२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कांग्रेसले स्थापना गर्‍यो ‘मानव सहायता कल्याण कोष’, प्रारम्भिक रकम १० लाख

Nada
२०८३ साउन ६ गते १२:४४
Shares
कांग्रेसले स्थापना गर्‍यो ‘मानव सहायता कल्याण कोष’, प्रारम्भिक रकम १० लाख

काठमाडौँ : नेपाली कांग्रेसले पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको एक अंशबाट ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ ।

ncell

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा पार्टीका सभापति गगन थापाले कोष सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन् ।

थापाका अनुसार कोषमा प्रारम्भिक रूपमा १० लाख रुपैयाँ जम्मा गरिएको छ । उक्त रकम विस्थापित सुकुम्वासी परिवारलाई सहयोग गर्न प्रयोग गरिनेछ। विशेष गरी एकल महिला तथा विद्यालय जान नपाएका बालबालिकालाई प्राथमिकतामा राखेर सहायता उपलब्ध गराइने उनले बताए ।

उनले पार्टी सदस्यहरूले बुझाएको सदस्यता शुल्कको केही हिस्सा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत परिचालन गर्ने उद्देश्यले कोष स्थापना गरिएको उल्लेख गरे ।

कोषमार्फत गरिने सहयोगको व्यवस्थापनमा नेपाल महिला संघका स्वयंसेवक परिचालन गरिने थापाले जानकारी दिए । उनीहरू प्रभावित बस्तीमा पुगेर आवश्यकताको पहिचान गर्ने तथा सहयोग वितरणको कार्यमा संलग्न हुनेछन् । साथै, तरुण दलसहित इच्छुक अन्य स्वयंसेवकलाई पनि अभियानमा सहभागी हुन उनले आह्वान गरे ।

सभापति थापाले ‘ग्रिन रन’ कार्यक्रमलाई जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धिमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको बताए । जलवायु परिवर्तनलाई नेपालको विकास नीतिको प्रमुख प्राथमिकतामा राख्दै पार्टीले नीति तथा कार्यक्रममार्फत यस विषयलाई अगाडि बढाउने उनले उल्लेख गरे ।

उनले बीपी कोइरालाले अघि सारेका समावेशी लोकतन्त्र र प्राकृतिक स्रोतमा न्यायपूर्ण पहुँचसम्बन्धी अवधारणाको स्मरण गर्दै ती विचार आज पनि सान्दर्भिक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा अपेक्षाभन्दा धेरै सहभागिता हुँदा व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार गर्दै थापाले सहभागी युवाप्रति क्षमायाचना गरेका छन्। आगामी कार्यक्रमहरूलाई थप व्यवस्थित बनाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यसैबीच, उनले बिहीबारदेखि नेपाली काँग्रेसले देशव्यापी नयाँ अभियान सुरु गर्ने जानकारी दिँदै त्यससम्बन्धी विस्तृत विवरण भोलि सार्वजनिक गरिने बताएका छ न्।

ताजा खबर

सम्बन्धित खबर