२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

Nada
२०८३ साउन ६ गते १४:४४
Shares
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौँ : सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ncell

सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी सडक खण्डमा अनियन्त्रित भई पल्टिएको हो। दुर्घटना बुधबार भएको जनाइएको छ ।

गुर्भाकोट नगरपालिका-१३ सेराघारीका करिब ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा चालक भने सकुशल रहेको र बाँकी १९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उद्धार गरी सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेमध्ये सिम्ता गाउँपालिका-९ का ४० वर्षीय गणेश वलीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ ।

त्यस्तै, गुर्भाकोट नगरपालिका-१३ की ५ वर्षीया रियाज शाही र तनहुँ घर बताउने ३९ वर्षीया भावना राईको अवस्था पनि गम्भीर रहेको छ । रियाजको कर्णाली केयर अस्पताल र भावना राईको माया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूको कर्णाली केयर अस्पताल, माया अस्पताल र मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।

दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर