२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

किसानले पाएनन् दुधको भुक्तानी

Nada
दिवाकर अधिकारी
२०८१ जेठ २७ गते ०६:५०
Shares
किसानले पाएनन् दुधको भुक्तानी

काठमाडौं : दुग्ध उत्पादक किसानहरुले भुक्तानी गर्न माग गर्दै कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहलाई ज्ञापनपत्र बुझाएका छन् । दुधको बक्यौता झन्डै ४ अर्ब रकम रहेको र यो रकम तुरुन्त भुक्तानी गर्न उनीहरुको माग छ ।

ncell

शनिवार विभिन्न १० वटा किसान र यससँग सम्बन्धित संघ–संस्थाले भुक्तानी माग गर्दै कृषि तथा पशुपंक्षी मन्त्री साहको ध्यानाकर्षण गरे । ज्ञापनपत्रमार्फत् दुध खरिद गरेको एक हप्ताभित्र किसानले भुक्तानी पाउने व्यवस्थाको सुनिश्चित गर्न माग गरिएको छ । नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दुध खरिद गरी मिल्क होलिडे सँधैका लागि अन्त गर्न र भारतबाट दुध आयात हुने अवस्थाको अन्त्य गर्न पनि माग गरिएको छ । 

करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुग्ध उत्पादन क्षेत्रमा संलग्न रहेको, यी मध्ये १८ लाख घर परिवारले दुधको घरायसी उपभोग तथा बिक्री दुवै गर्ने गरेको उनीहरुको भनाइ छ । करिब ५ लाख घर परिवार नियमित रूपमा दुग्ध उत्पादन र बिक्री वितरणमा संलग्न रहेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गरेका हुन् । 

लम्पी स्किन रोगको महामारीको ठुलो मारमा पशुपालक परेको पनि ज्ञापनपत्रमा छ । लम्पी स्किन रोगको महामारीको मारमा परेका पशुपालक किसान पुनः बिक्री गरेको दुग्धको बक्यौता रकमको भुक्तानी नपाउँदा ठुलो अन्यायमा परेको उनीहरुको भनाइ छ । 

ज्ञापनपत्रमा भनिएको छ, ‘दुध उत्पादक किसानको करिब ४ अर्ब बक्यौता रकम दुग्ध विकास संस्थान लगायत निजी डेरी उद्योगहरूले भुक्तानी गरेका छैनन् । यो भनेको किसानमाथि सरकारी तथा निजी दुवै क्षेत्रको गरिएको ज्यादती नै हो ।’ 

किसानहरुले उत्पादनको आधारमा दुधमा दिइँदै आएको अनुदान पुनः सञ्चालन गर्न माग गरेका छन् । सहुलियत कृषि ऋण र पशु बिमाको प्रिमियममा दिइने अनुदानको परिणाममुखी कार्यान्वयन गर्न पनि भनेका छन् । 

नेपाललाई खोरेत रोग मुक्त घोषणा गरी दुध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने, भारतबाट दुध आयात भइरहेको भन्ने विषयमा प्रभावकारी अनुगमन, छानबिन गरी आयात बन्द गर्नुपर्ने पनि उनीहरुको माग छ । 

पाउडर दुध उत्पादन गर्ने मिलहरू पूर्ण क्षमतामा सञ्चालन गरी उत्पादित कच्चा दुग्ध सबै खपत गर्नुपर्ने, नेपालमा सबै किसिमका दुग्ध पदार्थहरूको आन्तरिक खपत आन्तरिक उत्पादनबाटै गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने पनि उनीहरुको माग रहेको छ । 

ताजा खबर

सम्बन्धित खबर