२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

ज्येष्ठ नागरिकको जीवन सहज बनाऊ

Nada
२०८३ साउन ४ गते ०६:१०
Shares
ज्येष्ठ नागरिकको जीवन सहज बनाऊ

नेपालमा ज्येष्ठ नागरिकको संख्या निरन्तर बढिरहेको छ । अहिले देशमा ३३ लाखभन्दा बढी ज्येष्ठ नागरिक रहेकोमा झन्डै दुईतिहाइ काममा संलग्न पाइएको छ । त्यसमा पनि ७२ प्रतिशतभन्दा बढी त कृषि क्षेत्रमै सक्रिय छन् । सामान्यतः वृद्धावस्था आराम, सम्मान र सामाजिक सुरक्षाको समय मानिन्छ । जीवनभर परिवार, समाज र राष्ट्रका लागि योगदान दिएका नागरिकले उमेर ढल्किएपछि सुरक्षित र सहज जीवन बाँच्न पाउनुपर्छ । तर, नेपालमा धेरै ज्येष्ठ नागरिकका लागि वृद्धावस्था अझै पनि जीविकोपार्जनको संघर्ष बनेको छ । नियमित आम्दानीको स्रोत नहुँदा उनीहरू काम गर्न बाध्य छन् । 

ncell

सरकारले ७० वर्ष पुगेका नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । संविधानले पनि ज्येष्ठ नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवादेखि सामाजिक सुरक्षासम्मका केही कार्यक्रम पनि सञ्चालनमा छन् । तर, पछिल्लो तथ्यांकले ती व्यवस्था पर्याप्त नभएको देखाएको छ । यदि सामाजिक सुरक्षा प्रणाली प्रभावकारी हुन्थ्यो भने यति ठुलो संख्यामा ज्येष्ठ नागरिक आर्थिक बाध्यताका कारण काम गरिरहनुपर्ने अवस्था सायद आउने थिएन । कृषिजस्तो श्रम गर्नुपर्ने क्षेत्रमा ७२ प्रतिशत ज्येष्ठ नागरिक सक्रिय छन् । त्यसको एउटा कारण गाउँबाट युवा बिदेसिनु रहेको छ । जसका कारण खेतीपाती सम्हाल्ने जिम्मा वृद्ध बाबुआमामाथि परेको छ । यसले एकातिर कृषि प्रणाली धानिएको छ भने अर्कोतिर वृद्धावस्थामा पनि उनीहरूले भारी श्रम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

यसको अर्थ सबै ज्येष्ठ नागरिकलाई काम गर्नबाट रोक्नुपर्छ भन्ने होइन । धेरै ज्येष्ठ नागरिक सक्रिय रहन चाहन्छन् । उनीहरूको अनुभव, सीप र ज्ञान समाजका लागि अझै उपयोगी हुन्छ । तर, काम गर्ने वा नगर्ने निर्णय उनीहरूको इच्छा हुनुपर्छ, आर्थिक बाध्यता होइन । त्यसका लागि हाम्रोजस्तो लोककल्याणकारी राज्यव्यवस्थामा सम्मानजनक सामाजिक सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, समुदायमा आधारित हेरचाह, ज्येष्ठमैत्री सेवा र आयआर्जनका वैकल्पिक व्यवस्था राज्यको प्राथमिकतामा पर्नुपर्छ ।

ज्येष्ठ नागरिक बोझ होइनन् । उनीहरू समाज र राष्ट्रका लागि अनुभवका स्रोत हुन् । उनीहरूले जीवनभर गरेको योगदानको सम्मान गर्ने समय वृद्धावस्थामै आउँछ । त्यसैले राज्यको दायित्व भत्ता बाँडेर मात्र पूरा हुँदैन । उनीहरूलाई आर्थिक, सामाजिक र मानसिक रूपमा सुरक्षित वातावरण दिन सक्नुपर्छ । तथ्यांकले ज्येष्ठ नागरिकको मिहिनेत देखाएको छ । जीवनको उत्तरार्धमा पनि सक्रिय जीवन जिउने, श्रम गर्ने र आयआर्जन गर्नुले उनीहरू आश्रितभन्दा पनि स्वावलम्बी छन् भन्ने देखाउँछ । यो उमेर समूहको जीविकोपार्जन सहज, मर्यादित र सुरक्षित बनाउनु राज्यको दायित्व हुन आउँछ । त्यो नै सभ्य समाजको पहिचान हो ।

ताजा खबर

सम्बन्धित खबर