२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमले महिलामा आर्थिक अवसर

Nada
२०८३ साउन ११ गते २१:२६
Shares
‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमले महिलामा आर्थिक अवसर

काठमाडौं : विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न गरेको छ ।

कार्यक्रमअन्तर्गत काठमाडौंमा आयोजित प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका १० जना महिलालाई सम्मान गरिएको छ । सुरक्षित र आत्मनिर्भर रूपमा दुईपांग्र्रे सवारी चलाउने पेसामा अघि बढ्न आवश्यक सीप, आत्मविश्वास र स्रोतसाधन प्रदान गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न चरणमा प्रशिक्षण दिइएको थियो ।

अप्रिल २०२६मा सुरु भएको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रम अवसरबाट वञ्चित समुदायका महिलालाई मोबिलिटी क्षेत्रमा आर्थिक अवसरमा पहुँच दिलाउने उद्देश्यले सञ्चालन गरिएको हो । प्रत्येक सहभागीलाई सुरक्षात्मक हेल्मेट तथा प्राथमिक उपचार र स्वास्थ्यसम्बन्धी सामग्रीसहितको सुरक्षा किट प्रदान गरिएको थियो । इनड्राइभका प्रतिनिधि तथा इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका १० जना सहभागीलाई प्रमाणपत्र, सुरक्षा किट तथा मायाको चिनो प्रदान गरिन् । सहभागीमध्ये एकजनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र ६ जनालाई स्मार्टवाच प्रदान गरिएको थियो । यी सामग्रीले उनीहरूलाई व्यावसायिक ड्राइभिङ यात्राको सुरुवातमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जिता गुरुङले भनिन्, ‘सीप विकास तालिम यस यात्राको एउटा हिस्सा मात्र हो । सामाजिक सोच र धारणाले पनि उत्तिकै महत्व राख्छ, र महिलाले ड्राइभिङ सुरु गरेपछि उनी प्रवेश गर्ने वातावरण पनि महत्वपूर्ण हुन्छ । ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ महिलालाई लाइसेन्स प्राप्त गर्नेदेखि आत्मविश्वास विकास गर्ने, परिवारमा यसबारे संवाद गर्ने र आम्दानीको अवसर सिर्जना गर्नेसम्म हरेक पक्षमा सहयोग गर्ने गरी तयार गरिएको हो ।’

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ महिलाका लागि थप सहयोगी वातावरण निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम हो । जब धेरै महिलाहरूले सवारीको स्टेयरिङ समाउँछन्, उनीहरूले नेपाललाई थप समावेशी भविष्यतर्फ अघि बढाउन पनि भूमिका खेलिरहेका हुन्छन् ।’

सम्बन्धित खबर