
पोखरा : साँझ पर्नासाथ फेवातालको पानीमा बत्तीहरूको झिलिमिली प्रतिविम्ब देखिन थाल्छ । दिनभर प्याराग्लाइडिङ गरेका पर्यटक लेकसाइडका क्याफे र रेष्टुरेन्ट हुँदै संगीत गुञ्जिरहेका क्लबतर्फ मोडिन्छन् । कतै लाइभ ब्यान्डको धुन गुञ्जिरहेको हुन्छ भने कतै डिजेको तालमा युवापुस्ता रमाइरहेका हुन्छन् । विदेशी पर्यटक नेपाली युवासँगै नाचिरहेका देखिन्छन् भने केही परिवार रातिको भोजनसँगै संगीतको आनन्द लिइरहेका हुन्छन् । केही वर्षअघिसम्म सूर्यास्तसँगै शान्त हुने पोखरा अहिले राति अबेरसम्म जागा रहने शहरका रूपमा विकसित हुँदै गएको छ ।

नेपालको पर्यटकीय राजधानीका रूपमा परिचित पोखराले पछिल्ला केही वर्षमा आफ्नो परिचयलाई नयाँ आयाम दिएको छ । हिमाल, ताल, गुफा र साहसिक खेलकुदका लागि परिचित यो शहर अब व्यवस्थित नाइट लाइफका कारण पनि चर्चामा छ । लेकसाइड क्षेत्रमा सञ्चालनमा रहेका आधुनिक क्लब, लाउन्ज, लाइभ म्युजिक रेष्टुरेन्ट तथा मनोरञ्जन स्थलहरूले पर्यटकको बसाइ अवधि मात्र लम्ब्याएका छैनन्, पोखराको अर्थतन्त्रमा समेत नयाँ ऊर्जा थपेका छन् ।
विश्वभर पर्यटनको स्वरूप बदलिँदै गएको छ । अहिले पर्यटक केवल दृश्य अवलोकन गर्न वा फोटो खिच्न मात्र यात्रा गर्दैनन् । उनीहरू स्थानीय संस्कृति, खानपान, संगीत, मनोरञ्जन र जीवनशैलीको अनुभव लिन चाहन्छन् । यही परिवर्तनलाई आत्मसात गर्दै पोखराले पनि आफ्नो पर्यटनलाई दिनबाट रातसम्म विस्तार गर्ने प्रयास गरिरहेको छ ।

पोखरा भ्रमण वर्षका कोअर्डिनेटर तथा होटल व्यवसायी गोपी भट्टराईका अनुसार पश्चिमेली मुलुकमा रातिको खाना खाएपछि क्लब जाने संस्कृति पुरानै हो । अहिले नेपाली तथा भारतीय पर्यटकमा पनि यही प्रवृत्ति बढ्दै गएको छ । उहाँका अनुसार क्लबहरू अब केवल नाचगानका स्थल मात्र होइनन्, साथीभाइ भेट्ने, सामाजिक सम्बन्ध विस्तार गर्ने र दिनभरको थकान बिसाउने ‘सोसियल हब’का रूपमा स्थापित हुँदै गएका छन् । अहिले पोखरा आउने पर्यटक प्रकृतिसँगै जीवनशैलीको अनुभव खोजिरहेका छन् । ट्रेकिङ, प्याराग्लाइडिङ, बन्जी वा डुंगा सयरपछि उनीहरू साँझ साथीभाइसँग बसेर संगीत सुन्न, खाना खान र केही समय रमाउन क्लब जाने गर्छन् ।

नाइट लाइफप्रतिको यही बढ्दो आकर्षणका कारण लेकसाइडमा दर्जनौं आधुनिक क्लब सञ्चालनमा आएका छन् । करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएका ती क्लबहरूले आधुनिक प्रकाश प्रणाली, अत्याधुनिक साउन्ड सिस्टम, अन्तर्राष्ट्रिय स्तरको इन्टेरियर, सुरक्षा व्यवस्था र गुणस्तरीय सेवामार्फत विदेशी गन्तव्यसँग प्रतिस्पर्धा गर्न खोजिरहेका छन् ।
लेकसाइडस्थित क्याटवाक क्लबका सञ्चालक गुप्ता लामाका अनुसार क्लबमा दैनिक करिब पाँच सय ग्राहक पुग्ने गरेका छन् । पछिल्लो समय भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ भने अन्य विदेशी पर्यटक पनि नियमित रूपमा आउने गरेका छन् । उनी भन्छन्, “पर्यटक घुम्न मात्र आउँदैनन्, उनीहरू अनुभव लिन आउँछन् । नाइट लाइफले उनीहरूको बसाइ लम्ब्याउँछ र पोखरालाई थप जीवन्त बनाउँछ ।”

