२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

फिलिपिन्स ‘बी’ विरुद्ध जितको लक्ष्यमा नेपाली महिला टोली

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन १२ गते १५:५४
Shares
फिलिपिन्स ‘बी’ विरुद्ध जितको लक्ष्यमा नेपाली महिला टोली

दोहा, कतार : श्रम सहकार्य तथा बिमा कोष कतारको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको मैत्रीपूर्ण कम्युनिटी महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपाली महिला टोलीले आफ्नो दोस्रो लिग चरणको खेल आगामी शुक्रवार फिलिपिन्स ‘बी’ टोलीसँग खेल्ने भएको छ । अल–सादस्थित अलिबिन हमाद अल–अतिया एरिना (इनडोर हल) मा हुने उक्त खेल स्थानीय समयअनुसार बिहान १०:५० बजे सुरु हुने तालिका रहेको छ ।

प्रतियोगिताको पहिलो लिग खेलमा नेपाली टोलीले केन्याविरुद्ध उत्कृष्ट र प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि २–१ सेटले पराजय बेहोरेको थियो । पहिलो खेलबाट प्राप्त अनुभवलाई आत्मसात् गर्दै फिलिपिन्स ‘बी’ विरुद्ध जित निकालेर प्रतियोगिताको आगामी चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित नेपाली टोली सोमबारदेखि नियमित प्रशिक्षणमा जुटेको छ । मुख्य प्रशिक्षक सागर बिक का अनुसार टोलीले प्रशिक्षणमार्फत शारीरिक तन्दुरुस्ती, टोलीगत समन्वय तथा खेल रणनीतिमा विशेष अभ्यास गरिरहेको छ । पहिलो खेलमा देखिएका कमजोरीलाई सुधार गर्दै दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ खेलाडीहरू उच्च मनोबलका साथ तयारीमा जुटेका छन् ।

कोसेली रोका मगरको कप्तानीमा मैदान उत्रने नेपाली महिला टोली एनआरएनए एनसिसी कतारको खेलकुद विभागको समन्वयमा गठन गरिएको हो । खेलकुद विभागले पहिलो पटक महिला भलिबल टोली गठन गरी अन्तर्राष्ट्रिय कम्युनिटी प्रतियोगितामा सहभागिता गराएको जनाएको छ । एनसिसी कतार खेलकुद विभागका संयोजक राजन चापागाईँले  खेल निर्धारित समयमै सुरु हुने भएकाले समयमै खेल स्थलमा उपस्थित भई नेपाली महिला टोलीलाई उत्साह र हौसला प्रदान गर्न कतारवासी नेपाली समुदायमा अनुरोध गरेका छन् । फिलिपिन्स ‘बी’ विरुद्धको खेल नेपाली टोलीका लागि प्रतियोगितामा पुनरागमन गर्दै आगामी यात्रा सुनिश्चित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले नेपाली आगामी खेलमा नेपाली टोलीले जित निकाल्ने विश्वाससहित शुभकामना व्यक्त गरे । उनले नेपाली टोलीका लागि यो खेल महत्त्वपूर्ण भएकाले सबै नेपालीले ऐक्यबद्धता जनाउँदै समर्थन सहित हौसला प्रदान गर्न आग्रह गरेका छन् ।

सम्बन्धित खबर