२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

बुटवलमा शिक्षा सुधारबारे कार्यशाला, पाठ्यक्रम परिमार्जनलाई मदरसा संघकै नेतृत्वमा अघि बढाइने

Nada
इसत्याक अहमद
२०८३ साउन ६ गते १२:४१
Shares
बुटवलमा शिक्षा सुधारबारे कार्यशाला, पाठ्यक्रम परिमार्जनलाई मदरसा संघकै नेतृत्वमा अघि बढाइने

बुटवल : रुपन्देहीको बुटवलस्थित जामे सैयद सिद्दीक अहमद बाँदवी (रह.) मस्जिदमा दीनी शिक्षा प्रणालीलाई समयानुकूल बनाउने उद्देश्यले दीनी शिक्षा पाठ्यक्रम तथा शिक्षण–सिकाइ पद्धतिमा सुधारका विषयमा कार्यशाला सम्पन्न भएको छ । सोही अवसरमा जमीयत उलेमा नेपाल, रुपन्देही जिल्ला समितिको बैठकसमेत सम्पन्न भएको छ ।

ncell

शनिबार आयोजित कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका उलेमा, शिक्षाविद्, बुद्धिजीवी तथा धार्मिक संस्थाका जिम्मेवार व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । समाजसेवी तथा उलेमाप्रेमी हाजी इफ्तिखार अहमद (राजु भाइ) को पहलमा आयोजित कार्यक्रमको उद्घाटन मौलाना सबगतुल्लाहले पवित्र कुरआनको तिलावतबाट गरेका थिए ।

उद्घाटनपछि आयोजक हाजी इफ्तिखार अहमदले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । उनले बदलिँदो समयको आवश्यकता अनुरूप दीनी शिक्षालाई थप प्रभावकारी र व्यवस्थित बनाउन यस्ता छलफल तथा कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यशालामा सहभागीहरूले दीनी शिक्षाको मौलिकता, धार्मिक मूल्य र परम्परालाई सुरक्षित राख्दै आधुनिक आवश्यकता अनुरूप पाठ्यक्रम र शिक्षण–सिकाइ पद्धतिमा आवश्यक सुधार गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले गुणस्तरीय धार्मिक शिक्षा प्रदान गर्न समयसापेक्ष पाठ्यक्रम विकास अपरिहार्य रहेको धारणा राखेका थिए ।

जमीयत उलेमा नेपालका महासचिव मुफ्ती मोहम्मद शमीम अख्तर कासमी मक्कीले आफ्नो मन्तव्यमा जमीयत उलेमा नेपाल र मदरसा संघ नेपालको स्थापना उद्देश्य, सेवा, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराए । उनले दीनी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

त्यसैगरी मदरसा संघ नेपालका अध्यक्ष कारी मौलाना मोहम्मद हनीफ नदवीले दीनी शिक्षा पाठ्यक्रम सुधारका लागि संघले हालसम्म गरेका प्रयासबारे जानकारी दिए । उनका अनुसार मदरसा संघको टोलीले भक्तपुर (ठिमी) स्थित शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकाससम्बन्धी निकायसँग पटक–पटक छलफल गरेको छ भने सम्बन्धित अधिकारीहरूबाट आवश्यक सहयोग गर्ने आश्वासनसमेत प्राप्त भएको छ ।

कार्यशालाको निष्कर्षस्वरूप दीनी शिक्षा पाठ्यक्रम सुधारको अभियानलाई मदरसा संघ नेपालकै नेतृत्व र समन्वयमा अघि बढाउने सर्वसम्मत निर्णय गरिएको छ । साथै, आगामी दिनमा पनि यस्ता कार्यशाला, परामर्श बैठक तथा छलफललाई नियमित रूपमा सञ्चालन गर्दै सुधार अभियानलाई थप प्रभावकारी बनाउने सहमति भएको आयोजकले जनाएको छ ।

यसैबीच, जमीयत उलेमा नेपाल, रुपन्देही जिल्ला समितिको बैठकले जिल्लाभर सदस्यता अभियानलाई तीव्र बनाउने, संगठनलाई थप सुदृढ गर्ने तथा पदाधिकारीहरूको सक्रिय भूमिका बढाउने विषयमा विस्तृत छलफल गरेको थियो । बैठकमा जमीयत उलेमा नेपालका महासचिव मुफ्ती मोहम्मद शमीम अख्तर कासमी, मदरसा संघ नेपालका अध्यक्ष कारी मौलाना मोहम्मद हनीफ नदवी तथा सचिव मुफ्ती मोहम्मद कलीम अख्तर कासमी विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

दुवै कार्यक्रमको समापन जमीयत उलेमा नेपालका केन्द्रीय सदस्य मौलाना मोहम्मद मुइनुद्दीन कासमीको दुआसँग गरिएको थियो । कार्यक्रमको अन्त्यमा आयोजक हाजी इफ्तिखार अहमद (राजु भाइ) ले सहभागी सबै अतिथि तथा प्रतिनिधिप्रति आभार व्यक्त गर्दै दीनी शिक्षाको सुधार र संगठन सुदृढीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको जमीयत उलेमा नेपालले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर