२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

मुस्लिम विश्वविद्यालय स्थापना अभियानलाई तीव्र बनाइने

Nada
इसत्याक अहमद
२०८३ साउन ३ गते २०:३२
Shares
मुस्लिम विश्वविद्यालय स्थापना अभियानलाई तीव्र बनाइने

काठमाडौं : नेपाल मुस्लिम शैक्षिक प्रतिष्ठानको बोर्ड अफ ट्रस्टीको बैठक सोमबार बल्खुस्थित इस्लामिक कल्चर सेन्टरमा प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री मोहम्मद जाकिर हुसैनको अध्यक्षतामा सम्पन्न भएको छ ।

ncell

२०८१ मा स्थापना भएको नेपाल मुस्लिम शैक्षिक प्रतिष्ठान नेपालमा मुस्लिम विश्वविद्यालय स्थापना गर्ने उद्देश्यसहित क्रियाशील एक गैरसरकारी संस्था हो । आजको बैठक मुख्य रूपमा वर्तमान सरकारसमक्ष मुस्लिम विश्वविद्यालय स्थापना गर्न स्वीकृतिका लागि औपचारिक प्रस्ताव पेश गर्ने विषयमा केन्द्रित रहेको अध्यक्ष हुसैनले जानकारी दिए ।

बैठकमा विश्वविद्यालय स्थापना गर्न आवश्यक जग्गा व्यवस्थापनबारे विस्तृत छलफल भएको थियो । विश्वविद्यालय स्थापना गर्ने लक्ष्यअनुसार करिब ५० बिघा जग्गाको बन्दोबस्त गर्ने सम्भावनाबारे गहन समीक्षा गरिएको बैठकले जनाएको छ ।

अध्यक्ष हुसैनका अनुसार तीन स्थानीय तहका अध्यक्षहरूले विश्वविद्यालय स्थापनाका लागि कानूनी रूपमा उपलब्ध हुनसक्ने अवस्थामा ऐलानी वा पर्ती जग्गा उपलब्ध गराउन सकिने मौखिक प्रतिबद्धता जनाइसकेका छन् । उनले विगत डेढ वर्षदेखि अभियानले निरन्तर गति लिएको भए पनि चुनावी वातावरणका कारण केही समय सुस्त बनेको बताए ।

बैठकले अब अभियानलाई थप प्रभावकारी बनाउन सम्बन्धित पालिकाका अध्यक्षहरूसँग प्रतिष्ठानको प्रतिनिधिमण्डलले प्रत्यक्ष भेटघाट गर्ने तथा जग्गा उपलब्धतासम्बन्धी लिखित प्रतिबद्धता प्राप्त गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले मुस्लिम समुदायसहित सम्पूर्ण नेपाली समाजलाई गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विश्वविद्यालय स्थापना गर्ने दीर्घकालीन लक्ष्यका साथ आवश्यक तयारीलाई तीव्र बनाइने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर