२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कर अधिकृत पाल घुस रकमसहित रंगेहात पक्राउ

Nada
२०८३ साउन ७ गते १४:११
Shares
कर अधिकृत पाल घुस रकमसहित रंगेहात पक्राउ

सिरहा : कर परीक्षण (अडिट) प्रक्रियालाई प्रभाव पार्ने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।

ncell

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाललाई ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । घटनापछि कर प्रशासनको पारदर्शिता र कर परीक्षण प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठेको छ ।

स्रोतका अनुसार सिरहा सुपरमार्केट प्रा.लि.को आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षणका क्रममा पालले सुरुबाटै घुस माग्दै आएका थिए । आफूभन्दा माथिल्लो तहका अधिकारीलाई समेत मिलाउनुपर्ने भन्दै रकम मागिएको आरोप छ ।

कर परीक्षणका क्रममा कार्यालयले कर तथा जरिवानासहित करिब २ करोड रुपैयाँ दायित्व देखाएको थियो । थप कागजात पेस गरे दायित्व अझ ३० देखि ३५ लाख रुपैयाँसम्म बढ्न सक्ने संकेत दिँदै पालले '१२ लाख रुपैयाँ दिए सबै मिलाइदिन्छु' भन्ने प्रस्ताव राखेको स्रोतको दाबी छ ।

कम्पनीले आर्थिक अवस्था कमजोर रहेको जानकारी गराएपछि अन्ततः ५ लाख रुपैयाँमा सहमति गर्न खोजिएको आरोप छ । यसले कर परीक्षण प्रक्रियामै अनियमितता र घुसखोरीको प्रयास भएको आशंका बलियो बनाएको छ ।

घुस लेनदेनका लागि पटक–पटक समय र स्थान परिवर्तन गरिएको बताइएको छ । कम्पनीका प्रतिनिधिलाई लामो समय प्रतीक्षा गराएर अन्ततः कार्यालयमै रकम बुझाउन बोलाइएको थियो । बिचौलियामार्फत रकम बुझाउने प्रयास सफल नभएपछि कार्यालयमै ५ लाख रुपैयाँ बुझ्ने क्रममा अख्तियारको टोलीले पाललाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन् । आयोगले घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर