
काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिकविरुद्ध रेसनल ओभरसिज प्रा.लि.ले काठमाडौं जिल्ला अदालतमा दायर गरेको गालीबेइज्जती मुद्दा खारेज भएको छ । जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले उक्त मुद्दा खारेज गरेको हो ।
मध्यान्ह दैनिकमा कतार संवाददाता तिलु शर्मा पौडेलले २०८१ असोज ८ गतेको अंकमा ‘रेसनल ओभरसिजले कतारमा बिचल्ली बनाएका पीडितको अवस्था उस्तै’ शीर्षकमा समाचार लेखेका थिए ।
मध्यान्ह दैनिकले उक्त म्यानपावर कम्पनीले कतारमा तलब–सुविधा नदिई श्रमिकलाई समस्यामा पारेको विषयमा सप्रमाण समाचार प्रकाशित गरेपछि रेसनल ओभरसिजले २०८१ कात्तिक २० गते काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जती मुद्दा (०८१–०४–१६३८) दायर गरेको थियो ।
रेसनल ओभरसिजले अदालतमा गालीबेइज्जती मुद्दा दायर गरे पनि साक्षी, प्रमाण तथा म्याद तामेलीसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न सकेको थिएन । म्याद तामेलीलगायतका प्रमाणसम्बन्धी प्रक्रिया पूरा नगरेपछि काठमाडौं जिल्ला अदालतले मुद्दा खारेज गरेको हो ।
अदालतको फैसलामा भनिएको छ, ‘प्रस्तुत मुद्दामा फिरादीले २०८२/१०/१३ को तारेख गुजारी थाम्ने–थमाउने म्याद बाँकी रहेको नदेखिँदा प्रस्तुत मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८६ बमोजिम खारेज हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मुद्दा व्यवस्थापन प्रणालीमा फैसला अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।’
पत्रिकाविरुद्धको गालीबेइज्जती मुद्दा खारेज भएपछि प्रधान सम्पादक मदनकुमार श्रेष्ठले मध्यान्ह दैनिकले समाचार लेख्नुअघि सधैं तथ्य–प्रमाणको गहिरो विश्लेषण गर्ने गरेको बताए । काठमाडौं जिल्ला अदालतको फैसलाले निर्भीकतापूर्वक समाचार सम्प्रेषण गर्ने पत्रिकाको संविधानप्रदत्त अधिकारको रक्षा भएको उल्लेख गर्दै उनले निष्पक्ष पत्रकारिताको जिम्मेवारीबाट कहिल्यै विमुख नहुने टिप्पणी गरे ।