उनका अनुसार क्लब सञ्चालनमा करोडौं रुपैयाँको लगानी गरिएको छ । आधुनिक इन्टेरियर, अत्याधुनिक साउन्ड सिस्टम, सयभन्दा बढी सीसीटीभी, तालिमप्राप्त बाउन्सर, साउन्डप्रुफ संरचना र सुदृढ सुरक्षा व्यवस्थाले क्लबलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सहयोग गरेको छ । झैझगडा हुन नदिन ग्राहकलाई सम्झाइबुझाइ गर्ने संस्कृतिका कारण क्लबमा हिंसात्मक घटना लगभग शून्यमा झरेको उनको दाबी छ ।
यसैबीच, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक तथा प्रमुख मणिराज लामिछानेले पोखराको नाइट लाइफलाई पर्यटनको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताउँछन् । उनका अनुसार अब पोखरा केवल दिनको गन्तव्यमा सीमित छैन । यदि पर्यटकले रातिसमेत सुरक्षित, व्यवस्थित र अविस्मरणीय अनुभव प्राप्त गर्न सके पोखराले दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्य बन्ने सम्भावना बोकेको छ । नाइट लाइफ पर्यटनलाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा उनी जोड दिन्छन् । उनका अनुसार पर्यटकले पोखरामा सुरक्षित वातावरण र जीवनभर सम्झनलायक अनुभव पाए मात्रै दिगो पर्यटनको लक्ष्य हासिल गर्न सकिन्छ ।

अवसरसँगै चुनौती पनि
तर नाइट लाइफको उज्यालोसँगै केही प्रश्न पनि जोडिएका छन् । के क्लबहरू पर्याप्त सुरक्षित छन् ? पर्यटक र स्थानीय दुवैका लागि आवश्यक मापदण्ड पूरा भएका छन् ? ध्वनि प्रदूषण, बालश्रम, यौन हिंसा, मादक पदार्थ सेवनपछि हुने दुर्घटना र सामाजिक उत्तरदायित्वका विषयमा राज्यको तयारी कस्तो छ ?
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार क्लबहरूले श्रम, सुरक्षा र सामाजिक उत्तरदायित्वसम्बन्धी सबै कानुनी मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्छ । कर्मचारीलाई नियुक्तिपत्र, परिचयपत्र, अतिरिक्त समयको भत्ता, साप्ताहिक बिदा, राति काम गर्ने कर्मचारीको सुरक्षित आवतजावत, बालश्रम निषेध, साउन्डप्रुफ व्यवस्था, पार्किङ, सिसिटिभी, अग्नि नियन्त्रण सामग्री तथा छिमेकीलाई असर नपर्ने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बिरेन्द्रकुमार पासवानका अनुसार क्लबहरूमा हुने झैझगडा, कुटपिट, यौन दुर्व्यवहार तथा बालबालिकासम्बन्धी कसुरमा प्रहरीले शून्य सहनशीलताको नीति अपनाएको छ । गुनासो आए तत्काल अनुसन्धान गरी आवश्यक परे फौजदारी मुद्दा चलाइने उहाँले स्पष्ट पार्नुभयो । मापसे जाँच, रात्रीकालीन गस्ती तथा पर्यटक ठगी नियन्त्रणलाई समेत प्रहरीले प्राथमिकतामा राखेको छ ।
व्यवसायीहरूले पनि सरकारसँग केही अपेक्षा राखेका छन् । उनीहरू सुरक्षा, करमा सहुलियत, पर्यटन निकायसँग सहकार्य तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारमा सहयोगको माग गर्छन् । विशेषगरी सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय भ्लगरमार्फत प्रभावकारी प्रचार गर्न सके भारतीयसहित अन्य विदेशी पर्यटकको संख्या अझ बढ्ने उनीहरूको विश्वास छ ।

पर्यटन विज्ञहरूका अनुसार नाइट लाइफ आफैंमा समस्या होइन । समस्या तब सिर्जना हुन्छ, जब सुरक्षा, मापदण्ड, उमेरको सीमा, ध्वनि प्रदूषण र सामाजिक उत्तरदायित्वलाई बेवास्ता गरिन्छ । त्यसैले व्यवस्थित, सुरक्षित र जिम्मेवार नाइट लाइफले मात्र पर्यटनलाई दिगो बनाउन सक्छ ।
पोखराको नाइट लाइफ अवसर पनि हो, चुनौती पनि । यसलाई सही ढंगले व्यवस्थापन गर्न सकियो भने यसले पर्यटनलाई नयाँ उचाइमा पुर्याउनेछ । तर मापदण्ड र सुरक्षा कमजोर भए यसले पर्यटनकै छविमा नकारात्मक असर पार्न सक्छ ।

यही सन्तुलनको खोजीमा अहिले पोखराले आफ्नो रात्रिकालीन पर्यटनलाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरिरहेको छ । प्राकृतिक सुन्दरतासँगै अब रातको उज्यालोले पनि पोखरालाई चिनाउन थालेको छ । यदि सुरक्षा, गुणस्तरीय सेवा, जिम्मेवार व्यवसाय र प्रभावकारी प्रवर्धनलाई सँगसँगै अघि बढाउन सकियो भने पोखरा साँच्चिकै ‘२४सै घण्टा चलायमान अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य’ बन्नेमा दुई मत छैन ।