
काठमाडौं : अरुणिमा शैक्षिक प्रतिष्ठानको आयोजनामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा कक्षा १२ को बोर्ड परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि बिदाइ एवं सम्मान समारोह आयोजना गरिएको छ ।
समारोहको उद्घाटन विज्ञान संकायका प्रमुख श्यामलाल घिसिङ तथा कक्षा १२ का विद्यार्थीद्वय रोसन सुनार र अर्पणा मोक्तानले संयुक्त रूपमा गरेका थिए ।
समारोहमा विज्ञान संकायतर्फ ३.८६ जीपीए ल्याई विद्यालय टपर बनेका छात्र आराध्य दाहाल र व्यवस्थापन संकायतर्फ ३.८१ जीपीए प्राप्त गरी उत्कृष्ट बनेकी छात्रा डोमा शेर्पालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै अरुणिमा माध्यमिक विद्यालयका संयोजक तथा अरुणिमा कलेजका क्याम्पस प्रमुख केशवप्रसाद जोशीले कक्षाकोठालाई विचारको प्रयोगशाला, पुस्तकलाई साथी र शिक्षकलाई मार्गदर्शक बनाउन नयाँ विद्यार्थीहरूलाई आग्रह गरे । उनले अध्ययनसँगै अनुशासन, सिर्जनशीलता र सकारात्मक सोचको विकासमा जोड दिनुपर्ने बताए ।
प्रतिष्ठानका कार्यकारी प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले वि.सं. २०४२ मा स्थापना भएको गैर–नाफामूलक प्रतिष्ठानले ‘सर्वाङ्गीण व्यक्तित्व विकासका लागि शिक्षा’ भन्ने मूल दर्शनका साथ निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले शैक्षिक उपलब्धिसँगै नैतिकता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको विकासमा पनि प्रतिष्ठानले विशेष ध्यान दिँदै आएको उल्लेख गरे ।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति र परम्परा झल्काउने करिब २० वटा विविध सांस्कृतिक नृत्य तथा गायन प्रस्तुति प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको थियो ।
प्रतिष्ठान सञ्चालक समितिका सदस्य तथा अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष शम्भुप्रसाद बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका गुठीयारहरू गोपाल बराल, सुभद्रा फुँयाल र अर्जुन शाक्य, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अरुणिमा शिक्षा सदनकी प्रधानाध्यापक शोभा खनाल, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममार्फत नयाँ विद्यार्थीलाई प्रतिष्ठान परिवारमा स्वागत गर्दै उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको सम्मान गरिएको आयोजकले जनाएको छ । साथै, कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूलाई बिदाइ गरिएको थियो ।