२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

अंग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली सम्मेलन गर्दै ब्रिटिस काउन्सिल

Nada
२०८३ साउन ५ गते २१:४४
Shares
अंग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली सम्मेलन गर्दै ब्रिटिस काउन्सिल

काठमाडौं : दक्षिण एसियाभरका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञलाई एकै मञ्चमा ल्याउँदै अंग्रेजी भाषा शिक्षणको भविष्य, सिर्जनशीलता, समावेशिता र प्रविधिको प्रभावकारी प्रयोगबारे छलफल गर्न ब्रिटिस काउन्सिलले ‘साउथ एसिया टिचिङ इङ्लिस अनलाइन कन्फ्रेन्स २०२६’आयोजना गर्ने भएको छ ।

ncell

२३ देखि २५ जुलाई २०२६ सम्म सञ्चालन हुने तीनदिने अनलाइन सम्मेलनमा सिर्जनशीलता, समावेशिता र प्रविधिमार्फत विद्यार्थीलाई बदलिँदो विश्व परिवेशमा कसरी सक्षम बनाउन सकिन्छ भन्ने विषयमा दक्षिण एसियाका विभिन्न देशमा शिक्षा क्षेत्रमा काम गरिरहेका अग्रणी व्यक्तित्वबीच विस्तृत संवाद हुनेछ । सम्मेलनमा इच्छुक सहभागीले निःशुल्क रूपमा सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ ।

काउन्सिलका अनुसार सम्मेलनमा दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञको सहभागितामा विद्यार्थीलाई विश्व परिवेशमा सफलतापूर्वक अघि बढ्न आवश्यक सिर्जनशीलता, प्रभावकारी सञ्चार सीप तथा अन्य आवश्यक क्षमताको विकासमा विद्यालयहरूको भूमिका सम्बन्धी महत्वपूर्ण विषयमा बहस हुनेछ ।

दक्षिण एसियाका शैक्षिक प्रणालीले पाठ्यक्रमका अपेक्षा, प्रभावकारी मूल्यांकनको महत्व तथा विद्यार्थीका बदलिँदा आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीको पृष्ठभूमिमा सम्मेलन आयोजना गरिएको हो । अझै पनि अंग्रेजी भाषा शैक्षिक, प्राज्ञिक तथा व्यावसायिक अवसरको महत्वपूर्ण माध्यम भए पनि शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरू भाषा सिकाइमा मात्र सीमित नभई आलोचनात्मक सोच, सहकार्य, विद्यार्थीको स्वःक्षमता (एजेन्सी),सहभागिता तथा सिकाइप्रतिको स्वामित्व विकास गर्ने शैक्षिक पद्धतिलाई प्राथमिकता दिनुपर्ने विषयमा केन्द्रित रहनेछन् । 

सम्मेलनमा बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका विज्ञहरूले सिर्जनशीलतालाई प्रभावकारी सिकाइको आधारका रूपमा कसरी प्रयोग गर्न सकिन्छ, बहुभाषिक कक्षाकोठालाई थप समावेशी कसरी बनाउन सकिन्छ, नवप्रवर्तनमुखी शिक्षण पद्धतिमार्फत विद्यार्थीको आवाजलाई कसरी सशक्त बनाउन सकिन्छ तथा कृत्रिम बुद्धिमत्ता (एआई) लाई मानव–केन्द्रित शिक्षण विधिको विकल्प नभई पूरकका रूपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अनुभव आदान–प्रदान गर्नेछन् ।

सम्मेलनका क्रममा मुख्य प्रस्तुति, प्रचलित अभ्यासमा आधारित छलफल तथा कक्षाकोठाका अनुभवसहितका सन्दर्भ सामग्री र असल अभ्यास प्रस्तुत गरिनेछन् । 

सहभागीहरूले दक्षिण एसियाका साझा शैक्षिक चुनौतीलाई स्थानीय सन्दर्भअनुसार कसरी समाधान गरिँदै आएको छ भन्नेबारे जानकारी पाउनेछन् । साथै कक्षाकोठामा सिकाइलाई थप प्रभावकारी बनाउने, विद्यार्थीको अर्थपूर्ण सहभागिता बढाउने तथा विविध पृष्ठभूमिका विद्यार्थीका लागि सिकाइका अवसर विस्तार गर्ने व्यवहारिक उपायबारे पनि छलफल हुनेछ ।

सम्मेलन आयोजनाका सन्दर्भमा ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले अहिलेको विश्व परिवेशमा विद्यार्थीका लागि प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकास अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि सिर्जनशीलताको महत्वपूर्ण भूमिका हुने बताए । 

उनले भने, ‘अहिले विश्व परिवेशमा विद्यार्थीले सफलता पाउनका लागि प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकास गर्नु आवश्यक हुन्छ, त्यसका लागि सिर्जनशीलताको महत्वपूर्ण भूमिका छ । यस सम्मेलनमार्फत हामीले व्यवहारिक पक्ष, अनुसन्धानमा आधारित दृष्टिकोण तथा कक्षाकोठामा कार्यान्वयन गर्न सकिने शैक्षिक अवधारणा र रणनीतिबारे यस क्षेत्रका शिक्षक तथा सरोकारवालालाई अवगत गराउने अवसर प्रदान गर्नेछौँ । व्यवसायिक वृत्ति विकासका लागि सम्मेलन आयोजना गर्न पाउँदा हामी उत्साहित छौँ र दक्षिण एसिया तथा विश्वका अन्य क्षेत्रका शिक्षाविद्लाई स्वागत गर्न आतुर छौँ ।’

सम्मेलनमा श्रीलंकाकी अञ्जु मोसेस, मिथिला वीरासिंघे र इमाल्का कुमारी विक्रमासिंघे, भारतका हुमा हसना रियाज अहमद, डा. अमोल पदवाद, निसार शेख र सुसाई रथिनम, नेपालका शोभा भट्टराई, आस्था कुमारी चौधरी र कृष्ण आर.सी., बंगलादेशका डा. एम.डी. मोस्ताफिजुर रहमान र डा. एम.डी. मोहिव उल्लाह, तथा पाकिस्तानकी रविया शफी र डा. फौजिया शमिम लगायतका विज्ञहरूले प्रस्तुति तथा अनुभव आदान–प्रदान गर्नेछन् । 

काउन्सिलका अनुसार सम्मेलनमा सहभागी हुन इच्छुक व्यक्तिले अनलाइनमार्फत निःशुल्क दर्ता गर्न सक्नेछन् । 

ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य (युके) को सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसर प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय संस्था हो । कला, संस्कृति, शिक्षा तथा अंग्रेजी भाषा सम्बन्धी कार्यक्रममार्फत विश्वभरका नागरिकबीच सम्बन्ध विस्तार, आपसी विश्वास र सहकार्य प्रवर्धन गर्दै आएको ब्रिटिस काउन्सिलले दुई सयभन्दा बढी देश तथा भू–भागका नागरिकसँग काम गर्दै एक सयभन्दा बढी देशमा कार्यालय सञ्चालन गरिरहेको जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर