२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

रौतहट प्रहरीको सक्रियता : एक वर्षमा झन्डै ६ करोड राजस्व संकलन, ६९४ जना पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन ३ गते २०:३४
Shares
रौतहट प्रहरीको सक्रियता : एक वर्षमा झन्डै ६ करोड राजस्व संकलन, ६९४ जना पक्राउ

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा अपराध नियन्त्रण, शान्ति सुरक्षा अमनचयन र भन्सार छली नियन्त्रणमा आक्रामक एवं उल्लेखनीय सफलता हासिल गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक  सिताराम रिजालले आयोजित एक विशेष पत्रकार सम्मेलन मार्फत गत आर्थिक वर्षको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो । 

ncell

१ हजार १२६ वर्ग किलोमिटर क्षेत्रफल र ८ लाख १३ हजार ५ सय ७३ जनसंख्या रहेको संवेदनशील सीमावर्ती जिल्ला रौतहटमा सीमित जनशक्तिका बाबजुद प्रहरीले शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेलेको तथ्यांकले देखाउँछ । जिल्लामा स्वीकृत ९०४ जनाको दरबन्दी रहे पनि हाल ७७० जना मात्र कार्यरत रहेका छन्, जसअनुसार जिल्लामा प्रति १ हजार ५६ जना नागरिक बराबर १ जना प्रहरी (१ : १०५६.५८) र प्रति १.४६ वर्ग किलोमिटरमा १ जना प्रहरी खटिएका छन्। उत्कृष्ट कार्य गर्ने १ सय ६२ जना प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको छ भने अनुशासन उल्लंघन गर्ने २८ जनालाई कारबाही र ८६ जनालाई विभिन्न विधामा तालिम प्रदान गरिएको एसपी रिजालले जनाए ।

गत आर्थिक वर्षमा रौतहटमा विभिन्न प्रकृतिका जम्मा १ हजार १ सय ५२ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ६ सय ८० वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने ४७२ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन्। अपराधमा संलग्न ६ सय ९४ जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

यसैगरी समाजका लागि घातक बनिरहेको लागुऔषध तर्फ ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट ८ सय ४७ केजी ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर र ४ हजार २६५ एम्पुल तथा १३ हजार ९ सय १६ ट्याब्लेट मनोदिपक (फर्मास्यूटिकल) पदार्थ बरामद गरिएको छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गरिएको अपरेसनका क्रममा प्रहरीले विभिन्न स्थानबाट ६ थान अवैध हातहतियार र १९ थान गोलीसहित ३ जनालाई पक्राउ गरेको छ । त्यस्तै वित्तीय अपराध तर्फ खोटा  नेपाली नोट सम्बन्धी ३ वटा मुद्दा दर्ता गरी ७ जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट १ लाख ३६ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट बरामद गरिएको छ ।

रौतहट प्रहरीले राजस्व चुहावट र सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा ठूलो सफलता हात पारेको छ । भन्सार छलीका सामग्रीसहित १८ जना मानिस र १ सय ५५ वटा सवारी साधन नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको छ । जसबाट लक्ष्य भन्दा ५.२४ प्रतिशतले वृद्धि भई कुल ५ करोड ९२ लाख ५५ हजार ७ सय २१ रुपैयाँ राजस्व संकलन भएको छ । यसका साथै श्रोत नखुलेको (हुण्डी÷अवैध) १३ लाख ६२ हजार २०० रुपैयाँ नगद सहित ४ जनालाई पक्राउ गरिएको छ ।

प्राकृतिक स्रोतको अवैध दोहन रोक्ने क्रममा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ३० वटा सवारी साधन र ३ जना मानिसलाई नियन्त्रणमा लिई २५ लाख ७३ हजार रुपैयाँ जरिवाना गराइएको छ । वन तस्करी विरुद्धको अभियानमा २२२ क्युबिक फिट अवैध काठ (अनुमानित मूल्य ५ लाख ९५ हजार २ सय २५ रुपैयाँ) बरामद गरी २ जना मानिस र ५ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।

अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरू पक्राउ गर्ने अभियानमा रौतहट प्रहरीले लक्ष्यभन्दा बढी (१००.६७ प्रतिशत) प्रगति हासिल गरेको छ । वर्षभरिमा ४ सय ४८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जसबाट ७६ वर्ष ११ महिना ११ दिन कैद भुक्तान गराउनुका साथै ६९ लाख ७१ हजार ८ सय ७४ रुपैयाँ जरिवाना असुल उपर गरिएको छ ।

गत आर्थिक वर्षमा जिल्लाभरि १ हजार ८८ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ५३ जनाले ज्यान गुमाएका छन् भने १ हजार ६ सय ९६ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २ सय ५५ वटा सवारी साधनलाई कारबाही गरी १ करोड १ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।

शान्ति सुरक्षा र अपराध नियन्त्रणका अतिरिक्त रौतहट प्रहरीले समुदायसँगको सम्बन्धलाई मजबुत बनाएको छ । वर्षभरिमा ९ सय ५४ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा २४ हजार ३७३ जना स्थानीय नागरिक सहभागी थिए ।

जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूबाट गत वर्ष कुल १ लाख ३३ हजार ७ सय ७४ जना सेवाग्राहीले प्रत्यक्ष सेवा लिएका छन् । सेवा लिनेहरूमा ५१ हजार ३ सय ५६ महिला, ८० हजार ९ सय ८२ पुरुष, ३ सय ५४ बालबालिका, १ हजार ५७ ज्येष्ठ नागरिक र २५ जना शारीरिक रूपमा अशक्त नागरिक रहेका छन् । यस्तै प्रहरीमा परेका ४ हजार ८ सय ५० वटा ठाडो उजुरीमध्ये ४ हजार ३ सय ८० वटा आपसी छलफल र कानुनी प्रक्रियाबाट फछ्र्यौट गरिएको र बाँकी ४ सय ७० वटा प्रक्रियामा रहेको प्रहरीले जनाए ।

सामाजिक विकृतिका रूपमा रहेको अवैध मदिरा नियन्त्रणतर्फ ५ वटा मदिरा भट्टी नष्ट गरी १ हजार ५ सय ४५ लिटर तयारी मदिरा र २ हजार लिटर कच्चा पदार्थ नष्ट गरिएको छ ।

प्रहरी उपरीक्षक रिजालले आगामी दिनमा पनि जिल्लाको शान्ति सुरक्षालाई अझ भरपर्दो बनाउन सीमावर्ती क्षेत्रमा हुने अपराध र तस्करी रोक्न तथा नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न जिल्ला प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर