
काठमाडौं : सामाजिक जागरण अभियान नेपालले मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीको मृत्यु घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै, वर्षायाममा किसानलाई आवश्यक मलखाद तत्काल उपलब्ध गराउन पनि आग्रह गरेको छ ।
संस्थाको केन्द्रीय सचिवालय बैठक गौशालास्थित माया चोक रेस्टुरेन्टमा संयोजक डा. राजन केसीको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकमा बोल्दै कृष्णहरि कोइरालाले त्रिपुरेश्वरमा नगर प्रहरीले गणेश नेपालीले चलाएको मोटरसाइकलमा ‘ह्विललक’ लगाएपछि उत्पन्न विवादका कारण उनले मानसिक तनाव सहन नसकी आत्मदाह गरेको देखिएको बताए । बैठकले दिवंगत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको जनाएको छ ।
सोही विषयमा धारणा राख्दै डा. सुशील पौडेलले यस्ता दुःखद घटना दोहोरिन नदिन मानसिक स्वास्थ्य, मनोपरामर्श र आत्मबल अभिवृद्धिमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । उनले नागरिकको आयआर्जन सुनिश्चित गर्न सके सामाजिक तथा मानसिक तनावका घटनामा समेत कमी आउने धारणा व्यक्त गरे ।
बैठकमा दोस्रो एजेन्डाका रूपमा किसानले भोगिरहेको मलखाद अभावबारे पनि छलफल गरिएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का पूर्व निर्देशक डा. नवीन प्रकाश पौडेलले वर्षायाममा कृषकलाई आवश्यक परिमाणमा मलखाद स्थानीय बजारमार्फत तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।
कृषक मधुसुदन पुडासैनीले रासायनिक युरिया मलको विकल्पका रूपमा कम्पोस्ट मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ठाकुरप्रसाद पोखरेलले मलखाद अभावका कारण असार महिनाको खेती प्रभावित हुँदा पनि किसानका समस्या सुन्ने निकाय प्रभावकारी रूपमा सक्रिय नरहेको गुनासो गरे ।
बैठकले डा. सुशील पौडेल र मधुसुदन पुडासैनीलाई संस्थाको सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । साथै, काठमाडौं जिल्ला संयोजकमा समाजसेवी विक्रम पौडेल, पोखरा महानगर संयोजकमा मोहन थापा तथा पर्सा जिल्ला संयोजकमा गोपी यादवलाई जिम्मेवारी प्रदान गरिएको जनाएको छ ।
बैठकको समापन गर्दै संयोजक डा. राजन केसीले समाजमा सकारात्मक चेतना र जिम्मेवार सामाजिक संस्कृतिको विकास नभएसम्म यस्ता दुःखद घटना दोहोरिने जोखिम रहने बताए । उनले भविष्यमा कुनै पनि नेपालीले गणेश नेपालीजस्तो नियति भोग्न नपरोस् भन्ने अपेक्षा व्यक्त गर्दै किसानको मलखाद समस्या तत्काल समाधान गर्न, सुस्ताका किसानमाथि हुने सीमा क्षेत्रमा देखिएका समस्याको समाधान गर्न तथा सुकुम्वासी समस्याको दीर्घकालीन निकास निकाल्न सरकारसँग माग गरे ।