
काठमाडौँ : नेपाल लेयर्स कुखुरापालक संघले साउन महिनाको सुरुआतसँगै दोस्रो पटक अन्डाको फार्म मूल्य बढाएको छ । चार दिनको अन्तरमा गरिएको मूल्य समायोजनपछि सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँसम्मले वृद्धि भएको छ ।
संघका अनुसार देशभरका अन्डा उत्पादक किसानको राय, सुझाव तथा सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो । यसअघि साउन १ गते बसेको बैठकले साउन २ देखि लागू हुने गरी मूल्य वृद्धि गरेको थियो । त्यसको चार दिनपछि पुनः साउन ५ गते बसेको बैठकले अर्को मूल्य समायोजन गर्दै साउन ६ देखि लागू हुने नयाँ दर सार्वजनिक गरेको छ ।
संशोधित मूल्य सूचीअनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ४६५ रुपैयाँबाट बढाएर ५१५ रुपैयाँ कायम गरिएको छ । ठुलो आकारको अन्डाको मूल्य ४५० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ भने मिडियम अन्डाको मूल्य ४२० रुपैयाँबाट ४७० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, सानो आकारको अन्डाको मूल्यमा प्रतिपेटी २०० रुपैयाँ वृद्धि गरी २ हजार ९ सय रुपैयाँ कायम गरिएको संघले जनाएको छ । नयाँ मूल्य समायोजनसँगै उपभोक्ताका लागि अन्डाको खुद्रा बिक्री मूल्य प्रतिगोटा २५ रुपैयाँ निर्धारण गरिएको छ ।
संघका सचिव मदन पोखरेलले उत्पादन लागतमा भएको वृद्धि र बजारको वर्तमान अवस्थालाई ध्यानमा राख्दै किसानको हित संरक्षणका उद्देश्यले समर्थन मूल्य पुनर्निर्धारण गरिएको बताएका छन् ।