ‘यो सरकार नागरिकप्रति संवेदनशील छैन,’ उनले भने, ‘सुकुम्वासीमाथिको डोजर आतंक होस्, वा हिरासतमा मारिएका कृष्ण विक अथवा आत्मदाह गर्ने गणेश नेपाली र आत्मदाहको प्रयास गरेका उपचाररत विवेक मण्डल, यी घटना केवल प्रतिनिधि पात्र मात्रै हुन् ।’ यो सरकार नागरिकप्रति असंवेदनशील मात्रै नभई पूर्ण गैरजिम्मेवार रहेको उनले दाबी गरे ।
गृहमन्त्री सुधन गुरुङले भने गणेश नेपालीको घटनामा राजनीति नगर्न सांसदहरूलाई चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा गृहमन्त्रीले विपक्षी दलका सांसदहरूलाई यस्तो चेतावनी दिए । महानगर प्रहरी स्थानीय सरकारले चलाउने भएकाले उक्त घटनामा संघीय सरकारको दोष नरहेको उनको तर्क छ । गृहमन्त्री गुरुङको तर्कले सरकारको संवेदनशीलतामाथि थप प्रश्न उठेको आमटिप्पणी भइरहेको छ ।