
दोहा, कतार : क्षत्री समाज नेपाल, कतार शाखाको पाँचौं अधिवेशन तथा १६औं स्थापना दिवस आगामी शुक्रबार आयोजना हुने भएको छ । समाजका अनुसार ‘राष्ट्रिय अखण्डता, जातीय सद्भावका निम्ति क्षत्री एकता’ भन्ने मूल नाराका साथ सन् २०१० मा स्थापित समाजको अधिवेशन शुक्रबार मध्याह्न १२:३० बजेदेखि फ्रिज बिन अब्दुल अजिज स्थित घरुवा रेस्टुरेन्टमा हुनेछ ।
अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिनेछ । प्रवास शाखाका रूपमा पहिलो पटक वैधानिक मान्यता प्राप्त समाजले स्थापना कालदेखि कतार र नेपालमा सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।
समाजका अध्यक्ष श्याम डाँगीले कतारमा रहेका क्षत्री समुदायका सदस्य, विभिन्न संघ-संस्थाका प्रमुख, प्रतिनिधि तथा शुभेच्छुकलाई कार्यक्रममा सहभागी भई अधिवेशन सफल बनाउन आग्रह गरेका छन् ।