
पछिल्ला दशकमा नेपालको जनसंख्या संरचना बदलिँदा ज्येष्ठ नागरिकको संख्या बढिरहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ६० वर्ष वा सोभन्दा माथिको जनसंख्या कुल जनसंख्याको १०.२१ प्रतिशत पुगेको छ । एक दशकअघि यो संख्या ८.१३ प्रतिशत थियो । अर्थात् नेपाली समाजमा अब ज्येष्ठ नागरिकको संख्या तीव्र गतिमा बढिरहेको छ । यो परिवर्तनलाई उमेरको तथ्यांकका रूपमा मात्र बुझ्नु हुँदैन । ज्येष्ठ नागरिक बढेसँगै स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, पारिवारिक हेरचाह, रोजगारी, आवास र सार्वजनिक सेवामाथिको दबाब पनि बढ्छ । सरकारले नै ज्येष्ठ नागरिकको जनसंख्या राष्ट्रिय जनसंख्या वृद्धिदरभन्दा करिब साढे तीन गुणा तीव्र गतिमा बढिरहेको उल्लेख गरेको छ । यसले बढ्दो बुढ्यौली व्यवस्थापनका लागि राज्यले जिम्मेवार बन्नुपर्ने देखिन्छ ।
नेपालमा ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता महत्त्वपूर्ण आधार बनेको छ । तर भत्ता दिएर मात्र ज्येष्ठ नागरिकको सुरक्षा हुन सक्दैन । स्वास्थ्यमा सहज पहुँच, नियमित हेरचाह, सुरक्षित आवास, हिंसा तथा दुव्र्यवहारबाट संरक्षण र सामाजिक सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ । परिवारको संरचना बदलिँदै गएको र युवापुस्ता रोजगारीका लागि बाहिरिने क्रम बढिरहेको अवस्थामा सबै ज्येष्ठ नागरिकले परिवारबाट निरन्तर हेरचाह पाउने अवस्था पनि रहँदैन । त्यसैले राज्यले अब ज्येष्ठ नागरिकलाई ‘भत्ता’भन्दा धेरै गर्नुपर्ने अवस्था छ । स्वास्थ्य प्रणालीमा जेरियाट्रिक सेवा विस्तार गर्नुपर्छ । घरमै हेरचाह, सामुदायिक सेवा र दीर्घकालीन हेरचाहको व्यवस्था विकास गर्नुपर्छ । हिंसा, उपेक्षा र आर्थिक शोषणमा परेका ज्येष्ठ नागरिकका लागि स्थानीय तहसम्म प्रभावकारी संरक्षण र उजुरी संयन्त्र चाहिन्छ ।
सबैभन्दा पहिले तथ्यांक व्यवस्थित हुनुपर्छ । कति ज्येष्ठ नागरिक एक्लै बस्छन् ? केही महिनाअघि एक्लै बसेका वृद्धवृद्धाको शृंखलाबद्ध हत्या गरियो । त्यसले उनीहरू कति असुरक्षित छन् भन्ने देखाउँछ । कति अशक्त छन् ? कतिजनालाई नियमित हेरचाह आवश्यक छ र कति हिंसा वा उपेक्षामा छन् भन्ने विवरण राज्यसँग हुनुपर्छ । तथ्यांकबिना लक्षित नीति निर्माण र कार्यान्वयन सम्भव हुँदैन ।
जापानजस्ता देशले बुढ्यौलीलाई सामाजिक कल्याणको मात्र विषय नबनाई स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र दीर्घकालीन हेरचाहसँग जोडेर हेरेका छन् । नेपालले पनि त्यहाँका कार्यक्रम हुबहु नक्कल गर्नुभन्दा बुढ्यौलीको आर्थिक र सामाजिक प्रभावको पूर्वतयारीबाट सिक्नुपर्छ । अक्टोबर १ मा ज्येष्ठ नागरिक दिवस मनाइरहँदा सम्मानको औपचारिकताले पुग्ने देखिँदैन । ज्येष्ठ नागरिकको बढ्दो संख्या र व्यवस्थापन अब राज्यका लागि नयाँ चुनौती हुँदै छ । आजैबाट योजना बनाए मात्र भोलिको नेपाल सुरक्षित, सम्मानित र ज्येष्ठ नागरिकमैत्री बन्न सक्छ ।