
दोहा, कतार : नेपाली रक्तदाता संघ कतारको सातौं स्थापना दिवस तथा चौथो अधिवेशन आगामी शुक्रबार हुने भएको छ । संघका अनुसार कार्यक्रम एसियन टाउनस्थित प्लाजा मलमा रहेको वेलफेयर रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
“जहाँ नेपाली, त्यहाँ रक्तदान” भन्ने विश्वव्यापी मूल नारालाई आत्मसात् गर्दै स्थापना भएको संघले अधिवेशनलाई लक्षित गरी साधारण तथा आजीवन सदस्यता अनलाइनमार्फत खुला गरेको जनाएको छ । कतारमा रहेका नेपाली समुदायलाई सङ्घमा आबद्ध भई स्वैच्छिक सदस्यता ग्रहण गर्न पनि आह्वान गरिएको छ ।
संघका कार्यवाहक अध्यक्ष छविलाल भट्टराईका अनुसार कार्यक्रममा कतारमै रहँदा १० पटक वा सोभन्दा बढी स्वैच्छिक रक्तदान गरी मानव सेवामा अतुलनीय योगदान पुर्याएका विभिन्न नेपाली रक्तदातालाई विशेष सम्मान गरिनेछ । साथै अधिवेशनमा सहभागिताका लागि कतारमा क्रियाशील विभिन्न नेपाली सामाजिक तथा सामुदायिक संस्थालाई औपचारिक निमन्त्रणा तथा पत्राचार गरिसकिएको जानकारी दिँदै कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेका छन् ।
कतारमा विभिन्न संघ–संस्थाबाट समय–समयमा सञ्चालन हुने रक्तदान कार्यक्रमलाई आवश्यक समन्वय, सहकार्य र व्यवस्थापन गर्दै आएको संघ कतारले नेपाली समुदायमा रक्तदानप्रतिको सकारात्मक चेतना अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
संघ अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (आइएनबिडिए)सँग आबद्ध संस्था हो । रक्तदानको संस्कारलाई संस्थागत गर्दै मानवीय सेवाको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको संघले विगत सात वर्षदेखि कतारमा निरन्तर रक्तदान, जनचेतना अभिवृद्धि तथा सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।
संघले स्थापना दिवस तथा अधिवेशन सफल बनाउन कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन र संस्थाको सदस्यता ग्रहण गरी अभियानलाई अझ सशक्त बनाउन आग्रह गरेको छ ।