
काठमाडौं : नेपालमा पहिलोपटक सुरुङमार्गबाट सवारीसाधन गुड्ने भएका छन् । सुरुङमार्गबाट नौबिसे हुँदै काठमाडौं प्रवेश र काठमाडौं हुँदै नौबिसे जाने सवारीसाधनको यात्रा छोटो हुनेछ । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले नागढुंगाको जामको समस्या भोग्नुपर्ने छैन । सुरुङमार्गमा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा ब्रिज र एउटा फ्लाइओभर रहेका छन् ।
नेपालकै पहिलो सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा आउने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निमाणको काम सकिएसँगै सोमबारदेखि सञ्चालन गर्न लागिएको हो । जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ ।
काठमाडौं उपत्यका भित्रिने मुख्य नाकालाई सहज बनाउनका लागि बनाइएको सुरुङमार्ग २०७६ देखि यस आयोजनाको निर्माण सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए । ४२ महिनाभित्र सक्ने लक्ष्यसहित आयोजना सुरु गरेको भए पनि कोभिडदेखि सरकार परिर्वतनदेखि पश्चिम एसिया द्वन्द्वका कारण निर्माणसम्पन्नमा ढिलाइ भएको आयोजनाले जनाएको छ । निर्माण सुरु भएको ८० महिनापछि चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग आयोजना सञ्चालनमा आएको हो । सुरुङको लम्बाइ दुई हजार ६६७ मिटर रहेको छ । यो सुरुङमार्ग बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने र काठमाडौं हुँदै नौबिसे जाने सवारीसाधनको यात्रा छोटो हुनेछ । सुरुङमार्ग प्रयोग गर्दा काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौंबाहिर जाँदा २३ मिनेट कम समय र जाममा बस्नुपर्ने बाध्यता हट्नेछ । सुरुङमार्गमा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा ब्रिज र एउटा फ्लाइओभर रहेका छन् । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान गरिएको छ । सुरुङमार्गभित्र उद्धार व्यवस्था, आपत्कालीन अवस्थादेखि ‘लाइट’ एवं ‘भेन्टिलेसन’समेत जडान गरिएको छ ।
आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ । उद्घाटनपश्चात् तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सुरुङमा प्रवेश गर्न दिने विभागले जनाएको छ । सडक विभागका महानिर्देशक डा.विजय जैसीले सुरुङमार्गलाई चरणबद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइने जानकारी दिए । उद्घाटनको एक साताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना वा आगलागीजस्ता विपद्को पूर्वतयारीस्वरूप नमुना अभ्यासको काम हुने उनले बताए । एक सातापछि मात्र एकतर्फी रूपमा सुरुङबाट सवारीसाधन सञ्चालनमा आउनेछन् । सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश गर्न पाउने छैनन् । निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरेको थियो । सुरुङ सञ्चालन युसिन–एआरटी जेभीले लिएका छन् । युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हुन् ।