२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

गत आर्थिक वर्षमा ललितपुर प्रहरीले गर्‍यो करिब दुई हजार मुद्दा दर्ता

Nada
रामहरि कार्की
२०८३ साउन ७ गते १४:३१
Shares
गत आर्थिक वर्षमा ललितपुर प्रहरीले गर्‍यो करिब दुई हजार मुद्दा दर्ता

ललितपुर : जिल्ला प्रहरी परिसर ललितपुरले गत आर्थिक वर्ष २०८२/८३ मा अपराध अनुसन्धान, शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, सामुदायिक प्रहरी साझेदारी तथा नागरिक सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । परिसरको प्रगति विवरण अनुसार गत आवको अवधिमा १ हजार ९ सय १८ वटा मुद्दा दर्ता भएका छन् ।  त्यस्तै फरार प्रतिवादी पक्राउ, गम्भीर अपराध अनुसन्धान र आधुनिक प्रविधिमार्फत अपराध नियन्त्रणमा प्रभावकारी काम भएको परिसरले जनाएको छ ।

ncell

प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये तीन सय २६ वटा जघन्य तथा गम्भीर प्रकृतिका, ९४ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित, ७ सय ६७ वटा आर्थिक अपराध र ७ सय ३१ वटा अन्य प्रकृतिका रहेका छन् । यस अवधिमा १ हजार ५ सय ६१ जना चालु मुद्दाका प्रतिवादी पक्राउ परेका छन् भने ६ सय ३१ जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेका फरार प्रतिवादीबाट १४६ वर्ष १० महिना १० दिन बराबरको कैद तथा करिब ४३ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो तथा क्षतिपूर्ति असुलउपर हुने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई वटा मुद्दा दर्ता भई १२ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये तीन जना पक्राउ परिसकेका छन् भने करिब ६ करोड ६८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४ सय ७३ उजुरीमध्ये अधिकांश फर्छ्योट गरिएको प्रहरीको प्रगति विवरणमा उल्लेख छ । त्यसैगरी हराएका ६ सय २० जना महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकमध्ये ५ सय ७७ जनालाई फेला पार्न सफल भएको तथ्यांकले देखाएको छ । घरेलु हिंसाका ४३ उजुरीमध्ये ३८ वटा मिलापत्र गराइएको, तीन वटा अदालत पठाइएको र बाँकी प्रक्रियामा रहेको विवरणमा उल्लेख छ ।

लागूऔषध नियन्त्रणतर्फ १ सय २८ मुद्दा दर्ता भई २ सय १३ जनालाई पक्राउ गरिएको छ । प्रहरीले ६८२ केजीभन्दा बढी गाँजा, १०३ ग्रामभन्दा बढी ब्राउन सुगर, लाखौं रुपैयाँ बराबरका ट्रामाडोल, नाइट्राजेपाम, डाइजेपामलगायत विभिन्न लागुऔषध बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार गत आवभर १ सय २ जनाले आत्महत्या गरेका छन् । आत्महत्यामध्ये अधिकांश झुन्डिएर भएको देखिएको छ भने १९ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरूको संख्या सबैभन्दा बढी रहेको तथ्यांकमा उल्लेख छ ।

अपराध न्यूनीकरणका लागि जिल्लाभर २ सय ८ वटा नयाँ सीसीटीभी जडान गरिएको, अपराध बढी हुने क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन गरिएको, स्मार्ट कन्ट्रोल रुम सञ्चालन गरिएको तथा फरेन्सिक, फेस रिडर, सीडीआर, डग स्निफिङलगायत आधुनिक प्रविधिको प्रयोग बढाइएको प्रहरीले जनाएको छ । साथै सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय, क्याम्पस तथा समुदायमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

शान्ति सुरक्षातर्फ वर्षभर २२ हजारभन्दा बढी मोबाइल गस्ती, १० हजारभन्दा बढी ग्रामीण गस्ती, ९० हजार एसआरपी परिचालन तथा हजारौं चेकिङ सञ्चालन गरिएको छ । विभिन्न आन्दोलन, मेला, जात्रा, परीक्षा, निर्वाचन तथा विशेष कार्यक्रममा ७२ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनातर्फ ६ सय ८५ दुर्घटनामा १ हजार १ सय ८७ जना घाइते र ३६ जनाको मृत्यु भएको छ । ट्राफिक नियम उल्लंघनमा ८ हजार ६ सय २१ सवारीसाधनमाथि कारबाही गरी ५ करोड ८४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

यस अवधिमा अवैध हतियार, गोलीगठ्ठा, भन्सार छली, स्रोत नखुलेको रकम तथा अवैध मदिरासमेत बरामद गरिएको छ । त्यसैगरी प्राकृतिक स्रोत दोहन नियन्त्रण, विपद् व्यवस्थापन तथा राजस्व चुहावट नियन्त्रणमा पनि प्रहरीले प्रभावकारी काम गरेको जनाएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लैङ्गिक हिंसा, साइबर अपराध, लागूऔषध नियन्त्रण, चोरी नियन्त्रण तथा आत्महत्या न्यूनीकरणसम्बन्धी २ हजार २९ वटा कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा ४८ हजारभन्दा बढी नागरिक सहभागी भएका थिए । विद्यालय लक्षित १७८ वटा सचेतनामूलक कार्यक्रममार्फत १५ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएको प्रहरीले जनाएको छ ।

प्रहरी हटलाइन १०० मा आर्थिक वर्षभर ७७ हजारभन्दा बढी कल प्राप्त भएका छन् भने नागरिक सहायता कक्षमा १ लाख ७० हजारभन्दा बढी सेवा दर्ता भएका छन् । प्रहरी कर्मचारीको मनोबल वृद्धि, नागरिकमैत्री सेवा विस्तार, महिला प्रहरी स्वास्थ्य परीक्षण, नागरिक सहायता कक्ष सुदृढीकरण, चाइल्ड केयर रुम निर्माण, एसएमएसमार्फत सेवाग्राहीलाई जानकारी दिने प्रणाली तथा विभिन्न नवप्रवर्तनात्मक कार्यक्रमसमेत सञ्चालन गरिएको परिसर ललितपुरले जनाएको छ ।

परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रले आगामी दिनमा अझ प्रविधिमैत्री अनुसन्धान, समुदायसँगको सहकार्य र अपराध न्यूनीकरणलाई अझ प्रभावकारी बनाउँदै नागरिकलाई सुरक्षित र गुणस्तरीय प्रहरी सेवा प्रदान गर्ने लक्ष्यका साथ कार्य अघि बढाइने बताए ।

ताजा खबर

सम्बन्धित खबर