२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कतारमा सामूहिक तीज उत्सवको तयारी तीव्र, शान्तिश्री परियार आउने

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन ८ गते २१:२६
Shares
कतारमा सामूहिक तीज उत्सवको तयारी तीव्र, शान्तिश्री परियार आउने

दोहा, कतार : नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारको महिला विभागको समन्वय तथा कतारमा स्थापित विभिन्न नेपाली संघ–संस्थाहरूको संयुक्त आयोजनामा यस वर्षको ‘रमाइलो तीज कार्यक्रम–२०२६’ भव्य रूपमा आयोजना हुने भएको छ।

ncell

कार्यक्रमको तयारी, व्यवस्थापन तथा आयोजनासम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यले शुक्रबार बिहान दोहाको मुन्तजास्थित गोर्खाली रेस्टुरेन्टमा आयोजक संस्था, विभिन्न जिल्ला तथा प्रदेश संस्थाका प्रतिनिधिहरूको सहभागितामा छलफल तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ।

पत्रकार सम्मेलनमा कार्यक्रमको तयारीबारे जानकारी दिँदै आयोजक समितिले आगामी सेप्टेम्बर ४ (शुक्रबार) का दिन डिपिएस स्कुल, अल वकीरमा कार्यक्रम आयोजना गरिने जनाएको छ। कार्यक्रममा नेपालकी चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार विशेष सांगीतिक प्रस्तुति दिन कतार आउने निश्चित भएको आयोजकले जानकारी दिएको छ। साथै कतारमा रहेका नेपाली कलाकारहरूको समेत सांस्कृतिक तथा सांगीतिक प्रस्तुति रहने बताइएको छ।

आयोजकका अनुसार कार्यक्रममा महिलाहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने पुरुषका लागि ३० कतारी रियाल प्रवेश शुल्क निर्धारण गरिएको छ। त्यस्तै, कतारमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्थालाई आयोजकका रूपमा सहभागी हुन आग्रह गरिएको छ। आयोजक बन्न इच्छुक संस्थाले १०० कतारी रियाल शुल्क बुझाउनुपर्ने र त्यसबापत एउटा प्रवेश पास उपलब्ध गराउने विषयमा छलफल भएको जनाइएको छ।

पत्रकार सम्मेलनमा सहभागीहरूले विगतका अनुभवबाट सिक्दै यस वर्षको तीज कार्यक्रमलाई थप व्यवस्थित, सभ्य र सफल बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले कार्यक्रम व्यवस्थापन, आपसी समन्वय, आर्थिक पारदर्शिता तथा सबै संस्थाको समान सहभागितालाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए।

छलफलका क्रममा कतारमा रहेका सातै प्रदेशसँग सम्बन्धित संस्थाहरूले आ–आफ्ना जिल्ला संस्थासँग समन्वय गरी प्रत्येक प्रदेशबाट कम्तीमा एक–एक सांस्कृतिक झाँकी तथा प्रस्तुति समावेश गर्नुपर्ने सुझावसमेत राखिएको थियो।

कार्यक्रमलाई आर्थिक रूपमा थप पारदर्शी बनाउन प्रवेशद्वारमै शुल्क बुझाएर मात्र पास उपलब्ध गराउने व्यवस्था मिलाइने आयोजक समितिले जनाएको छ। पास वितरणका क्रममा सम्बन्धित व्यक्ति वा संस्थाको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षरसहित अभिलेख राखिने विषयमा समेत सहमति भएको बताइएको छ।

कार्यक्रम संयोजकको जिम्मेवारी नेपाली महिला समाज कतारकी उपाध्यक्ष मेनुका खतिवडाले सम्हालेकी छन् भने आर्थिक संयोजकको जिम्मेवारी एनआरएनए एनसीसी कतारका उपाध्यक्ष सन्तोष पौडेलले पाएका छन्।

पत्रकार सम्मेलनमा सहभागी वक्ताहरूले नेपालको मौलिक संस्कृति, परम्परा र तीज पर्वको महत्वलाई प्रवासमा अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सबै नेपाली संघ–संस्था तथा समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

आयोजक समितिले कतारमा रहेका सम्पूर्ण नेपाली सङ्घ–संस्थालाई आयोजकका रूपमा सहभागी भई कार्यक्रमलाई ऐतिहासिक रूपमा सफल बनाउन आह्वान गरेको छ।

कार्यक्रममा महिला समाज कतारकी अध्यक्ष सुस्मा खतिवडा कटुवाल,  एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीसहित दुवै संस्थाका कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

ताजा खबर

सम्बन्धित खबर